लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्।
शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो।
यो सँगै प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ लमजुङको सुखी गाउँका रूपमा परिचित भएको छ।
पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दाले सबै मापदण्ड पूरा गर्दै गाउँलाई नै सुखी गाउँ बनाएका हुन्।
जिल्लामा सबभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन्। मुलुकमा जनान्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गदगद छन्।
उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् जसको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो।
क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका नेतृत्वमा गाउँलाई एमाले अध्यक्ष ओलीले ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्।
पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको छ।
घले, गुरूङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १ सय २५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर पाँचदेखि छ लाख रुपैयाँ र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गरिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए।
‘घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौं’, उनले भने।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत गर्यो। घलेगाउँका बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भनिन्, ‘विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन्।’
गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भई यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन।
यहाँका ९० प्रतिशत जनसङ्ख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउँछन्। अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुई पल्ट दक्षिण एसियाकै नमुना गाउँसमेत भएको छ।
वि.सं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरूमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो।
गाउँबासीले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तु आफैं तयार गर्छन्। भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट भाङ्ग्रा, झोला, थैलो, नियालाको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता वस्तु तयार गरिन्छ।
धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुंगा, रातो रङका जस्तापाता र खरले छाएको घरको छाना, भर्याङ, ढोकामा कुँदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय सीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ। यहाँ पुराना शैलीका घुमाउरो घर, बाक्लो घले (गुरूङ) बस्ती अनि चौबिसै घण्टा पानी, बिजुली र वाइफाइको व्यवस्था छ।
स्थानीयबासीले यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेंडाको मासुलगायत परिकार खुवाउने गर्छन्।
लमजुङ तथा विशेष गरी क्होलासोथर गुरूङ जातिको उद्गमस्थल हो। यही नामबाट क्होलासोथर गाउँपालिका छ।
पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयबासीको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छ।
स्वच्छ हावापानीमा रमाएको गुरूङ समुदायको लमजुङमा बाक्लो बस्ती तथा बसोबास छ।
एकै ठाउँमा गुचमुच्च भएर बस्न रूचाउने गुरूङ समुदायभित्र एकता पनि छ। पहिले रोधीँ हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा र बाबा समूह, युवा क्लबमार्फत् गाउँ विकासमा लागेका छन्।
जिल्ला सदरमुकाम बेंसीसहरबाट पैदलयात्रा गरेमा समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ ६ घण्टा र सवारी साधनमा गए डेढ घण्टामै पुगिन्छ।
काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १ सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहर १ सय १० किमीको दूरीमा छ। त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ। घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ। कालोपत्रे गर्दै गाउँसम्म पुर्याउनका लागि काम अघि बढिरहेको छ। केही वर्षभित्रै कालोपत्रे सम्पन्न भएपछि यात्रा अझै सहज र छिटो हुनेछ।