सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
किताब शब्द मलाई सार्है मनपर्छ। यो मेरो प्रिय साथी हो। आमा भन्नुहुन्छ, 'अक्षर चिन्नुभन्दा पहिलै म किताबका रंगीचंगी चित्र हेरेर रमाउँथे।'
विद्यालय गएपछि किताब पाएर म कति रमाएँ रे। मलाई किताबका कथा, चित्रहरू सार्है मनपर्थ्यो। आमाले बाल कथाहरू पढेर सुनाउँदा म कति खुसी हुन्छु।
जन्मदिनमा उपहार पाएका किताब म दोहोर्याइतेहेर्याइ पढ्छु। किताब प्रतिको मेरो लगाव देखेर मेरा अभिभावकहरूले अंग्रेजी, नेपाली भाषाका किताब ल्याइदिनुहुन्छ। विद्यालयमा पनि पुस्तकालय जाने समय कहिले हुन्छ भनेर कुरिरहन्छु।
ठूली भएसँगै किताब पढ्ने बानी झन् बढदै गयो। म विद्यालयका र बाहिरी अरू किताब समय तालिका मिलाएर पढ्छु। परीक्षाको नतिजा पनि राम्रै ल्याउँछु। त्यसैले पनि धेरै किताब पढी भनेर कसैले रोक्ने गरेको छैनन।
जब कुनै किताब पढ्न थाल्छु, म एउटा अलग्गै संसारमा पुग्छु। त्यो संसार जहाँ सम्भावनाको कुनै अन्त्य छैन। मलाई वास्तविक संसारको पनि कुनै चिन्ता हुँदैन। एउटा मात्र समस्या हुन्छ- मलाई किताब हातबाट फुत्काउनै गाह्रो हुन्छ।
कहिलेकाहीँ अरू काम गरिरहँदा पनि किताबी दुनियाँमा हराउन मन लाग्छ। म आफ्नो मनलाई काबुमा राखिहाल्छु। अनि जर्ज आर मार्टिनले भनेको एक भनाइ सम्झिन्छु, 'जसले किताब पढ्छ, उसले हजार जिन्दगी जिउँछ। जसले पढ्दैन, उसले एउटा मात्र जिन्दगी जिउँछ।'
मलाई पनि यो साच्चै हो जस्तो लाग्छ।
केही महिनाअघि मैले मामाबाट 'किन्डल' उपहार पाएँ। त्यसको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। किन्डलले गर्दा धेरै पुस्तक एउटै यन्त्रमा अटाएर पढ्न पाएँ। तर पाना पल्टाएर पढ्नुजस्तो मज्जा औंलाले 'स्वाइप' गरेर पढ्नुमा रहेनछ।
अहिले लकडाउनमा किताब पढ्ने बानी बरदान साबित भयो। पढ्ने बानीका कारण मलाई एकछिन पनि झर्को लागेन। मसँग हरपल मेरो प्यारो साथी किताब हुन्छ नि त।
(अनोमा तुलाधर बुढानिलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)