सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आजभोलि मेरो विद्यालय लकडाउनले गर्दा बिदा छ। म बुनुको स्याहारमा रमेकी छु। एकदिन म बुनुलाई खेलाउँदै थिएँ। ममी भान्साको काम गर्दै हुनुहुन्थ्यो। बुनु भर्खर छ महिनाकी भइन्। ममीले मलाई 'बुनु हेर है। म भान्साको काम सकाएर आउँछु,' भन्नुभयो। मैले हस् भनेँ र बुनुसँग बसेँ।
बुनुसँग खेलेँ, रमेँ, हसाएँ र हाँसे। खेल्दा खेल्दै मलाई आची गनाएको जस्तो लाग्यो। मैले सोचेँ बुनुले कतै आची त गरिनन्। त्यसैले मैले बुनुको सुरूवाल खोलेर हेरेँ। साँच्चै बुनुले त आची पो गरिछिन्! म आत्तिँदै ममीलाई बोलाउन गएँ।
फेरि सोचेँ, ममी त भान्सामा पो काम गर्दै हुनुहुन्छ। मैले किन उहाँलाई दुःख दिनु? मैले नै बुनुको आची धोइदिए के हुन्छ, भनेर धुने निधो गरेँ। मलाई सुरूमा एकदमै घिन लाग्यो किनभने मैले पहिलोपल्ट बुनुको आची धोएकी थिएँ। मैले त्यही बेला बुनुतिर हेरे। बुनुको हँसिलो अनुहार देखेँ। मानौं दिदीले धोइदिनेछिन् भनेर खुसी भए जस्तो लाग्यो।
मेरै बुनु हुन् नि त! किन घिन मान्ने भन्दै धोएँ।
मलाई उनलाई देखेर माया लाग्यो। उनको सुरुवाल पोको पारेँ। मैले पनि बच्चामा यसै गरेको त थिएँ होला नि? यसरी त हुर्केकी हुँ नि म पनि। त्यसपछि मैले ममीलाई बुनु हेर्न लगाएँ। सुरूवालको पोको बोकेर बाथरुम पसेँ। जब सुरूवाल धुन थालेँ तब म झन् घिनाएँ। पहिलो पटक भएर होला बेकारमा धुने सुर कसेछु भन्ने लाग्यो। अनि फेरि सोचेँ जे पर्ला पर्ला निखारेरै धुन्छु।
मैले पो बुनुको सुरूवाल पहिलो पटक बल्ल एउटा धोएकी हुँ। म सानो हुँदा मेरो सुरूवाल क-कसले र कसरी धुनुहुन्थ्यो होला? उहाँहरूलाई पनि त घिन लागेको थियो होला? मैले त एउटा सुरूवाल धुँदा घिनाए भने उहाँहरूलाई पनि त घिनलाग्यो होला नि।
म एक महिनाको हुँदा मलाई बोकेर ममीले धादिङमा जागिर खान जानुभएको थियो रे। मेरो बाबाको काम गर्ने ठाउँ भने दाङमा थियो। उहाँहरूलाई बिदा मिलाएर भेट हुन पनि गाह्रो थियो। ममीले जागिर गर्दै मलाई एक्लै कसरी हुर्काउनुभयो होला? अहिले सोच्दा अचम्म लाग्छ। घिन नमानिकन स्याहार गरेर मलाई सफा र स्वस्थ बनाई हुर्काउनु भयो।
आमा र बुबा दुवै मेरा लागि महान हुनुहुन्छ। उहाँहरूले संघर्ष गर्दै जागिरमा जुट्दै मलाई हुर्काउनुभयो र ठूलो बनाई शिक्षादिक्षा दिँदै हुनुहुन्छ। सबैका जन्मदाता महान हुन्छन् भन्ने सोचेँ। अनि मलाई बुनुको आची धुँदाको घिन पनि हरायो। मैले सफासँग बुनुको सुरूवाल धोएर सुकाएँ। मेरो काम देखेर ममी र बुबा दुवै दंग पर्नुभयो।
यति धेरै दुःख कष्ट गरेर हामीलाई हुर्काउनु हुन्छ, संस्कार दिनुहुन्छ उहाँहरू। हामी सबैले आफ्नो आमाबुबालाई माया गर्नुपर्छ। उहाँहरूलाई खुसी राख्नुपर्छ।
(प्रजिसा केसी ई.पि.एस. स्कुल, मिनभवनमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)