अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदमुक्त भएका छन्।
स्थानीय समयअनुसार मंगलबार भएको चुनावमा उनले सभामुख पदमा बसिरहनका लागि सदनमा बहुमत ल्याउन सकेनन्।
उनको पक्षमा २१० र विपक्षमा २१६ मत खसेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
म्याकर्थीलाई सभामुखबाट हटाउन उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले भूमिका खेलेका छन्।
मंगलबारको मतदानमा ८ जना रिपब्लिकन सांसदले उनको विपक्षमा मतदान गरेका थिए। डेमोक्र्याटिक पार्टीका २०८ जना सांसदले पनि उनीविरूद्ध भोट हालेका थिए।
यसअघि तिनै ८ जना उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूको समूहले म्याकर्थीलाई सभामुखबाट हटाउने प्रस्ताव संसदमा दर्ता गरेका थिए। त्यसको नेतृत्व फ्लोरिडा राज्यबाट प्रतिनिधित्व गर्ने सांसद म्याट गाएट्जले गरेका थिए।
उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले म्याकर्थीमाथि सरकारलाई खर्च गर्ने बाटो खोल्न स्टपग्याप फन्डिङ विल पास गराउन सहयोगी भूमिका खेलेको आरोप लगाएका छन्।
डेमोक्र्याटिक पार्टीबाट निर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार चलाउन ल्याएको बजेट संसदका दुबै सदनले पारित नगरे कार्यान्वयनमा जान सक्दैन। तल्लो सदनमा झिनो बहुमत भएकाले रिपब्लिकन पार्टीका सांसदहरूले त्यसलाई लेनदेनको विषय बनाएका छन्।
सरकारले खर्च नै गर्न नपाउने भएपछि गत शनिबार ४५ दिनका लागि स्टपग्याप फन्डिङ विल पास गरेको थियो। उक्त विलमा १२६ जना रिपब्लिकन सांसदले पनि मतदान गरेका थिए।
तर उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले त्यसको विरोध गर्दै सभामुख हटाउने प्रस्ताव ल्याएका हुन्।
पदमुक्त भएपछि म्याकर्थीले आफू फेरि सभामुख बन्ने दौडमा नलाग्ने प्रतिक्रिया दिएका छन्।
अमेरिकी संसद बैठक अर्को साता बस्नेछ।
सम्भवत: अक्टोबर ११ मा नयाँ सभामुख चयनका लागि मतदान हुनेछ। गम्भीर आन्तरिक कलहमा फसेको रिपब्लिकन पार्टीबाट अब को सभामुख बन्छ भन्ने यकिन छैन। त्यही कारण सभामुख चयनको प्रक्रिया लम्बिन सक्छ।