सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम जेसिश तामाङ हो। म ६ वर्षको भएँ। मेरो स्कुलको नाम क्युट किड मन्टेश्वरी हो। युकेजीमा पढ्छु। अहिले सामाखुसी टाउनप्लानिङमा बस्छु। बाबाले नयाँ स्कुल जाने भन्नुभएको थियो तर कोरोना भाइरसले सबै स्कुल नै बन्द भयो। स्कुल सधैं बन्द भइदिए कति आनन्द आउँथ्यो।
यो स्कुल कसले बनाउनु भएको होला? स्कुल बनाउनु सट्टा फनपार्क, हुपील्याण्ड जस्तो खेल्ने ठाउँ धेरै बनाए हुन्थ्यो नि।
बाबाले पढ् मात्र भन्नुहुन्छ। मलाई पढ्न मन लाग्दैन। मलाई बल खेल्न, चित्र बनाउन, धेरै ठाउँ घुम्न मन लाग्छ। बाहिर खेल्न जान पनि पुलिसहरू हुनुहुन्छ। मान्छेहरू माइकमा बोलेर हिँड्नुभएको छ। म त अहिले चित्र बनाइरहेको छु। मामाघर काभ्रे जान मन लागेको छ। गाडी बन्द छ। लकडाउन सकेपछि फेरि स्कुल जानुपर्छ। मलाई झ्याउ लाग्छ। ममीलाई राति लुकेर जाउ भनेको मान्नुहुन्न।
कोरोना भाइरसले मान्छेहरू धेरै मरेका छन्। बाटोभरी मान्छेहरू भोक लागेर सुतिरहनुभएको छ। मैले टिभीमा देखेको। अब उहाँहरू पनि मर्नुभयो भने के गर्ने? विद्यादेवी भण्डारी त राष्टपति। अनि प्रधानमन्त्री केपी शर्मा ओली हाम्रो देशको ठूलो मान्छे। उहाँले पनि कोरोना मार्न सक्नुभएन।
मेरो घरमा त मास्क, स्यानिटाइजर सबै छ। बाबा, ममी हामी सबैजना घरमै छौं। म त ह्याण्ड वासले हात धुन्छु। कोरोना लागेको मान्छेलाई खोकी, ज्वरो र हाच्छ्यु आउँछ। मलाई केही पनि भएको छैन।
ममी अहिले अफिस जानु हुन्न क्या मज्जा छ। बाबाले टिभी हेर्दा गाली गर्नुहुन्छ र मामाघर पनि जान दिनुहुन्न। बाबालाई चाहिँ चरिकोट घरमा पठाउन पाए हुन्थ्यो। अनि त ममी र म जति मन लाग्यो खेल्न पाइन्थ्यो। भोलिपर्सि कोरोना सकेपछि फेरि ममी र म फायर क्याम्प जाने हो। ममीको साथीहरू पनि जानुहुन्छ। अब म स्कुल चाहिँ नजाने। बरू ममीसँगै बसेर पढ्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]