पर्यटकीय सम्भावना रहेर पनि ओझेलमा परेका गोरखाको गणेश हिमाल र गणेश कुण्ड क्षेत्रमा पर्यटकीय सम्भावनाबारे अध्ययन गरिएको छ।
हालै विज्ञ पर्यटन टोलीले ती क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक पक्षसहित पदमार्गको एक्स्पलोर गरेको हो।
धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरूङको नेतृत्वमा गएको टोलीमा टान पोखराकाका सहसंयोजक हेमराज बाँस्तोला, माउन्टेन गाईड तथा कार्टोग्राफर सञ्जिव गुरुङ, सगरमाथा आरोही कान्छी डोल्मो ह्याल्मोलगायतका टोलीले सम्भाव्यता अध्ययन गरेको हो।
यो पदमार्गबाट रून्चेतस्थित कालोपोखरी, गणेश कुण्डलगायत मनास्लु, बौद्ध, हिमालचुली, स्याला पिक, श्रृङ्गी, चमार, गणेश टु, गणेश फोर, चरङ्गी हिमालको दृश्यहरू अवलोकन गर्न सकिन्छ।
अध्ययन टोलीका अनुसार पदमार्ग नयाँ भएकाले धेरै ठाउँमा पूर्वाधार निर्माण गर्नुपर्नेछ। यसको साथै पदमार्गमा सीमाङ्कन, पोर्टर शेल्टर, पुल र खानेपानीको व्यवस्थापन गर्नुपर्छ।
पर्यटनको सम्भावना बोकेको नयाँ ठाउँलाई प्रचार प्रसार र पूर्वाधार विकास गरेर नयाँ पर्यटकीय गन्तब्यका रूपमा विकास गरिने समितिका अध्यक्ष साने गुरूङले बताए।
‘हालै हामीले अध्ययन कार्य पुरा गरेका छौं, अब यो क्षेत्रको ट्रकिङ म्याप, डकुमेन्ट्री निर्माण तथा प्रचार प्रसार सामाग्री छिट्टै प्रकाशन गर्नेछौं,’ गुरूङले भने।
यो पदमार्ग पछ्याउँदै गणेश हिमाल बेसक्याम्पसम्म यात्रा गर्न सकिन्छ।
अध्ययन टोलीका सदस्य पश्चिमाञ्चल टानका प्रतिनिधि हेमराज बाँस्तोलाले यो पदमार्ग अत्यन्तै सम्भावना बोकेकोले टानका सदस्य एजेन्सीको लागि खुसीको खबर भएको बताए। ‘यो पदमार्ग एउटा नयाँ गतिलो पर्यटकीय गन्तब्य प्रडक्ट बन्नसक्छ’ , उनले भने।
अध्ययन टोलीले आरूघाट गाउँपालिकाको आरखेतदेखि पदयात्रा सुरु गर्दै मान्बु भएर यार्सा, कासीगाउँ, केरौजा, कोमाङखर्क, विरेनडाँडा, मन्त्रडाँडा, मेघाचेत, गणेशकुण्ड, कालोपोखरी, रन्चेत, काम्लाकोट, हुल्चुक हुँदै गणेश हिमाल बेस क्याम्ससम्मको यात्रा तय गरेको थियो।
अध्ययन टोलीका सदस्य तथा माउन्टेन गाईड सञ्जिव गुरूङले यो क्षेत्रलाई दुई वटा पदमार्गमा बाढ्न सकिने बताए।
एउटा पदमार्ग केरौजाबाट माहुङखर्क, लाम्ब्रा डाँडा, बुङमार्चेत खर्क, बिरिम डाँडा, मान्द्राचे, सेने काङ पास (४२३५मि), मेघाचेत हुँदै गणेश कुण्ड र त्यहाँबाट मेघाचेत, सुग्पा ब्ले, रोङजा काङ, कालोपोखरी हुँदै रुन्चेत सम्म पुग्न सकिन्छ।
यस्तै अर्को दोभानबाट हुल्चोक हुँदै सुर्तिबारी, सेक्सुको पास, जुङतुर डाँडा, काइ बुङ डाँडा, धामबाचेत खर्क, सुग्पा खर्क, हेचामबा खर्क हुँदै गणेश हिमाल बेस क्यम्प पुगिन्छ।
दुवै पदमार्गलाई एकैचोटी २ सातामा पदयात्रा गर्न सकिने र छुट्टा छुट्टै गरेमा एक एक सातामा गर्न सकिने गुरूङले बताए।
अध्ययन टोलीका सदस्य सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले गणेश हिमालको वेस क्याम्प रूटलाई निर्माण तथा पूर्वाधार विकास गर्न सके गणेश हिमाल र पविल हिमाल आरोहण गर्न बाटो खुल्ने बताइन्।
उनले यसबाट विश्वभरका हिमाल आरोही आकर्षित हुने दाबी गरिन्।
धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोगमा धार्चे मनास्लु पर्यटन विकास समितिले सो क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन गरेको हो।
९ जनाको अध्ययन टोलीले वैशाख २ गतेदेखि १२ गतेसम्म गणेश हिमाल बेस क्याम्पसम्मको १२ दिने अध्ययन भ्रमणको पदयात्रा गरेको हो।
हेर्नुहोस् केही तस्बिरहरू