गजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा संयुक्त अरब इमिरेट्स (युएई)ले गजामा तत्काल युद्धविराम गरी मानवीय सहायता पुर्याउने प्रस्ताव गरेको थियो।
उक्त प्रस्तावमा मतदान हुँदा सुरक्षा परिषदमा रहेका १५ मध्ये १३ देशले समर्थन गरेका थिए। बेलायत भने मतदानमा सहभागी भएन।
तर, अमेरिकाले उक्त प्रस्तावविरूद्ध भिटो प्रयोग गरेपछि गजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव विफल भएको बिबिसीले जनाएको छ।
सुरक्षा परिषदमा रहेका अमेरिकासँगै चीन, रूस, फ्रान्स र बेलायत भिटोप्राप्त मुलुक हुन्। यीमध्ये कुनैपनि राष्ट्रले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ।
अमेरिकाले युएईको प्रस्ताव असन्तुलित भएको भन्दै भिटो प्रयोग गरेको हो। इसराइलमा अक्टोबर १२ मा भएको आक्रमणको निन्दा नगरी युद्धविरामको मात्रै कुरा गरिएकोले उक्त प्रस्तावमा आफ्नो समर्थन नरहने जनाएको छ।
यसबारे सुरक्षा परिषदमा छलफल नै नगरी प्रस्ताव ल्याइएको अमेरिकाको आरोप छ। गजामा युद्धविराम गर्ने प्रस्तावलाई अमेरिकाले भिटो प्रयोग गरी विफल तुल्याएपछि प्यालेस्टाइनले अमेरिकाको उक्त कदमप्रति खेद प्रकट गरेको छ।