यति नेपाली एशोसियसन यूकेले आयोजना गर्ने च्यारिटी कार्यक्रमम भाग लिन भन्दै गत साता लन्डन आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल च्यारिटी कार्यक्रमका बाहेक पार्टी कार्यकर्ताले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भइरहेका छन्।
गत शनिबार यति एशोसियसनको च्यारिटीमा प्रमुख अतिथिको रुपमा सहभागी बनेका नेता नेपाल आईतबार नेकपा आवद्ध पार्टी कार्यकर्ताको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सरिक भए।
शनिबार लण्डनको यति नेपाली एशोसिएसनको ग्रिनफोर्ड टाउन हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रम नेपालले युवा गायक मोक्तानले सुरू गरेको परोपकारी अभियानलाई हौसला प्रदान गर्न आफू लण्डनसम्म आइपुगेको बताए।
गैरआवासीय नेपालीहरुको लागि संविधानमै नागरिकताको व्यवस्था गरिएको उल्लेख गर्दै उनले आफ्नो मातृभूमिप्रतिको कर्तव्य नबिर्सिन सबै प्रवासी नेपालीहरुलाई आग्रह गरे।
भूपू गोर्खाहरुको विषयमा नेपाल सरकार गम्भीर रहेको तथा समस्या समाधानको लागि कुटनीतिक पहल सुरु भइसकेको भन्दै उनले छिट्टै समाधान निस्किने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएन युके अध्यक्ष योगकुमार फगामी लगायतले परोपकारी कार्यका लागि गायक मोक्तान र यति एशोसिएसनले गरेको पहलको प्रशंसा गरे।
कार्यक्रमका संयोजक तथा यति एशोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तानले सञ्चालन गरेको कार्यक्रममा ध्रुव केसीले स्वागत मन्तव्य दिए भने कार्यवाहक अध्यक्ष शशीधर नेपालले सहयोगीप्रति आभार प्रकट गरे ।
कार्यक्रममा मनोज गजुरेलको हास्यव्यंग्यका साथै गायक मोक्तानका गीत र नायिका मरिस्का पोखरेलको नृत्यहरुबाट मनोरञ्जन गराइएको थियो ।
कार्यक्रममा गायक हेमन मोक्तानले सुरु गरेको अध्यारोबाट उज्यालोतिरको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियानको उद्घाटन गरिएको थियो ।
दुर्गम भेगका विपन्न बालबालिकाको शिक्षामा सघाउने उद्धेश्यले गायक मोक्तानले सुरु गरेको यो अभियानमा सहयोग जुटाउन विश्वका अन्य मुलुकमा समेत पुगेर कार्यक्रम गरिने बताइएको छ।
त्यसैगरी पार्टी निकट प्रवाशी नेपाली मंचको आयोजनामा आईतवार अल्डरसटमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले पार्टी एकता, वर्तमान सरकारको जिम्मेवारी र जनअपेक्षा तथा प्रवाशी नेपालीहरुको भूमिका लगायतका बिषयहरु माथि बोलेका थिए ।
मंचका कार्यबाहक अध्यक्ष रामजी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेता नेपालले गैर आवासीय नेपालीहरुको नागरिकता निरन्तरता, बेलायती गोर्खा सैनिकको समानताको मुद्दा लगायतका बिषयमा आफूहरुको समर्थन रहेको बताएका थिए ।
मंचका महासचिव विजय लिंगदेनले संचालन गरेको उक्त कार्यक्रममा अन्य राजनैतिक दलका प्रतिनिधी लगायत सामाजिक अगुवाहरुको समेत उपस्थिती रहेको थियो । कार्य्रक्रम पूर्व एमाले र माओवादी आवद्द संगठनको संयुक्त आयोजनामा भएको थियो ।
यसैगरी नेता नेपाल सप्ताहन्तमा बेलायतमा बस्ने नेपाली मधेशी समुदायले आयोजना गरेको छठ कार्यक्रममा समेत सहभागी बनेका थिए ।
पूर्व प्रधानमन्त्री नेपाल आजै गोर्खा सत्याग्रह समितीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन्। कार्यक्रममा बोल्दै उनले गोर्खा समस्या समाधानमा नेपाल सरकार गम्भीर रहेको बताएका छन ।
नेता नेपाल नोभेम्बर २० मै नेपाल फर्किने बताईएको छ।