झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा आवेदन दिइए पनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो।
सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो। पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो। प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ।
यस अगाडि मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिएपनि मिस युसएएले दावी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन। तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो। त्यसपछि सन् २०१२ को फरबरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भए पनि सफल हुन सकेन।
सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो। तर सफल हुन सकेन।
त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो। उक्त प्रयास पनि सफल हुन सकेन। बरु मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो। त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो।
अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन्। साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन्।
मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन्। आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ। साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ।
मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ। यो कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ।
मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन्। आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन्।