लन्डनमा एक नेपाली युवकको हत्या भएको छ। आईतबार राति काम सकेर घर फर्किने क्रममा लन्डनको इस्टकोट स्टेशन बाहिर नेपाली युवक विक्रम केसीको हत्या भएको हो।
प्रहरीले दिएको प्रारम्भिक सूचनाअनुसार सामान्य झगडा हुँदा भएको कुटपिटबाट केसीको मृत्यु भएको हो।
घटनापछि कुटपिटमा संलग्न एक जना २१ बर्षीय युवकलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
लण्डनको एउटा रेस्टुरेन्टमा सेफको रूपमा कार्यरत मृतक केसी र उक्त युवकबिचको वादविवादले कुटपिटको रूप लिँदा घटना घटेको बताईएको छ। झगडा के बारेमा शुरू भएको थियो भन्ने खुल्न सकेको छैन।
स्टेशन बाहिर झगडा र कुटपिटको दृश्यपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्वर्गीय केसीलाई बचाउने प्रयास असफल भएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको जानकारी दिँदै स्थानीय खबरमा जनाइएको छ। घटना सम्बन्धि कुनै सूचना अथवा जानकारी भए उपलब्ध गराउनसमेत प्रहरीले आव्हान गरेको छ।
मृतक केसीसँग व्यक्तिगत चिनजानसमेत रहेका लन्डनस्थित ब्यवसायी तथा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेनाले घटनाको पुष्टी गरेका छन्। 'राति करिब १० बजेतिर कामबाट फर्किने क्रममा अपरिचितसँगको अज्ञात विवादले झगडा र कुटपिटको रूप लिँदा यस्तो दुखद् घटना भएको पाईयो’, तिमल्सेनाले सेतोपाटीसँग भने।
परिवारसँगको सम्पर्कमा आवश्यक परामर्श र सहयोगको पहल भईरहेको उनले जानकारी दिए।
नेपालमा काठमाडौं घर भएका मृतक केसी आफ्नो श्रीमतीको साथमा विगत १४ वर्षदेखि बेलायत बस्दै आएका थिए। घटनापछि बेलायतको नेपाली समुदाय स्तब्ध बनेको छ।