आफ्नै गतिमा बगिरहेको कालीगण्डकी। २२८ मिटर अग्लो खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल।
पुल तर्दै सिरिंग हुने ठाउँमा मानिसहरू खुट्टामा डोरी बाँधेर हामफाल्नु चानचुने कुरा होइन। विश्वकै बहुप्रतिक्षित यो बन्जी साइट सुरू भएको २ महिना पूरा भएको छ।
२०७३ सालदेखि पुलको निर्माण सुरू भएको थियो। पुल र रिसोर्ट २०७६ अन्तिममा तयार भए पनि लकडाउनले गर्दा २०७७ को दसैंपछि सुरू भएको हो।
५२० मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठिकमाथी बन्जी र स्विङको लागि जम्प गर्ने प्लेटफर्मको निर्माण गरिएको छ।
हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोस्रो अग्लो स्विट्जरल्याण्डको भरजस्का बाँधमाथि ७२० फिट उचाइमा छ।
द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रूपमा आफूलाई दर्ज गरेको छ भने यहाँको स्विङ विश्वकै अग्लो बनेको छ।
बन्जी र स्विङ दुबैको मूल्य ७ हजार रुपैयाँ रहेको छ। पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ। टेण्डम (जोडी) स्वीङको १२ हजार छ। टेन्डम स्विङमा यातायात सुविधा लिन चाहे थप ३ हजार रुपैयाँ लाग्नेछ।
रिसोर्ट:
बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा 'द क्लिफ रिसोर्ट' बनेको छ। २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ६४ जना अट्छन्।
कसरी पुग्ने?
द क्लिफ प्रालि पोखराबाट ५५ किमी, अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किमी दूरीमा अवस्थित छ।
काठमाडौं, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने 'सेयरिङ ट्याक्सी'मा पनि जान सकिन्छ।
द क्लिफमै गाडीसहितको प्याकेज बुक गरेर पोखरा-कुश्मा दुईतर्फी गाडीको सुविधा लिन सकिन्छ।
जम्प नगर्ने तर हेर्न मात्र जान चाहने व्यक्तिले २ हजार रुपैयाँ तिरेर 'गो एन्ड सी' प्याकेज रोजेर दुईतर्फी गाडी र खानाको सुविधा लिन सक्छन्।
सबै तस्बिर : मदानी क्रिएसन टिम