यात्रा अनुभूति:
क्यानडाको यात्रा निश्चित भएसँगै मनमा धेरै कुराहरू खेलिरहेका थिए। कुन कुन स्थानहरू घुम्ने, क-कसलाई भेट्ने, के कस्तो गतिविधिहरू गर्ने यस्तैयस्तै।
हुन त क्यानडाको यात्रा मेरो पहिलो भने थिएन। मैले सन् २००९ मा अमेरिका हुँदै क्यानडा भ्रमण गरेको थिएँ। उक्त यात्रामा मेरो सम्मानित व्यक्तिहरू वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी
न्योपाने, प्रचण्डराज प्रधान, मेरो घनिष्ट मित्र केदार दाहालको टिम साथमा थियो।
विशेष त त्यो भ्रमणमा हामीलाई क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको समाज कल्याण मन्त्रालयको निम्तो थियो। हामी विशेष परिस्थितिले बाबुआमाबाट छुट्टिएका अभिभावकविहीन बालबालिकाहरूको हेरचाह तथा व्यवस्थापन क्यानडा सरकारले कसरी गर्दछ भन्ने अध्ययन भ्रमणमा गएका थियौं।
भ्रमणको अर्को उद्देश्य नेपालबाट धर्मपुत्र तथा पुत्रीको रूपमा क्यानडामा रहेका नेपाली बालबालिकाहरूको अवस्थाको अध्ययन र ती बालबालिकासँग प्रत्यक्ष भेटघाट पनि थियो।
हामीलाई नेपाल सरकारले दिएको जानकारी अनुसार क्यानडामा अन्दाजी ७० जना बालबालिकाहरू धर्मपुत्र/पुत्रीको रूपमा गएका थिए। ती ७० जनामध्ये ब्रिटिस कोलम्बिया राज्यमा मात्र अन्दाजी ३० जना थिए।
हामीले उक्त भ्रमणमा नेपालबाट गएका पच्चिस जना बालबालिका र उनको परिवारलाई प्रत्यक्ष भेटेका थियौं। उक्त भेटमा सबभन्दा ठूलो बालबालिका भनेको छ/सात वर्षका थिए। धेरै बालबालिकाहरू त ४ वर्ष मुनिका थिए।
सन् २००९ मा चार वर्षका ती केटाकेटीहरू आज बालिग हुने नै भए। सन् २०२४ मा क्यानडाको यो यात्राको तयारी गर्दैगर्दा सबभन्दा बढी कुरा मेरो मन मष्तिस्कमा खेलेको विषय यही थियो। सन् २०१० को यात्रामा ब्रिटिस कोलम्बिया राज्यको समाज कल्याण मन्त्रालयको निम्तो र च्वाइसेस इन्टरनेसनल एडप्सन एन्ड काउन्सिल भन्ने संस्थाले यात्राको सहजीकरण गरेको थियो।
सन् २०२४ को यात्रा नितान्त पारिवारिक र पर्यटकीय थियो। हामीलाई कुनै सहजीकरण थिएन। उक्त च्वाइसेस इन्टरनेसनल भन्ने संस्था नै बन्द भैसकेको थियो। तर उक्त समयमा च्वाइसेसको सिइओ भएर काम गर्ने सान्ड्रा स्कार्थ अझ पनि मेरो फेसबुकको साथी थिइन्। कहिलेकाहीँ हाई, हेलो हुने, सन्चो विसन्चोको जानकारी फेसबुकबाट हुन्थ्यो।
त्यस्तै केही धर्मपुत्र-पुत्री लिने परिवारहरूसँग र केही नेपालमा जन्मिएका बालबालिकाहरूसँग म आज पनि सोसल मिडियामार्फत् कुनै न कुनै रूपमा सम्पर्कमा छु।
मैले यो क्यानडाको यात्रालाई अझ उपयोगी बनाउन सोच राखेँ।
सम्पर्कमा भएकाहरूलाई विभिन्न सोसल मिडियामार्फत् आफू क्यानडा भ्रमणमा आउन लागेको मिति र स्थानसहित जानकारी गराएँ। उनीहरूसँग भेट्न चाहना भएको जानकारी गराएँ।
केहीको जबाफ आयो भने धेरैजसो परिवारको जबाफ आएन। च्वाइसेसकी पूर्वसिइओ सान्ड्राको पनि उत्तर आएन जुन मैले सबभन्दा बढी आशा गरेको थिएँ।
विशेष त तीन जनाको रेस्पोन्सलाई मैले बढी महत्वका साथ ध्यान दिएँ र उनीहरूलाई मेरो कन्सर्न विषयमा कुरा गरेँ।
भिक्टोरियामा बस्ने मारगरेट पार्कर, कोलोनी बस्ने दिपु मिरचान्डी र पेन्टिक्टन बस्ने सान्ड्रा स्टेफिन। यि तीनै जना ब्रिटिस कोलम्बिया राज्यभित्र नै पर्ने सहरहरू हुन्। मारगरेट पार्करले सकेसम्म धेरै बालबालिकाहरू र उनीहरूको परिवारलाई सम्पर्क गर्ने र एकै ठाउँमा जम्मा भएर डिनर लिने योजना बनाइन्।
सान्ड्रा र दिपुले भने एक्लै मलाई भेट्ने योजना बनाएको जानकारी गराउनुभयो र भेट्ने स्थान, दिन र समय समेत निश्चित भयो।
क्यानडाको यो यात्रामा मैले दुई वटा मुख्य गतिविधि तय गरेँ। पहिलो सि प्लेनबाट भ्यानकुभर हेर्ने, दोस्रो टोरोन्टोको सिएन टावरमाथि एज वाक गर्ने र अर्को अप्सनमा भने टोरोन्टोमा रहेको वन्डर वर्ल्डमा विश्वकै धेरै उचाइ भएको रोलर कोष्टर गर्ने। छोरी ज्वाइँको भने टप लिस्टमा रोलर कोष्टर थियो।
मुख्यत क्यानडाको भ्यानकुभर, भिक्टोरिया, टोरोन्टो र क्यालगरी हामीले घुम्ने सहर तय गरेका थियौं। नाएग्राफल त्यो पनि क्यानडा साइडबाट हेर्न छुटाउन असम्भव नै थि । क्यालगरी बाहेक अन्य सबै सहरहरूमा न त हामीलाई गाइड गर्ने न त बस्ने साथीभाइ तथा परिवार थिए। हामीले लगभग होटलहरू समेत बुकिङ गरिसकेका थियौं।
हाम्रो नेपालबाट उडान थियो रातिको ९ बजेको। ४ बजे आमाको बिदाइसँगै विमानस्थल पुग्यौं। मलाई हाम्रो परम्परामा यात्रामा जाँदा दही खाने खुवाउने अति उपयोगी लाग्छ।
विशेष त यात्रामा जाँदा समय र खानेकुरा परिवर्तन हुने, खानपिनको नियमितता पनि तलमाथि हुन्छ। हो, यसको पहिलो बचावट भनेको दही खानु रहेछ।
त्यसकारण लामो यात्रामा निस्कँदा एक चम्चा मात्र नभएर एक सानो कचौरा दही खानु पेटको गडबढीको लागि अति राम्रो हुने मेरो अनुभव छ। हाम्रा पितापुर्खाहरूले चलाएको गतिविधिहरूलाई वैज्ञानिक आँखाले केलाउने हो भने वैज्ञानिक कारण रहेको हुन्छ।
काठमाडौंबाट दिल्लीको साढे एक घन्टाको यात्रा पछिको उडान थियो क्यानडाको भ्यानकुभर। हाम्रो दिल्लीमा झण्डै ५ घन्टाको ले ओभर थियो। १२ बजे तिर हामीले दिल्लीमा लगेजहरु कलेक्सन गरेर भ्यानकुभरको लागि चेकिङ गर्नु थियो।
सामान्यतया: उडानको ३ घन्टा पहिला मात्र उडानको चेकिङ हुने गर्दछ। हाम्रो भ्यानकुभरसम्मको चेकइन नेपालबाट नभएको कारण तीन घन्टा कुर्नुपर्ने थियो।
हुन त सामान्यतया: डाइरेक्ट उडानमा गन्तव्यसम्मको चेकिङ हुन्छ नै तर यसपालि हाम्रो यो यात्रामा डाइरेक्ट उडान थिएन। हाम्रो पुरानो टिकट थियो हङकङ हुँदै एयर क्यानडाबाट भ्यानकुभरको।
एयर क्यानडा बेस भएर हामीले टिकट लिएको कारण हङकङ सरकारले ट्रान्जिट भिसा अनिवार्य गरेको रहेछ। हामीले हङकङको भिसा नभएको कारण टिकट क्यान्सिल गर्नु परेको थियो।
एकदिन अगाडि मात्र टिकट क्यान्सिल गर्नु परेको र चौविस घन्टाबीच नयाँ टिकट किन्नु परेको कारण सस्तो टिकटलाई प्राथमिकतामा राख्दा हामीले काठमाडौं दिल्ली र दिल्ली भ्यानकुभरको टिकट छुट्टाछुट्टै लिएका थियौं।
हुन पनि दिल्लीबाट विश्वको लगभग सबै देशको मुख्यमुख्य सहरमा सिधा हवाई उडान छ। क्यानडाको कुरा गर्ने हो भने भ्यानकुभर र टोरोन्टोमा दिल्लीबाट सिधा उडान छ।
आश्चर्यको कुरा त काठमाडौंबाट दिल्लीको उडानको भाडा तीस हजारभन्दा बढी पर्दछ भने दिल्लीबाट भ्यानकुभरको १४ घन्टाको उडानको भने १ लाख भन्दा पनि सस्तो। अर्को कुरा काठमाडौंबाट भ्यानकुभरको सिधा उडानभन्दा काठमाडौं र दिल्ली अनि दिल्लीबाट भ्यानकुभरको छुट्टै टिकट लिँदा धेरै सस्तो हुने।
यही कारण पनि हामीले छुट्टाछुट्टै टिकट लिएका थियौं। यसकारण पनि लगेज कलेक्ट गरी एयरलाइन्सको काउन्टरमा चेकिङ गर्नुपर्ने थियो।
हामी नेपालमा पर्यटन बढाउने कुरा त गर्छौं तर हामीले कहिल्यै पनि यो विषयमा सोचेका छैनौं। पर्यटन बढाउनको लागि हवाई टिकट सस्तो हुनुपर्ने र सिधा उडान हुनु जरूरी छ। सिधा उडान बिना टिकट सस्तो हुँदैन। सिधा उडानको लागि आफ्नै ध्वजाबाहक हवाईजहाज जरूरी हुन्छ। देशको पर्यटन विकासमा गम्भीर हुनुपर्ने विषय हो यो।
मलाई भने लामो यात्रामा लगेज एयरलाइन्समा जिम्मा लगाएपछि मात्र आनन्द र सहज लाग्छ। झण्डै ४ घन्टाको कुराइपछि हामीले लगेज एयरलाइन्सलाई जिम्मा दियौं। मैले धेरैचोटि केही साथीहरूबाट सुनेको छु। भारतीय विमानस्थलमा नेपालीहरूलाई यात्रामा सहज व्यवहार हुँदैन त्यही भएर धेरै नेपालीहरू भारतको ट्रान्जिटलाई मन पराउँदैनन्। हामीले भने यो यात्रामा भारतको विमानस्थलमा त्यस्तो नराम्रो व्यवहार भने पाएनौं।
हुनत मेरो भारतको इन्दिरा गान्धी विमानस्थलको यो यात्रा पहिलो चोटि होइन। पटकपटक यात्रा गरेको छु। झण्डै १ वर्षअगाडि मैले रोटरी फ्रेन्डसिप एक्सचेन्जको क्रममा बैंगलुरुको यात्रा गरेको थिएँ। हाम्रो समूहमा ६ जना थियौं। हामी इन्दिरा गान्धी विमानस्थल हुँदै बैंगलुरुमा झरेका थियौं । त्यो यात्रामा पनि हामीले कुनै नराम्रो अनुभव गर्नु परेको थिएन नेपाली नै भएको कारण।
मैले यो विमानस्थलमा सन् २०१९ मा पनि यात्रा गरेको थिएँ। यो यात्रा पनि मेरो रोटरी फ्रेन्डसिप एक्सचेन्जको लागि चन्डीगढमा भएको थियो। यो ५ वर्षमा विमानस्थलले जसरी सेवासुविधालाई अन्तर्राष्ट्रियस्तरको बनाएको पाएँ त्यसले भने मलाई आश्चर्य बनाएको थियो।
विमानस्थलको यो कायापलट भौतिक रूपमा मात्र थिएन यात्रुहरूमा हुने व्यवहारमा पनि थियो।
यसरी हाम्रो तीन हप्ताको क्यानडाको यात्रा सुरू भयो। क्रमश: