सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कुरा लगभग तीन वर्ष अघिको हो। त्यतिखेर मेरो सहोदर भाइबहिनी थिएनन्। म घरमा आमाबाबाको एक्ली छोरी थिएँ।
एक दिन बाबाले मेरो भाइ वा बहिनी हुने खुसीको कुरा मलाई सुनाउनुभयो। म उत्साहित हुँदै स्कुलतर्फ लागेँ। बाबाले मलाई यो कुरा कसैलाई नभन भन्नुभएको थियो। तर, मैले स्कूलमा मेरा सबै साथीलाई भनेकी थिएँ। मैले त बहिनी नै होस् भन्ने मनमनै चाहेकी थिएँ र बहिनी जन्मिन्छ होला भनेर ढुक्क पनि थिएँ। तर मलाई भाइ जन्मिन्छ भन्ने के थाहा र।
मैले बहिनीको कपाल बाट्ने, पुतली खेल्न दिने, फ्रक लाइदिने सपना देख्न थालिसकेकी थिएँ। म हरेक समय आफ्नै बहिनी भएको अनुभव कस्तो होला भन्ने कल्पना गर्थेँ। अर्को दिन मैले बहिनीको नाम समेत सोच्न भ्याएको थिएँ। मेरो दिमागमा धेरै नामहरु आए। तर कुन नाम पो राख्ने होला भन्ने अलमलमा परेर नाम राख्ने जिम्मा मैले हजुरबुवालाई छोडेँ।
बहिनीलाई म काखमा खेलाउँछु जस्तो हरेक पल लागिरहन्थ्यो। सानी बहिनीलाई गुलाबी रङको फ्रक किनेर लगाइदिने मलाई ठूलो रहर थियो।
केही दिनपछि डक्टरको रिपोर्ट पनि आयो। बहिनी नै जन्मिने कुरा पक्का भयो। म फुरूंग भएँ। दुई चार दिनमै बिदेशमा बस्ने मेरी कान्छी ठूली आमाले मेरी बहिनीका लागि भनेर नयाँ लुगा पठाइदिनु भएको थियो। राम्रा राम्रा फ्रकहरू थिए। त्यसमा गुलाबी फ्रक पनि थियो। त्यो फ्रक देखेर मलाई बहिनीको रहर अझै बढ्दै गयो।
समय चाँडै बित्दै गयो र मेरी आमाको नौ महिना पूरा भयो। उहाँ अस्पताल जानुभयो। भदौ २०, २०७३ साल को दिन स्कूलबाट फर्किँदा म स्कुल बसबाट ओर्लने बित्तिकै हजुरबुवाले भाइको जन्म भएको खबर सुनाउनुभयो।
त्यो सुन्नासाथ म बाटोदेखि नै रुँदैकराउँदै घर आएँ। मलाई भाइ जन्मेको विश्वास नै भएन। डक्टरको रिपोर्टमा पनि कहिल्यै गल्ति हुन सक्छ र?
म घण्टौंसम्म रोएँ। मलाई सबैले मिलेर फकाएपछि म केही शान्त भएँ। हजुरआमाले मलाई माया गरेर सम्झाउनुभयो। डक्टरको रिपोर्टमा कहिलेकाहीँ फरक पर्न सक्छ रे।
अस्पतालमा मैले भाइलाई नजिकबाट देखेँ। ऊ मस्तसँग निदाइरहेको थियो। मलाई निदाइरहेको भाइ साहृै मन पर्यो। बहिनी भएको भए अझै रामो लाग्ने थियो र रहर पनि थियो। तर मलाई मेरो भाइ नै मन पर्न थाल्यो।
अर्को दिन भाइको घरमा प्रवेश भयो। उसलाई सबैले काखमा बोके। मैले पनि भाइलाई सकीनसकी बोकेँ। त्यसपछि भाइ असाद्धै 'क्युट' लाग्यो।
न्वारानमा हजुरबुवाले होइन, आमाले नै मेरो नामसँग मिलाउँदै भाइको नाम ऋतव्य राखिदिनुभयो।
मेरो भाइ सधैं बन्ने छ मेरो छाया। म उसको गर्छु धेरै माया।
(ऋतम्भरा ढुंगाना, पाठशाला नेपाल फाउन्डेशन, नयाँ बानेश्वरमा कक्षा ६ मा पढ्छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)