सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आदित्य महत हो। म एपेक्स लाइफ स्कुल, कपन, काठमाडौंमा कक्षा ५ को अन्तिम परीक्षा दिएर बसेको छु। अब कक्षा ६ जानेछु। विश्वभर फैलिएको कारोना भाइरसका कारण अहिले स्कुल बन्द छ। म घरमा सुरक्षित बसिरहेको छु। हाम्रो देशका प्रधानमन्त्री के.पी शर्मा ओली ज्यूले पनि हामीलाई घरमै सुरक्षित बस्नु भन्नुभएको छ। त्यसैकारण मलाई बाहिर जानु हुँदैन भन्ने लागेको हो।
कोरोना भाइरस कारण धेरै मान्छेको निधन भइसकेको छ। हाम्रो देशमा पनि अहिलेसम्म १६ जनामा यो रोग देखिएको छ। रोग लागेको मान्छेलाई अरूले छुँदा र उसले हाच्छिँउ गर्दा थुकबाट सर्ने यो अचम्मको रोग हो। यसैले हामीले अरुलाई छुन हुँदैन र टाढा बसेर मात्र गफ गर्नुपर्छ।
कोरोनाका कारण घरमा बस्न दिक्क त लाग्छ नि। आफूलाई 'बोर' नहोस् भनेर घरमै बसेर रमाइला काम गरिरहेको छु। मलाई भिडिओ बनाउन मनपर्छ। मेलै कोरोनाबारे एउटा भिडिओ बनाएँ, जसले कोरोनाबारे बताउँछ। माथिका कुरा पनि मैले भिडिओ बनाउँदा गुगलमा खोज्दा थाहा पाएको हो। मलाई खाना पकाउन पनि मनपर्छ। आमालाई किचनमा पनि सहयोग गर्छु। अम्लेट, चिया, पानीपुरी जस्ता खाना बनाउँछु।
खाना बनाएको भिडिओ पनि युट्युमा राखेको छु। मेरो च्यानल मेरै नाम 'आदित्य महत' मा छ। तपाईंहरूले पनि हेरिदिनुहोला। यसबाहेक बाबाआमासँग घरमै बसेर क्यारमबोर्डसमेत खेल्छु। आमालाई जित्न सके पनि बाबासँग भने हारिहाल्छु। आमाले किनिदिनुभएको सानो ड्रोन पनि उडाउँदैछु। ड्रोन धेरै पर नउडोस् भनेर कोठाभित्रै उडाउँछु।
लकडाउनमा घर बस्दा पाँचवटा पेन्टिङ बनाएँ भने मलाई मामाले उपहार दिन्छु भन्नुभएको छ। मैले अहिलेसम्म आदिकवि भानुभक्त, मेरो आमा र मामाको स्केच बनाइसकेको छु। अब बाँकी ३ वटा के बनाउने सोचिराछु।
मेरो दिन यसरी नै बितिरहेको छ। मामाघर, ठूलीआमाको घर र काकाको घर नजिकै भए पनि गएको छैन। किनभने कोरोनाबाट बच्नु छ। कोरोनाबाट बच्न घरमै बस्नु नै सबैभन्दा राम्रो 'आइडिया' हो।
साबुनपानीले हात धोएर, हातमा स्यानिटाइजर लाएर, सफा खानेकुरा खाने र सरसफाइमा ध्यान दिए कोरोनाबाट बच्न सकिन्छ। कोरोना चाडैं संसारबाट सकियोस् र स्कुल जान पाउँ भन्ने मन छ। मामाले दिने प्राइज पनि चाँडै पाउन मन छ। पिज्जा खान पनि मन छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)