सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अग्रता पोख्रेल हो, १० वर्षकी भएँ। माघ १५ गते बर्थ-डे थियो। मलाई कम्प्युटरमा नेपाली लेख्न कति पनि आउँदैन। सेन्ट-जेभियर्स स्कुलमा कक्षा ४ को परीक्षा दिएर दाङ घरमा आएकी छु। पहिलेको वर्ष रिजल्ट लिन स्कुल गएका थियाैं। यो पटक बाबाको मोबाइलमा रिजल्टको खबर मात्रै पायौं। म पास भएँ। बाबाले र ममीले कुनै रोगको हल्ला चलेको छ भनेर स्कुल जान नमिल्ने र कतै पनि नजाने भन्नुभयो।
म ललितपुरको कुसुन्तीमा भाइ, बाबा र ममीसँग बस्छु। सानो भाइ तीन वर्षको भयाे। मैले मायाले 'कुटु' नाम राखेकी छु। कुटुसँग खेलेर केही दिन फ्ल्याटमा नै बिताएँ। मामाले ममीको मोबाइलमा कल गरेर मोबाइल र ट्याब्लेटमा धेरै गेम नखेल्न भन्नुहुन्छ। कुनै बेला त खेल्छु। मामाले 'तिमीले दिनदिनै के गर्छौ?' डायरीमा लेख भन्नुभयो। मेरो फेसबुक आइडी पनि छ।
स्कुल छुट्टी भएपछि केही दिनमा हामी दाङ घर फर्कियौं। म अहिले घरमा हजुरबुवा-हजुरमुवासँग बसिरहेकी छु।
पोहोर साल स्कुल छुट्टी हुँदा ममीबाबा र मामासँग खबै घुम्न गए। तर यो वर्ष कतै घुम्न नपाइने भएर घरमै बसेकी छु। हजुरबुवाले रामायण पढेर सुनाउनुहुन्छ। यो किताबमा भगवानका कुरा-कथा सुन्न खुब मज्जा आउँछ। तर सानो भाइले पढ्न थालेकाे किताब च्यातेर सताउँछ। हजुरमुवाले घरमा के-के खानेकुरा पाएर खुवाउनुहुन्छ। मैले उता बस्दा यस्तो खानेकुरा खान पाउँदैनथे। यहाँ गाउँमा घर अगाडि नै इनार छ। म विहानै हजुरमुवासँगै उठेर नुहाउँछु।
अनि मलाई बुढो मामा हजुरबुवाले कल गरेर बिहान उठेर भजन गाउन सिकाउनु हुन्छ।
'श्रीमन् नारायण नारायण नारायण, भजवन नारायण नारायण...' भजन लामो हुन्छ। सबै सम्झन सक्दिनँ। तर ताली बजाउँदै भजनमा नाच्न खुब रमाइलो लाग्छ।
यहाँ आएदेखि घरभन्दा बाहिर जानै पाएकी छैन। मेरा अरू साथीहरू सबै काठमाडौंमा छन्। उनीहरूको ममीबाबाको मोबाइल नम्बर सम्झिएर कल गर्छु। उनीहरू पनि घरभन्दा बाहिर गएका छैनन् रे।
मैले डायरी लेख्न थालेको १९ दिन भयो। सबै कुरा लेख्छु भनेको साँझ पर्दा कति कुरा बिर्सन्छु। घरमा एउटा कुकुर छ। भैंसी पनि छ। बिरालो छ। बिरालोले एक दिन दूध चोरेर खाएको देखेँ। अनि हजुरमुवालाई भनेँ।
अष्ट्रेलियामा भएकी सानी अन्टीसँग भिडिओ कल गर्दा बल्ल थाहा पाएँ, 'कुनै भाइरसले गर्दा सबै ठाउँमा मान्छेहरु घरमै बसिरहेका छन्।'
अब कहिले काठमाडाैं जाने भन्ने पनि थाहा छैन। 'स्कुल कहिलेदेखि हो' भनेर बाबालाई सोधिरहन्छु। बाबाले खबर आउँछ मात्रै भन्नुहुन्छ। म आजकल धेरै नाचेर समय बिताउँछु। गीत र भजन गाउँछु। मेरो मन पर्ने गीत 'कुटुमा कुटु सुपारी दाना' हो। यो गीत बज्ने बित्तिकै मेरो सानो भाइ पनि मसँगै नाच्छ।
सुर्खेतमा भएकी फुपू र घोराहीमा भएकी फुपूसँग भिडिओ कलमा कुरा गर्छु। नेपालगन्जमा भएका मामासँग पनि कुरा गरिरहन्छु। भिडिओ कल गर्दा मामाले चुकुल लगाएर चुपचाप बसिरहेको देख्थेँ। 'के गरेको मामा चुपचाप?' भनेर गिज्याउँथे। मामासँग पनि भेट भएको छैन। त्यसरी बसेको त ध्यान गर्न पो हो रे। म एकछिन बस्छु तर चुपचाप बस्न सक्दिनँ। अनि उठेर भाग्छु।
यता गाउँमा रूख, विरूवा, फूल धेरै छन्। साँझतिर फूलमा पानी राखिदिन्छु। फूल टिप्नु हुँदैन भन्नुहुन्छ हजुरमुवा। तर मलाई राम्रा राम्रा रंगीन फूलहरु टिप्न मन लाग्छ।
अब कहिलेदेखि कक्षा ५ काे नयाँ कक्षाकोठामा पुग्ने होला? नयाँ किताबमा के-के पढ्ने होला? भनेर मनमनै सोचेर घरमा बसेकी छु। हजुरबुवाले धेरै पटक साबुनपानीले हात धुन भन्नुहुन्छ। टिस्यु पेपर, स्यानिटाइजर सकिएको छ यहाँ।
मैले लेखेको डायरीको पेज मामाले फोटो खिचेर पठाऊ भन्नुहुन्छ। म बाबा र ममीकाे मोबाइलबाट डायरी लेखेको फोटो खिचेर पठाउँछु। स्कुलमा धेरै अंग्रेजीमा लेख्नुपर्छ। नेपाली राम्रो बनाउन डायरी लेख्छु।
'थ्यांक्यू' को सट्टा आजकल धन्यवाद भन्न पनि सिकेकी छु।
धन्यवाद!
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)