सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सुप्रभ आचार्य हो। सिफल माध्यमिक विद्यालयमा कक्षा ५ को परीक्षा दिएर बसेको छु। कोरोनाको कारण मेरो परीक्षाको नतिजा चैत २५ गते हुने भनिए पनि रोकिएको छ। परीक्षा राम्रै गरेकाले नतिजा नआए पनि कक्षा ६ मा पढ्न पाउने आशा छ।
कोरोना भाइरसले अहिले विश्वमै नराम्रो असर परेकाले मलाई विद्यालय जान मन लागे पनि धेरै दुःख भने लागेको छैन। यो भाइरसबाट बच्न सामाजिक दुरी राख्नुपर्ने र एकान्तमा बसेर आफूलाई सुरक्षित राख्नुपर्ने रहेछ। विभिन्न मिडियाबाट आएका समाचार सुनेर र पढेर म जान्ने भएको छु।
मेरो परीक्षा सकिएपछि बाबामामुले कतै घुम्न जाउँला भन्नुभएको थियो। मामुबाबा दुवै गैरसरकारी संस्थामा काम गर्ने भएकाले हामीले पहिले नै योजना नबनाए घुम्न जान पाइन्न। प्रायः मेरो छुट्टी हुँदा पनि उँहाहरूको बिदा नमिल्ने भएकाले बाहिर घुम्ने सम्भावना कमै हुन्थ्यो। कहिलेकाहीँ मामाघर जाने र अरू बेला घरमै समय बिताउने मलाई बानी परिसकेको छ। मामुबाबाको समय मिलेका बेला भने हामी काठमाडाैं, भक्तपुर नजिकैका रमणीय ठाँउ घुम्न जान्थ्यौं। लकडाउन कारण यो पटकको वार्षिक बिदा अलि फरक तरिकाले बितिरहेको छ।
मामुबाबासँग लामो समयसँगै बसेको यो मेरो पहिलो अनुभव हो। मामुबाबा पनि चैत १० गतेदेखि अफिसको काम घरबाटै गरिरहनुभएकाले उँहाहरूसँग दिनभरी बस्न पाएको छु। सञ्चार प्रविधिका कारण यो लकडाउनमा मामुबाबाले घरबाटै अफिसको कार्य गरिरहन पाउनुभएको छ। बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उहाँहरू काममै व्यस्त हुनुहुन्छ।
घरमा हामीसँगै भए पनि मलाई दिन कटाउन हैरान हुन्छ। धन्न बाबाको मोबाइल र भर्खर किनेको ल्यापटप छ। युट्युबमा भएका भिडिओ र मोबाइल एप्समा आउने सामग्री हेरेर दिन बित्ने गरेका छन्। योबाहेक मामुबाबाले सुन्ने, पढ्ने र हेर्ने खबरका कुराहरूको छलफल सुन्छु। उँहाहरू घरी आर्थिक मन्दी र संकटको कुरा गर्नुहुन्छ। घरी रोजगार र रेमिट्यान्सका कुरा। मलाई पनि यस्ता कुरा हेर्न, पढ्न र बुझ्न सुझाउनु हुन्छ।
बिहान उठेदेखि प्रायः मोबाइल र कम्प्युटरमै व्यस्त हुने भएकाले यस्ता जानकारीमूलक कुरा हेर्न सुझाउनु भएकाे छ। लामो समय यसरी बिताउँदा हामीलाई हानी पुर्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि बाहिर जान नपाइने भएकाले यिनै कुरा मेरा साथी भएका छन्। बाबामामुले गरेका कुरा सुन्दा मलाई लाग्छ– अब मेरो देश लगायत संसारमा धेरै कुराको अभाव हुनेछ। मानिसहरू काम नपाएर समस्यामा पर्नेछन्। देशमा आम्दानीको स्रोतका थोरै मात्र उपाय छन्। अबका दिन कसरी बित्ने होलान् भन्ने लाग्छ।
मेरो बाबा बिहान र बेलुका प्रायः घरको छतमा गएर यताउती हेर्नुहुन्छ। कहिलेकाहीँ नजिकैको मनोहरा र हनुमन्तेको दोभानमा हिँड्डुल गर्नुहुन्छ। मलाई भने यस्तो बेलामा बाहिर गएको मन पर्दैन। बाबालाई घरमै बस्न अनुरोध गर्छु। बाबा छतमा गएर के गर्नु हुने रहेछ भनेर एकदिन सँगै जान मन लाग्यो।
बाबालाई ‘दिनदिनै के हेर्नु हुन्छ?’ भनेर सोधेँ। उहाँले मलाई छतबाट चारैतिरर हेर्न भन्नुभयो। यसरी घरको छतबाट काठमाडौंको सुन्दरता नियालेको थिइनँ। सधैं धूलोधुँवाले आकाश ढाकेको हुन्थ्यो। त्यो दिन भने मैले वरिपरिको दृश्य मनमोहक देखेँ।
बेलुका भए पनि खुलेको निलो आकाश, उत्तरतर्फ सेत्तै हिमाल, हरियो फुल्चोकी डाँडा, चन्द्रगिरि, गोदावरी नगरपालिकामा पर्ने सन्तानेश्वर मन्दिर चिन्ने मौका पाएँ। यस्तो रमाइलो दृष्य देखेपछि मैले काठमाडौंको वरिपरि त कति राम्रो रहेछ भनी बाबालाई भनेँ। बाबाले पनि धूलोधुँवा, प्रदूषणले यस्तो राम्रो दृष्य देख्न नपाइएको र स्वच्छ हावा लिन नपाएको गुनासो गर्नुभयो।
मैले विद्यालयको सामाजिक शिक्षा विषयमा पनि नेपाल प्राकृतिक, धार्मिक, सामाजिक सांस्कृतिक र ऐतिहासिक हिसाबले धनी देश भनेर पढेको थिएँ। यहाँ विभिन्न भाषा, जात, धर्म, लिंग र भेषभूषा लगाउने मानिस छन्। हिमाल पहाड र तराईमा बस्ने मानिसको आ–आफ्नै रहनसहन र भेषभूषा छन् भन्ने मलाई शिक्षकले पनि भन्नुभएको थियो।
विश्व प्रख्यात हिमाल सगरमाथा, कञ्चनजंगा, गणेश, अन्नपुर्ण, धौलागिरि हिमाल मेरो देशमा भएको र हिमालको देश भनेर विश्वले चिन्ने कुरा मैले विद्यालयमा सिकेको थिएँ। त्यस्तै विभिन्न प्रकारका लेक, बेशी, हरिया डाँडा, चुरे पनि मेरो देशमा छन्। प्रसिद्ध धार्मिकस्थल पाथिभरा, मनकामना, पशुपतिनाथ, मुक्तिक्षेत्र, हलेसीले पनि देशमा पर्यटक भित्राउने कुरा मलाई थाहा छ। मेरो देश गौतम बुद्धको देश हो भन्ने पनि मलाई थाहा छ। जनकपुरमा रहेको रामजानकी मन्दिर पनि मेरो देशमा पर्छ भन्ने पनि मलाई थाहा छ।
मेरो देशमा लोप हुन लागेका एकसिंगे गैंडादेखि रातो हाब्रेसम्मका जंगली जनावर पाइन्छन्। लालीगुराँस, गुलाबी गुराँस र सेतो गुराँस पाइने मेरो देशमा रारा ताल, शे—फोक्शुण्डो, तालबाराही, रुपा, बेगनास ताल, पातले छाँगो, अपर मुस्ताङ, सुन्दरी जल जस्ता झरनाहरू भएकाले आन्तरिक र बाह्य पर्यटक आउँछन्। प्राकृतिक रूपमा धनी मेरो देशमा विश्वका मानिसहरू अवलोकन तथा मनोरन्जनका लागि आउने भएकाले देशलाई आर्थिक रूपले धनी पार्छ।
यस्तै प्रख्यात कुराहरूले गर्दा सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। विभिन्न कार्यक्रम गरेर पर्यटक भित्र्याइरहेका बेला चीनको वुहान सहरबाट कोरोना भाइरस फैलियो। विश्वका २०० भन्दा बढी देशमा फैलिँदै महामारीको रूप लिएको छ। कोरोनाका कारण मानिस बिरामी भएको र केहीले ज्यान गुमाएको समाचार सुन्नु मलाई सारै नरमाइलो लाग्छ। सबै देशका सरकार आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने र कोरोनाको संक्रमणबाट बचाउने भन्नेमा काम गरिरहेका छन्।
नेपाल पनि लकडाउनमा छ। यहाँबाट विदेशी आफ्नो देश फर्किरहेका छन्। नेपाली पनि हिँडडुल गर्न, काम गर्न र विदेश जान पाएका छैनन्। आफ्नो देशको महत्वपुर्ण कुरा प्रचार गरी देशको आम्दानी बढाउने सरकारको योजना पनि विफल भयो। किसानहरूले पनि खेती लगाउन पाएका छैनन्। दिनदिनै काम गरेर खाने मानिसले पनि खान पाएका छैनन्। व्यापार, अफिस सबै बन्द छन्।
नयाँ वर्षमा जताततै भिडभाड हुने देशमा आजभोलि सुनसान छ। यस्तो अवस्थामा हामी सबैले के गर्ने होला, कसरी खानेकुरा पाउने, कहिले अवस्था सामान्य होला? देशमा विदेशी पाहुना कहिले घुम्न आउने होलान् र हामी पनि कहिले घुम्न जाने होला भनेर सोचिरहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)