सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सिस्टम भण्डारी हो। मेरो घर इलाम हो। अहिले कीर्तिपुरमा छ। एलआरआई स्कुलको कक्षा तीनमा पढ्छु।
अहिले विश्व लकडाउनले गर्दा सुनसान भइरहेको छ। हाम्रो देश पनि। यही कारण हामी सबै जना घरभित्र हुनु परेको छ। म पनि घरमै बस्ने गर्छु। बाहिर बाटोमा धेरै साथीहरु खेल्न गएको देख्छु तर मलाई अहिलेको समयमा ठीक लाग्दैन।
सुरूमा केही दिन त म पनि जान खोजेँ तर मामुबाबाले सबै कुरा भनेर सम्झाउनुभयो। अनि जान छाडेँ। त्यसपछि म दादादिदीहरू सँग सहयोग मागेर घरमा भएकाे विभिन्न पुराना सामग्रीहरूको प्रयोग गरेर नयाँनयाँ कुरा बनाउन सिक्न थालेँ।
यसै क्रममा मैले पुरानो कार्डबाेर्डबाट फूल राख्ने भास अनि पुरानो कागजको फूल बनाएर सजाउन सिकेँ। त्यस्तै पुरानो कागजबाट विभिन्न प्रकारका ढाकी पनि बनाएर घरमा सजाएकी छु। यसका साथै ढोकामा झुन्डाउने विभिन्न सामग्री पनि मामुका पुराना चुरा पोतेहरूबाट बनाउन सिकेँ।
त्यस्तै मैले सेतो कागजमा विभिन्न प्रकारका चित्र बनाउन सिकेँ। आज म तपाईंहरूलाई यो सबै देखाउछु नि ल।
यसका साथै मैले मामु र दिदीबाट भान्सामा गरिने सामान्य कामहरू पनि सिकेँ। जस्तैः प्याज काट्ने, गोलभेँडा काट्ने, तरकारी काट्ने, साना कपहरू पखाल्ने।
युट्युबमा हेरेर मामुसँगै मिठोमिठो खाने कुरा बनाउन पनि सिकेँ। मेरो मामुले मलाई अरू साथीहरू सँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने, कसरी खेल्ने अनि साथिहरूको बाबामामुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा पनि सिकाउनुभयो।
यसका साथै बाबाबाट ल्यापटप चलाउन र त्यसमा विभिन्न काम गर्न पनि सिकेँ। दादादिदीसँग एक छिन घरकै छतमा खेल्ने अनि धेरै कुरा सिक्ने अवसर प्राप्त गरेँ। म जस्ता धेरै साथीहरूलाई यो समय बाटोमा गएर धेरै जना भेला भएर खेल्ने बस्ने गर्नभन्दा घरमै बसेर यस्ता नयाँनयाँ कुरा सिक्न अनुरोध गर्छु।
अर्को सबभन्दा राम्रो कुरा अनलाइन कक्षा जब एलआरआईले सुरू गर्यो। म दिनको तीन घण्टा त्यसमै रमाउन थालेँ। मैले साथीहरूसँग बोल्ने, गफ गर्ने, म्यामहरूसँग सिक्ने अवसर पनि पाएकी छु।
अहिले त म आफैं ल्याटपमा जुम कनेक्ट गर्ने आफैं क्लास सुरू गर्ने र आफैं गुगल क्लासबाट होमवर्क हेर्ने, गर्ने र सबमिट गर्न थालेकी छु। यो मौकाको लागि मेरो विद्यालयलाई धेरै धन्यवाद। मेरो बाबामामुलाई पनि धन्यवाद भन्छु।
मैले त यो समयलाई ठूलो मौकाको रूपमा धेरै कुरा सिक्न पाएँ। म अरू साथीहरूलाई पनि समय सदुपयोग गर्न अनुरोध गर्छु।
अन्त्यमा अहिलेको समस्याबाट बच्न घरमै बसौं, साबुनपानीले हात धोइ राखौं। सफा भएर बसौं। बाहिर धेरै नकुदौं। आफ्नाे परिवारसँग रमाउँ, आफू पनि बचौं र अरूलाई पनि बचाउँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)