सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अश्विन पन्थी हो। म अहिले ९ वर्षको भएँ। न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलमा अध्ययन गर्दैछु। मैले कक्षा ३ को वार्षिक परीक्षा दिएँ। हाम्रो परीक्षा चैतको ४ गते सकिएको हो।
यति बेला कोरोना भाइरस फैलिन नदिन लकडाउन छ। लकडाउनको समयमा घरबाट बाहिर निस्कन हुँदैन रे। त्यसैले दिनभरी घरभित्रै बस्नुपर्छ। याे भाइरस नेपालमा समेत आइपुगेको छ। विश्वमा धेरै मानिसहरू यो भाइरसले मरे रे। यो भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकाले यसबाट बच्न मान्छेको सम्पर्कबाट बच्नुपर्छ। भिडमा जानु हुँदैन। साबुन पानीले हात धुनुपर्छ। नाक मुख छोपिने गरी मास्क लगाउनु पर्छ। मैले पनि बेला बेला हात धुन्छु। स्यानिटाइजर लगाउँछु। घर बाहिर कतै जान्नँ।
मेरो आशिष दादाले नर्वेबाट आउँदा ट्याब ल्याइदिनुभएको थियो। त्यही ट्याबबाट दादासँग भिडिओमा कुरा गर्छु। लुडो र अरू गेम पनि खेल्छु। युट्युब हेर्छु। मामु र बाबासँगै बसेर युट्युबमा 'हेर्ने कथा' हेरेँ। 'हेर्ने कथा'मा मैले धुनको कथा, एलिसाको कथा, कर्म–सपना श्रृंखला हेरेँ। मलाई साह्रै मन पर्यो। एक्लो कथा हेरेर साह्रै टिठ लाग्यो। म त रोएँ।
मलाई गीत गाउन मन पर्छ। बेलाबेलामा गितार पनि बजाउँछु। गितार बजाउँदा बजाउँदै तारै चुँडियो। एउटा पहिले नै चुँडिएको थियो। अब चारवटा तार मात्र छन्। लकडाउनले गर्दा तार फेर्न पाइएन। बाबाले लकडाउनपछि फेर्ने भन्नुभएको छ। तार चुँडिएकै गितार बजाउँछु।
बेलुका मामु र बाबासँग घर पछाडिको सानो चउरमा ब्याडमिन्टन खेल्छु। दिनभरी घरमा बसेपछि एकछिन खेल्नु पनि पर्छ रे। लकडाउन नभएको भए हाम्रो रिजल्ट आइसकेको हुन्थ्याे। हामीले तीन कक्षासम्म पेन्सीलले लेख्याैं। अब चार कक्षादेखि कलमले लेख्न पाइन्छ। मैले पनि कलम किनेर बिहान बेलुका १/१ घन्टा लेख्न सिक्दैछु। कलमले लेख्दा कति बेला हातमा त कति बेला अनुहार मसी लाग्छ।
बाबाले डायरी लेख्न सिकाउनुभएको छ। मैले चैतको १० गतेदेखि राति सुत्नुभन्दा अगाडि दिनभरी भएका, गरेका काम-कुराहरू डायरीमा लेखेर सुत्छु। डायरी लेख्न रमाइलो लाग्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)