पदयात्राः अन्नपुर्णा बेस क्याम्प-३
कोठामा पुगेर फ्रेस भएपछि बाहिर चिया पिउने क्रममा गुटेरेस विश्वमा बढ्दै गइरहेको विश्व तापक्रमबारे बुझ्न र यसको असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अवलोकन गर्न आउनु भएको कुराहरू त्यहाँको होटलमा काम गर्ने कर्मचारीहरूले गर्दै थिए।
उक्त होटल माथिबाट माछापुच्छ्रे हिमालमा साँझको घाम पर्नाले सुनजस्तै टिलिक्क टल्किएको दृश्य हेरेर मनै हर्षित भयो।
भोलिपल्ट सूर्योदय अघि उठेर सूर्योदय हेर्ने योजना बनाई सबैजना खाना खाएर सुत्न गयौं। म चाहिँ राति त्यहाँको दृश्य हेर्न चाहन्थेँ र त्यहाँको हावामा रमाइला रमाइला सम्झनाहरू आफूमा कैद गर्न चाहिरहेको थिएँ। फेरि कहिले आउने थाहा थिएन, त्यसैले पटक–पटक मध्य रातमा उठेर बाहिर निस्किरहन्थें। आकाशमा ताराहरू र चन्द्रमाको उज्यालोले वातावरणलाई एकदम सुन्दर बनाइरहेको थियो। ती मनमोहक दृश्यहरूलाई मोबाइलमा कैद गर्न व्यस्त भएँ। मध्यरातमा पदयात्रा गरिरहेका अन्य पर्यटकहरू पनि टर्च बाली गीत गाउँदै आउँदै गरेको आवाज त्यो शान्त वातावरणमा स्पष्ट सुन्न सक्थेँ। म प्रायः नसुतेर नै रात बिताएँ।
०१ नोभेम्बर, २०२३
बिहान सूर्योदय हेर्न पिकमा पुगेँ। सोचें कि म त्यहाँ पुग्ने पहिलो होला, तर पुग्दा देखेँ, सयौं पर्यटकहरू पहिले नै त्यहाँ आइपुगेका रहेछन्। सबैले सूर्योदयको प्रतीक्षा गर्दै थिए। बिस्तारै सूर्य उदायो, तबसम्म मेरा साथीहरू पनि त्यहाँ पुगिसकेका थिए। सबै जना आइपुगेको एकछिनपछि सूर्योदय भयो। सूर्यको पहिलो किरण अन्नपूर्ण हिमालको शिखरमा परिरहँदा यस्तो देखिन्थ्यो कि मानौं कसैले ठूलो पर्दा पछाडि सुन लुकाएर राखेको थियो। चारैतिरबाट खुला आकाशबीच पर्यटकहरूको खुसीको आवाजहरू सुनिन्थ्यो। जीवनमा पहिलो पटक हिमाललाई त्यति नजिकबाट हेर्दा मनमा जीवनका अनेकन घटनाहरू सम्झना भइरहेका थिए। राम्रा नराम्रा कुराहरू, साथीभाइ र परिवारका सबै सदस्यलाई हृदयदेखि सम्झिरहेको थिएँ। त्यहाँ पुगेपछि आफूमा भएको नकारात्मक सोचहरू हराउँदै, जीवनप्रतिको सकारात्मक सोचहरू बढ्नुको साथै शरीरमा एक विशेष प्रकारको ऊर्जा थपिएको महसुस भइरहेको थियो। घर फर्केपछि नयाँ जोशका साथ जीवनमा केही ठूलो गर्न साहस संकलन गरिरहेको थिएँ।
हाम्रो देश नेपाल कति सुन्दर रहेछ त्यहाँ पुगेर देख्न पाइयो, तर त्यो एउटा उदाहरण मात्र थियो र त्यस्ता अनेकौ ठाउँहरू नेपालमा छन्, जसलाई प्रत्यक्ष देखेर यो कुराको अनुभूति गर्न सकिन्छ। नेपालको बारेमा विश्वभर चर्चा हुनुको कारण केवल त्यतिकै होइन, प्राकृतिक सुन्दरता र मनोरम दृश्यहरूको झलक त्यहाँ पुगेर जो कोहीले सजिलै अनुभव गर्न सक्छ।
सबै साथीहरू मिलेर धेरै रमाइलो गर्यौं। थुप्रै तस्बिरहरू खिच्यौं र अन्ततः झोला प्याक गरेर फर्कने तयारीमा लाग्यौं।
फर्किने क्रममा, उकालो चढ्दाको जस्तो थकान र समय धेरै नलाग्ने भएकोले हामी बेम्बुमा रात बस्ने निर्णय गर्यौं। फर्किंदै गर्दा साथीहरू सबैले हिमालयमा खाना खाए, तर मलाई खान मन नलागेकोले चिया मात्र पिएँ। हिमालको ताजा हावामा बसेर घाम ताप्दै थिएँ, त्यही बेला एक नेपाली पर्यटकले चाउचाउको प्याकेट खाएर बाटोमै फालेको देखेँ। त्यो दृश्यले छोम्रोंगको कर्मचारीले भनेको कुरालाई सम्झना गरायो। हामी बाटोभरि खाएको सामग्रीका खोलहरू ब्यागमै राख्थ्यौं र डस्टबिन भेटिएपछि त्यही राख्थ्यौं। तर, त्यो नेपाली पर्यटकको व्यवहारले मनमा नरमाइलो महसुस गरायो।
तुरून्तै पछाडिबाट एक विदेशी पर्यटक आफ्नो पिँठ्यूमा ठूलो सेतो कपडाले बनेको झोला बोकेर हिँड्दै गरेको देखेँ, र जहाँ फोहोर देख्यो त्यही टिपेर उनले झोलामा राखिरहेका थिए। अन्य देशका नागरिकहरूले हाम्रो देश सफा राख्न सहयोग गरिरहेका छन् भने, यो त हाम्रो घर हो भन्ने भावना राखेर सबै नेपालीहरूले आफ्नो देशलाई सफा राख्नुपर्छ भन्ने कुरा राम्ररी बुझ्न जरूरी देखेँ।
सबै जनाले खाना खाएपछि पुनः फर्कने तयारीमा लाग्यौं र साँझ करिब ५ वा ५:३० बजे ब्याम्बुमा पुग्यौं। आ–आफ्नो कोठामा छिर्यौं र थोरै आराम गरेपछि खाना खाने ठाउँमा भेला भयौं। त्यहाँ पहिले नै केही विदेशी पर्यटकहरू बसेर खाना खाइरहेका थिए। तीमध्ये एक पर्यटकप्रति मेरो ध्यान गयो, किनभने उनले खुला रूपले आफ्नो कम्मरमा धारिलो चक्कु बाँधेर खाना खाइरहेका थिए। मैले छोम्रोंगको कर्मचारीले बताएको कुरा पुनः सम्झें, कि कुनै पनि व्यक्ति, चाहे नेपाली होस् या विदेशी, धारिलो सामग्री बोकेर पदयात्रा गर्न पाउँदैन। नेपाल सरकारद्वारा परिचालित सेना वा अन्य सुरक्षा अधिकारीबाहेक कसैलाई धारिलो सामग्री बोकेर यात्रा गर्न अनुमति छैन। मैले साथीहरूलाई यो कुरा बिस्तारै इशाराले भने, उनीहरू पनि अचम्ममा परे। त्यसपछि फर्किने क्रममा हामीले ती कर्मचारीलाई यो विषयमा जानकारी दिने निर्णय गर्यौं। खाना खाइसकेपछि हामीले रमाइलो गर्यौं र आफ्नो–आफ्नो कोठामा गएर सुत्यौं।
०२ नोभेम्बर, २०२३
बिहान सबैजना फ्रेस भएर खाजा खाने ठाउँमा भेला भयौं। खाजा खाँदै गर्दा त्यो चक्कु बोकेको पर्यटक पनि त्यहाँ आइपुग्यो। मेरो साथीले सावधानीपूर्वक उसको तस्बिर लियो, ताकि सम्बन्धित कार्यालयमा प्रमाण देखाउन सकियोस्। पुनः हाम्रो यात्रा सुरू भयो, र त्यो दिन हामीले झिनुबाट गाडी लिएर पोखरा फर्किने र त्यसपछि आ–आफ्नो घर जाने योजना बनायौं। साथीले पोखराबाट ल्याएको गाडीवालालाई फोन गरेर हामीलाई लिन आउन समय जानकारी गराउनु भयो।
हामी विस्तारै छोम्रोंग पुग्यौं र त्यहाँ भेटिएका कर्मचारीलाई भेट्यौं। चक्कु बोकेको पर्यटकको विषयमा कुरा गर्दा, उनी पनि अचम्म मान्दै त्यसो नहुनुपर्ने बताए। हामीले तस्बिर देखाएपछि उनले तुरून्तै सम्बन्धित निकायलाई त्यहीबाट फोन गरेर जानकारी दिए र हामीलाई धन्यवाद पनि व्यक्त गरे।
कुरा गर्दै जाँदा उनले हाम्रो यात्रा अनुभवको बारेमा पनि सोधे। हामीले आफ्ना अनुभवहरू सुनाउँदा उनी रमाइरहेका थिए। उनले पनि थप्दै भने, ‘म यहाँ करिब १० वर्षदेखि यहाँ काम गरिसकेको छु। पहिले यो क्षेत्रमा पनि धेरै हिउँहरू खस्ने गर्थ्यो, तर यो समय अन्तरालमा दुई वटा हिमालहरूको हिउँ हराएर जंगलमा परिणत भइसकेको छ। ऊ त्यही पहाडहरू हुन् (अगाडि रूखै रूखले ढाकेको पहाडहरूलाई देखाएर आफ्नो कुरा निरन्तर जारी राखे)। रूखहरूले ढाकेको देख्दा चिन्ता लाग्छ, विश्वभरी नै बढ्दै गइरहेको तापक्रमको कारणले गर्दा यो भइरहेको छ र हाल विश्वभरि नै एक समस्याको रूपमा परिणत भइरहेको छ।
यदि हामी एकजुट भई समयमै यसको समाधान गर्न सकेनौं भने विश्वभर तामक्रम बढी नेपालको मात्र नभई अन्य देशको पनि प्राकृतिक सौन्दर्य हराएर जान्छ। अनि तपाईं नै भन्नुस्, तपाईंहरू यहाँ हिमाल हेर्न आउनु भएको छ। यदि यो निरन्तर रह्यो भने हाम्रो आउँदो पुस्ताहरू यहाँ के हेर्न आउँछन्, पहाड कि हिमाल? तसर्थ, नेपाल सरकार र अन्य सम्बन्धि निकायहरूले यस विषयलाई गम्भीर रूपमा लिएर यसबारे हुने असरला कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा ठोस कदम चाल्नुपर्छ। भर्खर एक जना यू.एन. का वरिष्ठ पनि शायद यो विषयमा अवलोकन गर्न आउनु भएको थियो, यसले केही सकारात्मक परिवर्तन ल्याउँछ कि आशमा छु।’
उनको कुरा सुनेर हाम्रो चिन्ता बढ्यो। उनले आफ्नो भनाइ राख्दा एउटा प्रश्न पनि थियो, जसको जबाफ सायद हामी कोहीसँग पनि थिएन, तर आउने दिनहरूमा हामी सायद उहाँको प्रश्नको जबाफ दिन सक्नेछौं भनी आशा थियो। थोरै समय बिताएर हामीले उक्त कर्मचारीलाई धन्यवाद दिँदै झिनुतर्फ प्रस्थान गर्यौं। साँझ करिब ४ बजे सबैजना सकुशल झिनु पुगेपछि सबै एकअर्कालाई एकछिनसम्म हेरिरह्यौं र हामीभित्र एक विशेष प्रकारको उत्साह र उमंग थियो।
विभिन्न शारीरिक क्षमता र चुनौतीको बावजुद हामीले सँगै पदयात्रा सम्पन्न गरेकोले एक अर्कालाई अंगालो हालेर खुसी साटासाट गर्यौं।
पाँचौं दिनमा झिनु पुगेपछि हामीलाई कुर्दै गरेको ड्राइभर दाइको गाडीमा पोखरा बसपार्कसम्म पुग्यौं। त्यहाँबाट रातिको बसमा कोही काठमाडौँ त कोही वीरगञ्जतर्फ प्रस्थान गर्यौं।
यी पनि: