रूसको केन्द्रीय बैंकले पश्चिमा देशमा राखेको ३ सय अर्ब डलर भन्दा धेरै सम्पत्ति जफत गरी युक्रेनलाई सहयोग गर्नेबारे अमरिकी सरकारले आफ्नो गठबन्धन राष्ट्रहरूसँग छलफल थालेको छ।
वरिष्ठ अमेरिकी र युरोपेली अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले लेखे अनुसार युक्रेनको युद्धमा दिइएको आर्थिक सहायता घट्दै गएको बेला रूसको सम्पत्ति जफत गर्नेबारे छलफल सुरू भएको हो।
अहिलेसम्म युक्रेनले २ सय अर्ब डलरभन्दा बढीको सैन्य र आर्थिक सहायता पाइसकेको छ।
अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन्। तर आफ्नो व्यापक सहयोगका बावजुद युक्रेनी प्रत्याक्रमणले आशातीत सफलता हासिल नगरेपछि पश्चिमा सहयोगको निरन्तरता हुने अनिश्चित भएको छ।
यो सहायताको निरन्तरताका लागि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालै अमेरिका र विभिन्न पश्चिमा देशको भ्रमण गरे।
जो बाइडेन सरकारले युक्रेनलाई लगभग ६० अर्ब डलर सहायता दिन खोजेको पनि छ। तर रिपब्लिकन नियन्त्रणमा रहेको अमेरिकी संसदले डेमोक्रयाट्ससँग राजनीतिक मोलमलाइका लागि सीमा सुरक्षासँग जोडेर उक्त सहयोग रोकेको छ।
उता युरोपियन युनियनले दिने भनेको ५० अर्ब युरो सहायता हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर ओर्बानले रोकेका छन्।
यस्तो बेला अमेरिकी सरकारले पश्चिमा देशमा राखिएको ३०० अर्ब डलर भन्दा धेरै रुसी सम्पत्ति जफत गरी युक्रेनलाई सहयोग गर्ने छलफल थालेको हो।
फेब्रुअरी २०२२ मा युक्रेनमाथि रूसले आक्रमण गरेदेखि नै पश्चिमा देशमा राखिएको रुसी केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गरिएको छ।
त्यो सम्पत्ति जफत गर्नु अमेरिकी र अन्तराष्ट्रिय कानून प्रतिकुल हुने र यसले अन्य देशले पनि अमेरिकामा सम्पत्ति नराख्ने खतरा बढ्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। उनीहरूले अमेरिकाले कुनैपनि बेला सम्पत्ति जफत गर्न सक्छन् भन्ने भयले अन्य देशका नागरिकहरूले अमेरिकामा सम्पत्ती नै नराख्ने सम्भावना रहनाले सम्पत्ति जफत गर्न नहुने सुझाव दिएका छन्।
गर्नै परे अमेरिकी संसदबाट अथवा कुनै अन्तराष्ट्रिय संस्थामार्फत कानुन बनाएर मात्र गर्नुपर्ने उनीहरूको जिकिर थियो।
तर युक्रेनलाई दिइने सहयोगमा कमी आउन थालेपछी त्यसबारे कुरा अघि बढ्न थालेको हो। जर्मनीसहित अरू पश्चिमा राष्ट्र पनि रूसको सम्पत्ति जफत गरी युक्रेनलाई सहयोग गर्न सहमत देखिन्छन्।
जेलेन्स्कीले भर्खरै गरेको अमेरिका भ्रमणमा पनि यसबारे छलफल भएको थियो।
यसरी पश्चिमा देशमा राखिएको रूसी सम्पत्तिमध्ये लगभग ५ अर्ब मात्रै अमेरिकी संस्थाहरूको हातमा छन्।
तर रूसी सम्पत्तिको ठूलो हिस्सा अमेरिका र युरोपमा अमेरिकी डलरमा राखिएको छ। आफ्नो मुद्रामा लेनदेन गरिने सम्पत्तिको अमेरिकाले निगरानी र त्यसलाई रोक्का गर्न सक्छ।
पछिल्ला समयमा रुसमा रहेका अमेरिका लगायतका पश्चिमा कम्पनिहरूको सम्पत्ति कौडीको भाउमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकटका व्यक्तिले जबर्जस्ती किनिरहेको वा जफत गरेका कारणले पनि पश्चिमा देशहरूले रुसी केन्द्रीय बैंकको सम्पत्ति जफत गरी युक्रेनलाई सहयोग गर्नेबारे छलफल थालेको आकलन गर्न सकिन्छ।