चौरीको दूध, मोही, छुर्पीको स्वाद सानैदेखि चाखिएको हो। अझै सम्झन्छु, झ्याँकुबाट फेदीसम्म मोही लिन जान्थेँ। चौरी गोठमा स्योसेसँग ढिडो खाँदै रमाएको त्यो बाल्यकाल अझै मनको कुनामा ताजै बसेको छ।
छुर्पी, चिज अनि सेरगेम त मेरो लागि झनै प्रिय र मीठा। ती स्वादहरू कुनै स्वाद मात्र होइन, सम्झनाका टुक्रा हुन्।
यसपटक संयोग मिल्यो, चौरी गोठ पुग्ने। यात्रा थियो जिरी नगरपालिका–१ स्थित श्यामाको गाईखुरा चौरीखर्कसम्म।
चरिकोटबाट पहिलो दिन जिरी हुँदै स्टोन पार्कमा सूर्य बस्नेतको होमस्टेमा रात बित्यो। पशु सेवा कार्यालय दोलखाका प्रमुख डाक्टर ज्ञानबहादुर जिरेल, टेक बहादुर सुनुवार, प्रकाश थापा, सुवास पोखरेल, महेन्द्र कडेल सँगको गफगाफले गाडीको यात्रा अनि त्यो साँझको बसाइँ अझै रमाइलो बनायो।
भोलिपल्ट बिहान सबेरै उकालो चढ्नु थियो। स्टोन पार्कदेखि ल्वासा गाउँसम्म गाडीमा गयौँ।
चारैतिर हरियालीले ढपक्क ढाकेको, समथर भूभागमा बसेको शेर्पा बस्ती—ल्वासा। जहाँ ३७ घरमा शेर्पा समुदाय मात्र बसोबास गर्छन्। समुदायको आफ्नै श्रम र साधनले बनाएको सानो तर सुन्दर गुम्बा देखेर मन झनै श्रद्धाले भरियो।
यस गाउँका थुप्रै शेर्पाहरूले चौरीपालनबाटै काठमाडौंमा घर बनाएका छन्, छोराछोरी राम्रा स्कुलमा पढाएका छन्।
प्रत्येक घरका एक जना विदेश पुगेका छन्। गाडी यहीँ ल्वासासम्म मात्र। त्यसपछि खुट्टाको भरमा उकालो। बिहानीपख भएर होला घामको झुल्कोले स्वागत गरिरहेको थियो हामीलाई।
ठाडो उकालो, गहिरो सास, पसिनाको बाढी, तर चौरी बिहान ७ बजेतिरै दूध दुहाएर जंगल लाग्छन् भन्ने सुवास पोखरेलको मोबाइल घण्टीले खबर दिइरहेको हुन्थ्यो। ल्वासाबाट करिब एक घण्टा उकालो लागेपछि चौरीगोठ देख्न पाइयो।
गाईखुरामा चौरी गोठ पुग्दासम्म अधिकांश चौरीहरू चरनमा लागिसकेका थिए। एकाध बाँकी थिए। एउटा चौरीको दूध दुहिएपछि त्यो पनि जंगलतिर लाग्यो। पहिलोपटक चौरीलाई यति नजिकबाट नियाल्ने अवसर पाएँ। उनीहरूको आँखा, घुम्रिएको सिङ, शान्त अनुहार, सबथोकमा हिमाली सौन्दर्य झल्किन्थ्यो। चौरीको बास, उनीहरूको आनीबानी, जीवनशैलीका बारेमा फुरी शेर्पासँग रमाइलो कुराकानी भयो।
एउटै घरकाले १६ देखि २९ वटासम्म चौरी पालिएको सुन्दा अचम्म लाग्यो। यिनै चौरीबाटै त घरखर्च, छोराछोरीको पढाइ, जीवनशैली सबै चलिरहेको रहेछ। अहिले चौरीको छुर्पी, घ्यूको बजार लोभलाग्दो छ। ठेकेदारले महिनैपिच्छे अर्डर गर्छन्। गाउँमै लिन पुग्छन् ठेकेदार।
उत्पादित सामान बेच्न बजार खोज्नै पर्दैन। गाउँमा आलु फल्छ, मकै फल्छ, फापर फल्छ। जीविकोपार्जनका लागि आवश्यक सबै कुरा गाउँमै मिल्दो रहेछ। जिरी बजार नजिकै यति स्वच्छ, सुन्दर र आत्मीय बस्ती, चौरी गोठ। चौरीसँग लुकामारी खेल्न पाइने ठाउँ। यो कल्पना थिएन, अनुभव थियो। हिँडाइ गाह्रो थियो। तर सुन्दरता, स्वाद र सम्झनाले त्यो गाह्रो भारी होइन, सपनाजस्तै लाग्यो।
तस्बिरहरू:
-1749822191.jpg)
-1749822191.jpg)
-1749822190.jpg)
-1749822190.jpg)
-1749822187.jpg)
-1749822187.jpg)
-1749822188.jpg)
-1749822185.jpg)
-1749822185.jpg)
-1749822185.jpg)
-1749822186.jpg)
-1749822184.jpg)
-1749822184.jpg)