घुमफिर गर्नु मेरो शोख हो। घुमफिर गर्न मन पराउने म तस्बिर पनि खिच्छु। प्रकृतिको काखमा रमाउने म आफ्नै जिल्लाको पर्यटन प्रवर्धन गर्न भन्दै हरेक हप्ता फरक फरक ठाउँमा पुगेर सामाजिक सञ्जालमा तस्बिरहरु पोस्ट गर्ने गर्छु ।
यो हप्ताको यात्रा पनि त्यस्तै भयो। दोलखा सदरमुकाम चरिकोटबाट नजिकै रहेको डाङ्डुङे डाँडालाई मैले गन्तब्य बनाएँ।
काठमाडौंबाट करिब १ सय १८ किमी पूर्व, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ९ समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल, र गौरीशंकर हिमालको काखमा रहेको छ डाङ्डुङे डाँडा।
पर्यटकीय स्थान खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीय स्थल डाङ्डुङे डाँडामा पुग्न सकिन्छ।
फिल्मसिटी बन्ने चर्चा रहेको डाङ्डुङे डाँडामा पुग्दा स्वर्गमा पुगेको आभास हुन्छ। सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थल डाङ्डुङे डाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश, गौरापर्बत, धौलागिरी, लाङटाङ हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिन्छ।
डाङ्डुङे डाँडाबाट देखिने दृश्यले जो कोहीको मन लोभ्याउँछ। जसरि दोलखाको कालिन्चोकमा पर्यटकको आकर्षण बढेको छ प्रचार प्रसार भएमा डाङ्डुङे डाँडा पनि पर्यटकको एउटा आकर्षण हुनेछ।
हेर्नुहोस् तस्बिरहरू