सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अदिती केसी हो। मेरो घर घोराही उपमहानगरपालिका-७ पर्सा, दाङमा हो। म १० वर्षकी भएँ। ज्ञानमाला एकेडेमीमा कक्षा ४ को परीक्षा दिएर बसेकी छु।
यो लामो लकडाउनमा धेरै रमाइलो भइरहेको छ। लकडाउन हुनुभन्दा पहिले परीक्षा सकेर मामाघर गएकी थिएँ। मामाघर गएको केही दिनपछि लकडाउन सुरू भयो। त्यसैले, केही दिन त्यही बस्नुपर्यो। तै पनि मामामाइजू र हजुरआमा, हजुरबुवासँग रमाइलो गरेर बसियो।
लकडाउन सुरू भएको केही दिनपछि बाबा हामीलाई लिन आउनुभयो। हामी बिहानै घर फर्कियौं। घर फर्केपछि झन् रमाइलो लाग्यो।
टिभी हेरेँ, मोबाइलमा विभिन्न काम लाग्ने कुराहरू हेरेँ। ममीले विभिन्न मीठा परिकार बनाएर खुवाउनुहुन्छ।
मेरो घर पछाडि ठूलो फूलबारी छ। त्यहाँ हजुरबुवाले रोपेका धेरै रूखविरुवा छन्। म र बहिनी उन्नती त्यहाँ गएर साना आँपका रूखमा चढ्छौं। कहिलेकाहीँ त्यहाँ ड्राइ पिकनिक पनि गर्छौं।
हाम्रो बारीमा धेरै चना फलेको छ। बोर लाग्यो भने बारीमा गएर चना खान्छौं। घर अगाडि ठूलो खाली ठाउँ छ। हामी त्यहाँ जान्छौं, खेल्छौं र फ्रेस हुन्छौं। हाम्रो घरमा चारवटा बाख्रा छन्। म र बहिनी हजुरआमासँग बाख्रा हेर्न जान्छौं, पाठापाठी खेलाउछौं। यस्तो बेला धेरै रमाइलो लाग्छ। हजुरआमासँग पुराना कुराहरू सुन्छौं। यसबाट हामीले धेरै कुरा सिक्न पाएका छौं।
यसका साथै म कथा पढ्छु, लेख्छु, पेन्टिङ गर्छु। बहिनी पनि मसँगै कथा लेख्ने, पेन्टिङ गर्ने गर्छिन्। म र बहिनी मिलेर कागजका फूलहरू बनाएका छौं। ती फूलहरू घरका भित्तामा टाँसेका छौं।
मैले कहिलै पनि बाबासँग यति धेरै समय बिताएको थिइनँ। बाबा पत्रकार भएकाले म नउठ्दै रिपोर्टिङ गर्न जानुहुन्थ्यो र राति ढिला आउनुहुन्थ्यो। अहिले बाबासँग विभिन्न कुरा सिक्न, खेल्न र रमाउन पाएका छौं। यसले मलाई साह्रै खुसी बनाएको छ। ममीसँग जाँतोमा दाल पिस्ने र बारीमा तरकारी टिप्ने काम पनि गर्छौं। यसरी समय बितेको थाहै हुँदैन।
बेलाबेला टिभीमा कोरोना सम्बन्धी विभिन्न सन्देशमूलक कार्यक्रम र समाचार सुन्छौं। डाक्टरहरूले दिएका सल्लाहअनुसार बेलाबेला साबुनपानीले हात धुन्छौं। कोरोनादेखि डराएर मात्रै बस्नेभन्दा केही रमाइला काम गरेर समय बिताउनु पर्छ। हामी सबै सचेत बनौं, अरुलाई पनि सचेत बनाऔं र रमाइलो तरिकाले लकडाउन बिताऔं।
हामीले लकडाउनमा के के गर्न सक्छौं ?
हामी खानेकुराका नयाँ–नयाँ परिकार बनाउन सिक्न सक्छौं। बिहानै उठेर शारीरिक व्यायाम गर्न सक्छौं। लामो समय घर बस्दा अल्छी लाग्छ। यस्तो बेला कोठा सरसफाई गर्न सक्छौं। आफू पढ्ने टेबल मिलाएर राख्न सक्छौं। कपडा मिलाएर राख्न सक्छौं। यसले समयको सदुपयोग हुन्छ र काम पनि बन्छ। हामी आफ्नो आमालाई भान्सामा सघाउन सक्छौं।
कथा लेखेर सुनाउन सक्छौं। पुराना फोटा हेरेर पुराना याद स्मरण गर्न सक्छौं। साथी वा आफन्तलाई फोन या भिडिओ कल गर्न सक्छौं। पेन्टिङ गर्न सक्छौं। युट्युबमा हेरेर विभिन्न सिर्जनशिल काम पनि गर्न सक्छौं। घर वरिपरि फराकिलो ठाउँ भएमा यताउती हिँड्डुल र केही काम गरेर शरीर क्रियाशील बनाउन सक्छौं। यसका साथै नाच्न सक्छौं। यसरी विभिन्न राम्रा काम गरेर समय बितायौं भने केही चिन्ता हुँदैन।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)