सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर पुरानै संरचनामा तयार भएको छ। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो।
यो मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो।
काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ।
झण्डै २ सय वर्षसम्म भग्नावशेषको रूपमा रहेको यो मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए।
१८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेका थिए। त्यतिमात्र होइन यो मन्दिर शिखर शैलीमा बनेको भन्ने पनि उनको शोधपत्रमा उल्लेख थियो।
बस्न्यातले काँक्रेबिहार परिसरमा बोर्डमै लेखेर आफ्नो यो शोधपत्रमा समावेश उक्त अंशलाई राखेका छन्। काँक्रेबिहार घुम्न वा अध्ययन गर्न जानेहरूले यसलाई काँक्रेबिहारको इतिहासको रूपमा लिन्छन्।
बस्न्यातले पनि सूर्यमणि अधिकारीले लेखेको ‘खस राज्यको इतिहास’ र विश्व केसीले लेखेको ‘किर्ति खम्ब’ लाई आधार बनाएका छन्। तर यसलाई पुरातत्व विभागले भने प्रमाणित नगरेको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए।
‘उहाँले आफ्नो शोधपत्र गर्दा उल्लेख गरेको कुरा विभागले प्रमाणित नै गरेको त छैन, तै पनि यसलाई एउटा आधार मान्ने गरिएको छ,’ उनले भने, ‘बाह्रौंदेखि तेह्रौं शताब्दीको बीचमा काँक्रेबिहार मन्दिर बनेको थियो भन्ने अनुमान चाहिँ छ।’
बस्न्यातले काँक्रेबिहारमा राखेको आफ्नो शोधपत्रमा उल्लेख गरेअनुसार काँक्रेबिहार महायानी बौद्ध धर्म मान्ने सिंजा साम्राज्यका राजा अशोक मल्लले विक्रम संवत् १३२५ मा बनाएका थिए।
सिंजामा विक्रम सम्वत् १३१२ देखि १३३५ सम्म उनको शासन चलेको थियो।
१८८ वर्षपछि पुरानै संरचनामा निर्माण भएको काँक्रेबिहार मन्दिरले थप पर्यटकको ध्यान खिच्न सक्ने वडा अध्यक्ष मानन्धरको विश्वास छ।
पहिले भग्नावशेष अवस्थामा रहेको काँक्रेबिहार मन्दिरबारे किम्बदन्ती सुनेकै आधारमा मानिसहरू घुम्न जाने गरेका थिए।
अब भने जंगलको बीचमा रहेको मन्दिरको माथिल्लो केही भाग वरिपरिबाट पनि देख्न सकिने भएकाले थप पर्यटकको ध्यान खिचेको उनले बताए।
काँक्रेबिहारलाई पुरानै शैलीमा निर्माण गर्न भक्तपुरबाट कालीगढ ल्याइएको थियो। मन्दिर भत्किएपछि वरपर छरिएर रहेका पत्थरलाई पुरानै शैलीमा कुँदेर बनाइएको छ। केही पत्थर नष्ट भएर नपुगेपछि भने बाहिरबाट ल्याइएको थियो।
पुनर्निर्माण गरिएको मन्दिरमा गजुर राखिएको छ।
यो मन्दिर पुनर्निर्माण सुरू भएको भने १७ वर्ष अघिदेखि हो।
२०६१ सालदेखि पुनर्निर्माण थालिएकोमा कामले पूर्णता नपाएपछि २०७२ देखि फेरि पुनर्निर्माणको काम सुरू गरिएको थियो।
पुरातत्व विभागले २०५७ सालदेखि भत्किएको काँक्रेबिहार मन्दिरको भग्नावशेषको उत्खनन गर्न सुरू गरेको थियो। उत्खननपछि यो मन्दिरको शैली र पुरातात्विक महत्व देखेर पुनर्निर्माण थालिएको थियो।
पछि २०७२ सालदेखि ८ करोड १८ लाख रुपैयाँमा ठेक्का लिएर काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्सनले मन्दिर पुनर्निर्माणको काम सुरू गरेको वडा अध्यक्ष मानन्धरले बताए।
२०७२ देखि २०७७ असारसम्म पुनर्निर्माणका लागि पटक/पटक म्याद थप गरिएको थियो।
२०७५ सम्म निर्माण गरिसक्नुपर्ने भए पनि केही ढिलाइ भएको मानन्धरले बताए।
‘ठेक्का भएकै वर्ष २०७२ मा आएको भूकम्पले पनि यो काममा ढिलासुस्ती भयो, निर्माताहरू काठमाडौंमै केन्द्रित भएको भएर यता लाग्न पाएनन्,’ उनले भने, ‘अब मन्दिर बनिसकेको छ, तारबार र केही फिनिसिङमात्र बाँकी हो।’
काँक्रेबिहार पुनर्निर्माणपछि त्यहाँको रेखदेखको काम वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ। चौकीदार राख्ने, पर्यटकहरूलाई टिकट वितरण गर्ने जिम्मा भने वीरेन्द्रनगर–९ को वडा कार्यालयले लिएको छ।
अब काँक्रेबिहारबाट राजश्व संकलन गर्ने प्रयोजनका लागि छुट्टै परिषद बनाएर जिम्मा दिने तयारी गरिएको वडा अध्यक्ष मानन्धरले बताए।
‘कार्ययोजना अनुसार नगरपालिकाले परिषद् बनाएर अरूलाई संरक्षण तथा राजस्व संकलनको जिम्मा दिन्छ, अहिले यो प्रक्रियामै छ,’ उनले भने।
काँक्रेबिहारमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ।
काँक्रेबिहारको टिकट काउन्टरमा काम गर्ने विष्णुबहादुर कार्कीका अनुसार शुक्रबार र शनिबार घुम्न आउने पर्यटकको संख्या एक हजारभन्दा माथि हुन्छ। अन्य दिनहरूमा भने डेढ सयदेखि माथि टिकट बिक्री हुने गरेको उनले बताए।
काँक्रेबिहारको जंगल वरिपरि पनि पर्खाल बनिरहेको छ।
निर्माणाधीन पर्खालको विषयमा अहिले अदालतमा मुद्दा परेको छ। दुई वर्षका लागि भएको टेण्डर अनुसार पर्खाल निर्माणमा अनियमितता भएको भनेर मुद्दा परेको छ।
‘अहिले त मुद्दा छ, यसको छिनोफानो भयो भने पर्खाल निर्माण हुन धेरै समय लाग्दैन,’ मानन्धरले भने।
विभिन्न वन्यजन्तुको बासस्थान रहेको काँक्रेबिहार जंगल नेपालको पहिलो संरक्षित वन पनि हो।
पर्खाल निर्माण भएपछि काँक्रेबिहार क्षेत्रमा चिडियाखाना पनि निर्माण गरिने छ।
चिडियाखाना वीरेन्द्रनगर नगरपालिकाले बनाउन लागेको हो। मन्दिरसँगै काँक्रेबिहार क्षेत्रमा पर्यटकको ध्यान तान्न आकर्षक चिडियाखाना निर्माण गरिने उनले बताए।
‘अहिले मन्दिर मात्र हेर्न आउँछन्, चिडियाखाना भयो भने पर्यटक झन् थपिनेछन्,’ वडा अध्यक्ष मानन्धरले भने, ‘मिनि चिडियाखाना बनाएर यहाँ पाईने विभिन्न वन्यजन्तु राखिने छ।’
चिडियाखाना निर्माणका लागि ११ लाख रुपैयाँ नगरपालिकाबाट छुट्याइएको उनले बताए।
काँक्रेबिहारमा सुरूदेखि नै बासस्थान बनाएका वन्यजन्तु विस्थापित हुने सम्भावना बढेपछि उनीहरूको लागि आवश्यक संरचना पिउनका लागि पानी पोखरी, घाँसका लागि बोटबिरूवा, मानव निर्मित बासस्थान पनि बनाउन लागिएको छ।
पर्यटकीय स्थल काँक्रेबिहार क्षेत्रको क्षेत्रफल १७५ हेक्टर रहेको छ।