सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार!
मेरो नाम आयाम पौडेल हो। म मेरिडियन इन्टरनेशनल स्कुलमा कक्षा ५ को परीक्षा सकेर बिदामा छु। विश्वभर फैलिएको कोरोना भाइरसको आतंकले गर्दा हाम्रो स्कुलको परीक्षा पनि एक हप्ता अगाडिदेखि सुरू भएको थियो। राम्रोसँग तयारी गर्न समय भएन भन्ने लागेको थियो। तर पनि परीक्षा ठिकै भयो।
चैत्र ५ गतेदेखि हाम्रो बिदा सुरू भयो। यस्तो लामो बिदामा म, बाबा र मामु कहिले कालिञ्चोक त कहिले दार्चुला, डडेल्धुरा, दिपायल, महेन्द्रनगर लगायतका सुदूरपश्चिमका क्षेत्र गएका थियौं। बाबा र मामुको अफिसको समय नमिल्दा चन्द्रगिरि हिल्स, गोदावरी आदि ठाउँमा जान्थ्यौं। यस पटकको बिदामा भने कतै घुम्न जान पाइएन।
हाम्रो गाउँको घर वा मामाघर कहाँ जाने भन्ने छलफल हुँदै थियो। सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरिदियो। म घरबाहिर खेल्न जानसमेत नपाउने भएँ। यो समाचारले मलाई दु:खी बनायो। सरकारले भनेको मान्नुपर्ने भयो। फेरि यो लकडाउन हामीहरू सबैको सुरक्षाको लागि नै हो।
घरमा मामुबाबा र म दिनभरी कहिले चेस खेल्ने, कहिले लुँडो त कहिले क्यारमबोर्ड खेल खेल्दै आएका छौं। कहिले फिल्म हेर्छौं भने कहिलेकाहीँ गीतमा अन्ताक्षरी खेल्छाैं। मामुले मलाई रोटी बनाउन पनि सिकाउनुभएको छ। हरेक बेलुका मैले रोटी बेल्छु, मामुले पकाउनुहुन्छ। हाम्रो कम्पाउन्ड तथा छतबाट छिमेकी दादा, भाइ र बहिनीसँग कुरा गर्न मिल्छ। समय समयमा हामीले दोहोरी खेल तथा रमाइला गफसमेत गर्छौं।
अप्रिल ४ मा हाम्रो परीक्षाको नतिजा आउने दिन भए पनि स्कुल जाने कुरा भएन। म्याडमले भाइबरबाट नतिजा पठाइदिनुभयो। ४.०० जिपिए ल्याएर पास भएछु। खुसी छु। नयाँ किताब किन्न जान मिल्दैन अहिले। बाबाले मेरै स्कुलमा पढ्ने प्रमिशा दिदीबाट कक्षा ६ का किताब ल्याइदिनुभएको छ। छिमेकमै दिदी भएकाले सजिलो भयो। लामो समय लकडाउन खुलेन भने हाम्रो स्कुलले पनि इन्टरनेटबाट पढाउने भनेको छ।
अन्त्यमा, म यो भन्न चाहन्छु कि सरकारले गरेको निर्णयकाे पालना गरौं। नियमित हात धुने गरौं अनि घरमै बसौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)