दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिएका छन्।
पार्टीको निरन्तर दबाबपछि उनले टेलिभिजनमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले पार्टी निर्णयबाट आफू असन्तुष्ट रहेको समेत बताएका छन्।
सम्बोधनका क्रममा जुमाले आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताएका छन्।
आफ्नो कारण कसैको ज्यान नजाओस् र पार्टी विभाजन नहोस् भनेर तत्कालको समस्याका कारण राजीनामा दिने निर्णय गरेको उनले बताए। पद छाडे पनि अफ्रिकी जनताका लागि काम गरिरहने उनको प्रतिबद्धता रहेको छ। जुमाको पार्टी एएनसीले उनलाई राजीनामा गर्न दबाब दिँदै आएको थियो।
राजीनामा नदिए संसद्को सामना गर्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको थियो। आफ्नै पार्टीले राजीनामा माग गरेपछि उनको राजीनामा माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएको थियो।
सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भ्रष्टाचार र घुस लिएको आरोप लागेको छ।