स्कुल तहमै अन्टार्कटिकाबारे पढेको र सुनेको हो। त्यो बेला नै हिउँ नै हिउँलै ढाकेको महादेश कस्तो होला? भनेर जोकोहीलाई पनि मनमा लाग्नु स्वाभाविक हो। मलाई पनि त्यस्तै लागेको थियो। यस पटक भने कल्पना गरेको ठाउँमा प्रत्यक्ष घुमेर त्यसको मजा लिन पाइएको छ।
अन्टार्कटिका जानको लागि हामीले सिवर्न परस्युट भन्ने क्रुज रोजेका थियौं। त्यहाँ अरू कम्पनीले पनि लैजान्छन्। त्यहाँ जानको लागि हामीले ११ दिन १० रातको बसाइ रोजेका थियौं। त्योभन्दा बढी समयका लागि पनि जान पाइन्छ। एक्सपर्ट एजुकेसनको टोली नोभेम्बर १६ मा त्यसतर्फ गएको हो। एक्सपर्टको टोलीमा भुवन पाण्डे, म, बसन्तराज पोख्रेल, रुपक बर्तौला, टीएन अर्याल, खेम संग्रौला र प्रसन्न दाहाल थियौं। हामीसहित १३ जना नेपाली अन्टार्कटिका पुगेका थियौं। अन्टार्कटिका जानको अस्ट्रेलियाबाट फ्लाइटमा अर्जेन्टिना जान पर्ने रहेछ। हामी अर्जेन्टिनाको ब्यूनस आयर्स गयौं।त्यहाँबाट प्राइभेट जेटमार्फत् हामीलाई उसवाय भन्ने ठाउँमा लगिएको थियो।
त्यहाँबाट जानेमध्ये २ रात जान र २ रात आउन खर्च हुन्छ। हामी ६ रात अन्टार्कटिका क्षेत्रमा बस्यौं। योमध्ये २ रातमा १ रात समुद्र हुँदै जान्छ भने अर्को रात ड्रेक प्यासेज (दुई सुमद्र मिलन भएको ठाउँ) भएको ठाउँमा जान्छ। त्यहाँ २० मिटर सम्मको छाल आउने रहेछ। क्रुजले अलि सुरक्षित बाटो हुँदै १० मिटर सम्मको छाल आउने बाटोबाट लैजाने रहेछ। तर भाग्यबस हामीलाई ४ मिटर सम्मको छाल आएको थियो भन्ने जानकारी पाएका थियौं। त्यस्तै फर्किंदा पनि ३ देखि ५ मिटरसम्मको छाल आएको जानकारी पाएका थियौं। त्यहाँ सि सिकनेस हुनेहरूलाई अलि अप्ठ्यारो पर्ने भएकाले त्यसबाट जोगिने औषधि खाँदा समेत कतिपयलाई असजिलो पारेको थियो। पानी जहाजमार्फत् अन्टार्कटिकामा पुगेपछि छाल कम भएको थियो भने शान्त तटहरू समेत देख्न पायौं। योसँगै हामीलाई विभिन्न ठाउँहरूमा ओराल्दै, घुमाउँदै लगिएको थियो।
अन्टार्कटिका पुगेको पहिलो दिन हामीलाई मुनलाइट आइल्याण्ड लगिएको थियो। त्यो आइल्याण्डको आकार आधा चन्द्रमाको जस्तो भएकाले त्यसलाई हाप मुनलाइट आइल्याण्ड भनेको रहेछ।हामीले यात्रा गरेको पानी जहाज ठूलो भएकाले त्यहाँ जहाज लगेर राख्ने भन्दा पनि अलि पर रोक्ने अनि त्यहाँबाट हामीलाई सानो सानो डुंगाहरू(जोडियाक) बाट घुमाइएको थियो। यसका लागि हामीलाई समूह समूह बनाएर जोडियाकमा राखिएको थियो। अन्टार्कटिका तटमा लगेर उनीहरूको तोकिएको ठाउँहरूमा जान पाइन्छ। त्यहाँको मनोरम दृष्यलाई अवलोकन गर्न पाइन्छ।
अन्टार्कटिकाको प्राकृतिक दृष्यहरू नबिग्रियोस् भनेर त्यहाँको प्रशासनले कडा खालका नियमहरू बनाएको छ। यसको लागि हरदम प्रयास गरेको छ। त्यहाँ ओर्लिंदा सफा भएर सफा खालका जुत्ता लगाएर जानुपर्छ। घुँडा टेक्ने, छुने, बस्ने गर्न पाइँदैन। त्यहाँको ढुंगा, हिउँ केही बोक्न पाइँदैन। आउँदाखेरी पनि त्यसरी नै सफा भएर भित्र छिर्न पर्छ। कुनै पनि खालको अप्राकृतिक वातावरण सृजना नहोस् भनेर यस्तो गरेको रहेछ।
त्यहाँ घुम्ने र घुमाउने सबै व्यवस्थाहरू सिवन क्रुजले गर्छ। यस्ता अन्य कम्पनीहरू पनि छन् जसले अन्टार्कटिका घुमाउने व्यवस्था गर्छन्। हामीले यात्रा गरेको क्रुजमा ४ सय ५० जनाको क्षमता थियो।५० प्रतिशत यात्रु र ५० प्रतिशत क्रुजका सदस्यहरू थिए। खानेबस्ने सबै व्यवस्था क्रुजमै हुन्छ। उच्च स्तरको सबै व्यवस्था हुन्छ। कतिपय सुविधा त पाँचतारे होटलको भन्दा पनि राम्रो हुन्छ। त्यस्तै क्रुजका कोठामा एक जना बस्ने या दुई जना बस्ने भन्ने सुविधा थिए। विभिन्न खालका रेष्टुरेन्ट र खानाको सुविधा थियो।
त्यहाँ हेर्नका लागि धेरै ठाउँ छन्। अझ भन्ने हो भने जे देखिन्छ ती सबै हेर्न लायक छन्। उनीहरूले ६ दिनमा फरक फरक ठाउँमा क्रुजलाई रोकेर हामीलाई बाहिर जान दिएका थिए। त्यहाँको भौगोलिक अवस्था र वातावरणबारे जानकारी गराएका थिए। त्यहाँ पाइने जीवहरूको बारेमा जानकारी गराइएको थियो। त्यसको सबैभन्दा राम्रो पक्ष भनेको भौगोलिक बनोट नै हो। जतासुकै हिउँ अनि समुद्र नै हिउँले ढाकेको देख्दा कसको मन रमाउँदैन होला। त्यसमाथि ठूला/ठूला हिउँका ढिक्काहरू अनि पहाडहरू देख्दा त आँखा झिमिक्कै गर्न मन नलाग्ने गरी आनन्द भएको थियो।त्यहाँको मौसम र वातावरणबारे बुझ्ने अनुभव गर्न पाउँदा हामी थप उत्साहित थियौं।
त्यहाँ बस्ने पेन्गुइन, ह्वेल लगायत देख्न पायौं। यो पनि हाम्रा लागि बिल्कुल नयाँ थियो। नयाँ यस अर्थमा थियो कि ती सबै हिउँमाथि थिए। हामी घुम्दै गर्दा निकै नयाँ खालका गतिविधि देखेका थियौं। हिउँ काट्दै क्रुजले यात्रा गराउने रहेछ। अनि हामीलाई जमेको समुद्रमा लगेर ल्याण्डिङ गराइएको थियो। हामीले समुद्रमाथि हिँड्ने मौका पायौं। समुद्रको त्यो चिसो पानीमा जम्प हान्न समेत पाइने रहेछ।जिरो डिग्रीभन्दा कम तापक्रम भएको पानीमा सुरक्षित तरिकाले जम्प हान्न पाएँ। जुन मेरो इच्छा समेत समेत थियो। यसले मलाई अझै उत्साही बनायो।
अन्टार्कटिकामा हिँड्दै गर्दा त्यहाँ जाने/आउने मान्छेको संख्या बढ्दै गएको थाहा पाँए। त्यहाँ पोष्ट अफिस बनाइएको रहेछ। जुन पोस्ट अफिसमार्फत् त्यहाँबाट आफूलाई मन परेको एक जना मान्छेलाई सन्देश पठाइन पाइने रहेछ। हरेक वर्ष १८ हजार भन्दा धेरैले यस्तो सन्देश पठाउने रहेछन्। यो भनेको त्यहाँ जानेको संख्या पनि वार्षिक १८ हजारभन्दा धेरै रहेछ भन्ने हो। यात्रा गर्ने बढ्दै जाँदा त्यहाँको वातावरणमा असर पर्ने देखिन्छ। तर हामीले के पायौं भने त्यहाँको वातावरणमा न्यूनभन्दा न्यून असर पर्ने गरी कडाइ अपनाइएको रहेछ।
अन्टार्कटिका जाने क्रुजमा यात्रुहरू आकस्मिक बिरामी परे भने उपचार सुविधा समेत थियो। संवेदनशील ठाउँ भएकाले उपचारको लागि प्रावधान पनि त्यस्तै राखिएको थियो। सँगै जरूरी परेमा जहाज र हेलिकप्टर बोलाउन सकिने व्यवस्था समेत हुने रहेछ। यद्यपि हाम्रो टिममा कसैलाई पनि कुनै खालको अप्ठ्यारो अवस्था आएन।
(रजिस्ट्रार माइग्रेसन एजेण्ट सरोज शर्मा अस्ट्रेलियाको मेलवर्नस्थित एक्सपर्ट एजुकेसनका निर्देशक हुन्।)