अमेरिकाको बाल्टिमोरमा मालबाहक पानीजहाज ठोक्किएर पुल भासिँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ।
मंगलबार साँझ बाल्टिमोरस्थित पाटाप्स्को नदीको 'फ्रान्सिस स्कट कि ब्रिज'को पिलरमा पानीजहाज ठोक्किएको थियो।
पानीजहाज पिलरमा ठोक्किएर सँगै पुल भासिएपछि पुलको मर्मत गरिरहेका ८ जना मजदुरहरू नदीमा खसेका थिए।
बिबिसीका अनुसार तीमध्ये २ जनालाई उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये १ जनाको स्वास्थ्य गम्भीर भएको अमेरिकी कोस्ट गार्डलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
बाँकी ६ जना भने अझै नदीमा हराइरहेका छन्।
'उहाँहरूको खोजीका लागि सबै प्रयासहरूलाई जारी राखेका छौं। तर अब जिवित भेटिनुहुन्छ भन्ने हामीलाई लाग्दैन,' अमेरिकी कोस्ट गार्डका एक अधिकारीले प्रेस ब्रिफिङमा भनेका छन्।
अत्यधिक चिसोका कारण उद्धार कार्य कठिन भएको पनि उनले बताएका छन्।
जहाज सञ्चालन गर्ने सिनर्जी ग्रुपले जहाजमा रहेका चालक दलका सबैजना सुरक्षित रहेको बताएको छ।
मेरिल्याण्डका गभर्नर वेस मुरले जहाज पुलको पिलरनजिक आइपुगेपछि चेतावनी जारी गरिएकाले तत्काल गाडीहरूलाई पुलतर्फ जान रोकिएकाले ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने खतरा टरेको बताए।
उनका अनुसार जहाज सिगर्ट मरीन टर्मिनलबाट श्रीलंकाको कोलम्बो जाँदै थियो।
पुलनजिक पुग्न लाग्दा जहाजको गति बढेको थियो। त्यसपछि जहाज आफ्नो रूटबाट विचलित भएपछि बत्ति निभेको थियो। बत्ती निभेपछि जहाजको फनेलबाट धुवाँ निस्कियो र एक्कासी पुलको पिलरमा ठोक्किएको थियो।
त्यसपछि पुलका भागहरू भाँचिएर नदीमा खसेका थिए। बुधबार बिहानसम्म ती भागहरू नदीमा डुबेकै अवस्थामा थिए।
दुर्घटनाको कारण र जहाजको अवस्थाबारे अनुसन्धान भइरहेको बताइएको छ।