अघिल्लो वर्षको चैत ७ गतेदेखि बन्द रहेको नेपालको सबैभन्दा ठूलो सदर चिडियाखाना बिहीबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै सर्वसाधारणहरुका लागि खुला भएको छ।
नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुलेको व्यवस्थापन पक्षले जनाएको छ ।
चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए।
चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए।
यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ । यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।
चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए। अवलोकनको लागि बन्द गरे पनि त्यहाँ रहेका जीवजन्तुको स्याहारसुसार भने नियमित गरिँदै आएको थियो ।
हाल चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीव जन्तु रहेका छन् । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकनका लागि विदेशीको लागि रु ७५० तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नागरिकका लागि रु ५०० नेपालीलाई १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि रु ९० लिँदै आइएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू