‘धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बर
सेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर ।
ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वन
हाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।’
कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैंमा सुन्दर छ। मनमोहक चाँदीजस्तै टलक्क टल्केका हिमाल नेपालका पहिचान हुन्। भौगोलिक दृष्टिले सानो राष्ट्र भएर पनि सर्वोच्च शिखर सगरमाथा, हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णजस्ता गौरवका कारण यहाँको महिमा र गरिमा संसारभर चुलिएको पाइन्छ ।
नेपाललाई विश्वमाझ चिनाउन अन्नपूर्ण प्रथम हिमालको विशिष्ट महत्व रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रूपमा लिने गरिन्छ। जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको उपलक्ष्यमा प्रत्येक वर्ष यसै दिन अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) मनाउने गरिएको उनले जानकारी दिए।
‘टान पश्चिमाञ्चल क्षेत्रीय संघले प्रत्येक वर्ष अन्नपूर्ण डेलाई विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ’, पौडेलले भने, ‘यस वर्ष पनि ७२औं अन्नपूर्ण आरोहण दिवस संघले आज पदयात्रासँगै गाउँ पर्यटनको प्रवद्र्धन गरी मनाउन लागेको छ।’
अन्नपूर्ण आरोहण दिवसलाई यस वर्ष जुन ३ र ४ दुईदिने कार्यक्रमका साथ पर्वतको मोदी गाउँपालिका–४ स्थित लेसपारसम्म पुगेर मनाउन लागिएको उनले जानकारी दिए। उक्त क्रममा जुन ३ मा पर्वतको दुर्लुङकोटबाट हलहले हुँदै लेसपारसम्म करिब चार घण्टा पदयात्रा र जुन ४ का दिन लेसपारदेखि क्याङ, बाजुङ हुँदै पातीचौरसम्म करिब पाँच घण्टाको पदयात्रा गरिनेछ। पदयात्रा, गाउँ पर्यटन प्रवर्द्धनसँगै अन्नपूर्ण हिमाल र यसको पहिलो आरोहणको सम्झना गरिने पौडेलले बताए।
पहिलो पटक फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथमको उचाइ ८ हजार ९१ मिटर रहेको छ। आरोहण सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए। सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण आरोहणको सफलताले त्यति चर्चा नपाए पनि यसको गरिमा र महत्व छुट्टै रहेको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताए।
यस वर्ष माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा विशेष कार्यक्रम आयोजना गरिएको छ। अन्नपूर्ण डेको अवसरमा संघले टुसेबाट हिलेखर्क, खुमाइडाँडा, नाउजे खर्क, रानी खर्कहुँदै सेती नदीको उद्गमस्थल तीनशीरसम्मको पदमार्ग अन्वेषण गर्न लागेको शर्माले जानकारी दिए।
अन्वेषण टोलीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बिदाइ गर्ने कार्यक्रम छ। अन्नपूर्ण डेकै अवसरमा टुसेमा संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनको संयोजनमा बौद्ध परम्पराअनुसार पूजाआजा गर्ने कार्यक्रम छ।
अन्नपूर्ण प्रथमको आरोहणसँगै सन् १९५० देखि १९६० को दशकमा पोखरामा हिप्पी पर्यटकको आगमन बढेको पाइन्छ। त्यसयतामात्रै पोखरा विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको हो। टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले प्रत्येक वर्ष अन्नपूर्ण डेमा अन्नपूर्ण हिमाल देखिने १०० वर्षभन्दा पुराना गाउँमा विभिन्न कार्यक्रम गर्ने गरेको छ।
पोखराको पर्यटनसँग प्रत्यक्ष जोडिएको अन्नपूर्ण आरोहण दिवस मनाउँदै गर्दा प्राचीन महत्वका गाउँ र त्यहाँको घरबासको प्रवर्द्धन पनि सँगसँगै गरिएको छ।
अन्नपूर्ण प्रथमको पहिलोपटक आरोहण गरेका हर्जोगकै कारण पोखरासहित अन्नपूर्ण क्षेत्रको गरिमा बढेको विषयलाई दृष्टिगत गरी अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए। रासस