चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द भएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वनपथ बिग्रने, निकुञ्ज क्षेत्रका खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले वर्खाभरको लागि पर्यटकीय गतिविधिमा रोक लगाइएको हो।
‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने।
निकुञ्जले हरेक वर्ष वर्षातको समयमा पर्यटकीय गतिविधि बन्द गर्दै आएको छ। आजबाट राप्ती नदीमा गरिने डुंगा सफारी बन्द भएको छ। वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले बन्द गरिएको तिवारीले बताए।
पूर्व जानकारीविनै निकुञ्जमा पर्यटकीय गतिविधि रोकेको भन्दै सौराहा क्षेत्रका पर्यटन व्यवसायीले भने असन्तुष्टि जनाएका छन्।
सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ संस्थाले असान्दर्भिक निर्णय फिर्ता लिनुपर्ने भन्दै निकुञ्जलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएका थिए।