संयुक्त राज्य अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण गरेको छ।
इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी) र त्यसका समर्थित विभिन्न विद्रोही समूहलाई लक्षित गरेर इराक र सिरियामा शुक्रबार अमेरिकाले हवाई आक्रमण गरेको हो।
समाचार संस्था रोयटर्सका अनुसार विद्रोही समूहलाई लक्षित गरी अमेरिकाले सात क्षेत्रका ८५ ठाउँलाई निशाना बनाएको थियो।
अमेरिकाले यसलाई जोर्डनमा भएको ड्रोन हमलाको प्रतिक्रिया भनेको छ।
गत साता जोर्डनमा भएको ड्रोन हमलामा परी तीन जना अमेरिकी सैनिक अधिकारीहरूको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी अन्य मानिसहरू घाइते भएका थिए।
इसराइल-हमास युद्ध सुरू भएदेखि अमेरिकी सेनामाथिको त्यो पहिलो आक्रमण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हमलामा इरान समर्थित विद्रोही समूहको हात रहेको बताउँदै ह्वाइट हाउसले त्यसको चाँडै प्रतिक्रिया दिने चेतावनी दिएको थियो।
शुक्रबारको हमलामा लामो दुरीको बी-१ बमवर्षकको प्रयोग भएको बताइएको छ।
अमेरिकी सेनाले ती हमलाहरू विद्रोही समूहको कमान्ड र कन्ट्रोल सेन्टर, हातहतियार भण्डारण गरिएका क्षेत्रहरूमा लक्षित रहेको बताएको छ। उसले सिरियाका ४ र इराकका ३ क्षेत्रमा हमला गरिएको जानकारी दिएको छ।
इराक र सिरियाले दुई देशको सिमानामा अमेरिकाले आक्रमण गरेको र केही मानिसहरूको मृत्यु समेत भएको जनाएको छ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला सुरूवाती मात्रै भएको बताएका छन्।
'हामीले जवाफी हमला सुरू गरेका छौं, यो आवश्यकता अनुसार जारी रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।