अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) का उपनिर्देशक एन्ड्रयु मकेवले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि धेरै पटक राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए। अमेरिकी टेलिभिजन सिबिएस न्यूजले आगामी मार्चमा कार्यकाल समाप्त हुन लागेका मकेवलाई पद छाड्न बाध्य पारिएको जनाएको हो।
ट्रम्पले मकेवलाई पद छाड्न भनेको खबर सार्वजनिक भएको थियो। गत मे महिनामा राष्ट्रपति ट्रम्पले एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा काम गरेका थिए।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोपबारे छानविन गरिरहेका बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए। ट्रम्पले मकेबमाथि हिलारी क्लिन्टनबाट आफ्नी पत्नी जिल मकेबलाई भर्जिनिया प्रान्तको सीनेटमा उम्मेदवारी दिन चन्दा लिएको आरोप लगाएका थिए।
ट्रम्पले राष्ट्रपतीय चुनावमा मकेबले कसलाई मत हाले भनेर प्रश्न सोधेको समेत बताइएको छ।