सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसका कारण देशमा लकडाउन छ। लकडाउनलाई कसैले 'बन्दाबन्दी' पनि भन्दा रहेछन्। यो शब्द मैले अगाडि कहिल्यै सुनेको थिइनँ। लकडाउनका कारण हामी घरबाहिर घुम्न जान पाएका छैनौं। अरू बेला स्कुल भएकाले कहीँ कतै जान पाइँदैनथ्यो। यस पटक त सधैंभन्दा लामो बिदा भए पनि कतै जान मिल्दैन।
सुरूमा कर्फ्युजस्तै लागेकाले घरमा मात्र बसेर के गर्ने होला भन्ने चिन्ता थियो। अहिले भने परिवारका सबै सदस्यसँगै बस्न पाएकाले रमाइलो लाग्न थालेको छ।
म बुढानिलकण्ठ स्कुलको होस्टेलमा बस्छु। यसैले कहिलेकाहीँ मात्र घर आउँछु। बुबाले यसै स्कुलमा पढाउने भएकाले उहाँसँग भेटघाट भइरहे पनि शुभतारा स्कुलमा पढाउने मेरी आमा अनि त्यही स्कुलमा पढ्ने बहिनीसँग कहिलेकाहीँ मात्र भेट हुन्थ्यो। अहिले भने लकडाउनले दिनदिनै सँगै बस्ने, खाने र खेल्ने मौका मिलाइदिएको छ।
लकडाउनका सुरूका केही दिन नमज्जा लागे। होस्टेलमा बिहान उठ्ने समयदेखि खाने, पढ्ने, खेल्ने र सुत्नेसमेत तालिका हुन्थ्यो। त्यही रूटिन अनुसार काम गर्ने बानी परेकाले एकैचोटि खुला हुँदा कतिखेर के गर्ने भन्ने ठेगान नभएकाले मोबाइल मात्र हेर्न मन लाग्थ्यो।
बाबाले म र बहिनीका लागि दैनिक तालिका बनाइदिनुभयो। उहाँले तालिका बनाउन हामीलाई नै लगाउनुभएको थियो। हामीले पढ्ने समय धेरै छुट्याएका थियौं। पछि उहाँले नै यो समय पढ्नेभन्दा सिक्ने समय हो भनि पढ्न छुट्याएको समय पनि अरू कामका लागि मिलाइदिनुभयो।
आफैंले बनाएको तालिकाअनुसार काम गर्न पाउँदा आनन्द आउँदो रहेछ। तालिकामा हामीले आमाबाबालाई काममा सघाउने कुरा पनि राखेका थियौं। त्यसैले बहिनी र म मिलेर चिया बनाउन, खाजा बनाउन र बारीबाट धनियाँ, पुदिना, लसुन ल्याई चट्नी बनाउन आमालाई सहयोग गर्यौं।
मैले घरमा भ्याकुम लगाउन सिकेँ। बिहान उठेर योग आसन गर्न सिकेँ। बाबाले मलाई र बहिनीलाई चार्ट पेपर र रङ दिई चित्र बनाउन लगाउनुभयो। मलाई चित्र बनाउन आउँदैनथ्यो, त्यसैले यो काम रमाइलो लाग्दैनथ्यो। युट्युब हेरेर बनाउन थालेपछि अहिले मज्जा लाग्न थालेको छ।
मेरो कोठाको सरसफाई आफैं गर्न थालेको छु। विभिन्न किसिमका चित्र बनाएर कोठा सजाएको छु। घरमा बस्दा मैले टाढा रहनुभएका आफन्तसँग भिडिओ च्याट गरेँ। मेरी फुपू दिदी अमेरिकाको न्युयोर्कमा बस्नुहुन्छ। न्युयोर्क कोरोनाको इपिसेन्टर बनेको छ। उहाँहरूसँग दिनदिनै त्यहाँको अवस्थाका बारेमा जानकारी लिने गरेको छु। साँझ सुत्नुभन्दा अगाडि म उहाँहरूलाई फोन गर्छु। त्यति बेला उहाँहरूको बिहानको उठ्ने बेला भएकाले कुराकानी गर्न सजिलो हुन्छ।
दिउँसो खाना खाएपछिको समय फिल्म हेर्न छुट्याएको छु। मैले 'तारे जमिनपर, आई एम कलाम, चक एन्ड डस्टर, सिक्रेट सुपरस्टार, बर्फी र वार' हेरिसकेको छु। अब केही अङ्ग्रेजी र नेपाली फिल्म हेर्ने योजना बनाएको छु। 'वार' निकै राम्रो रहेछ। मैले यसबाट आफ्नो साथीलाई अप्ठ्यारो परेका बेलामा सहयोग गर्नुपर्छ भन्ने सिकेँ।
'आई एम कलाम'बाट पढाइको महत्त्वका साथै पढाइले नै मान्छेलाई असल र ठूलो बनाउने कुरा सिकेँ। यस फिल्मको छोटु पात्रले अप्ठ्यारो अवस्थामा पनि पढ्ने, लेख्ने अठोट गर्छ। आफूले काम गर्ने ठाउँको ठूलो दाइले 'बुलिङ' गर्दा पनि पढाइ छोडेन। साथीसँग मिलेर मिहिनेत गरेकाले अन्तिममा उससँगै स्कुल जाने मौका पायो।
छोटु अब्दुल कलामसँग निकै प्रभावित भएकाले आफ्नो नाम पनि कलाम राखेर मिहिनेत गरी जीवनलाई धन्य पार्ने पात्र हो।
म पनि परिश्रम गरेर आफूलाई असल मान्छे बनाउने प्रतिज्ञा गरेको छु। फिल्मबाट मनोरञ्जन मात्र नभएर ज्ञान पाइने भएकाले बाबाले हामीलाई फिल्म हेर्ने समय र राम्रा-राम्रा फिल्म खोजिदिनुभएको कुरा मैले बल्ल बुझेँ।
आमाबाबासँग बारीमा तरकारी लगाउन र झारपात गोड्न म पनि जान्छु। बाबाले मलाई पनि सानो ठाउँ दिनुभएको छ। त्यहाँ मैले सिमी र साग रोपेको छु। छिमेकबाट स्ट्रबेरीको बेर्ना ल्याएर लगाएको छु। म दिनदिनै बारीमा गोडमेल गर्न जान्छु र आफ्ना बिरूवालाई मल र पानी दिन्छु।
लकडाउनमा 'ह्यारीपोटर', 'अलिभर टुइस्ट' र अनलाइन पत्रिकाहरू पढेँ। नेपाली किताब पढ्न त्यति रूचि लाग्दैनथ्यो। बाबाले रामायण र महाभारतका छोटा कथाहरू पढ्न दिनुभएको छ। कथा पढेर साँझको समयमा आफूले पढेका कथा सुनाउने पालो लगाएका छौं। पहिले सुनाउनका लागि पढ्न थालेका कथा अहिले रमाइलो लाग्न थालेका छन्। यसैले मन लागेन भनेर त्यसै छोड्नु हुँदो रहेनछ। तालिका बनाएर काम गर्दा नियमितता आउँदो रहेछ र रमाइलो पनि लाग्न थाल्दो रहेछ।
लकडाउनमा म आफैं नियम बनाएर काम गर्छु, समयको उपयोग गर्छु। काम गरेपछि केही न केही सीप सिकिने भएकाले स-साना काम गर्न अघि सर्नुपर्ने कुरा सिकेँ। अहिले बिहानदेखि साँझसम्म आफैंले बनाएकाे रूटिनका काम गरेर लकडाउनको समयलाई सदुपयोग गरिरहेको छु। म अरू साथीहरूलाई पनि घरका मानिसलाई सघाउँदा आनन्द आउने भएकाले केही न केही काम गर्न अनुरोध गर्छु।
(प्रांशु भुसाल बुढानिलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)