सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम इशा आचार्य हो। म ललितपुर, चाकुपाटमा ममी बाबा र मामासँग बस्छु। रेन्बो किड्स इन्टरनेसनल स्कुलमा कक्षा प्रि–टु मा पढ्छु। अहिले परीक्षा सकेर बसेकी छु। यो बिदामा चितवनको घर जाने योजना बनाएकी थिएँ। तर कोरोना भाइरसले गर्दा लकडाउन भयो, जान पाइनँ। यति लामो बिदामा पनि कतै घुम्न जान पाइनँ। मामाघरको त झन कुरै नगरौं।
कराते सिक्न जाने गरेकी थिएँ। तर अहिले जान पाएकी छैन। यतिसम्म कि घरबाट बाहिर निस्किन पनि पाएकी छैन। यो कोरोनालाई सम्झँदा त समात्न पाए ड्याम-ड्याम पिट्न मन छ। यसले मेरो सबै योजना बिगारिदियो। तर, कोरोना भाइरस हाम्रो आँखाले देख्न नसक्ने धेरै सानो हुन्छ रे। रूघा, खोकी र ज्वरो गराउँछ र सास फेर्न पनि गाह्रो बनाउने रहेछ। यसले गर्दा संसारभर धेरै मान्छे मरिसकेका छन्।
हामीले कोरोना भाइरसबाट बच्न पटक–पटक साबुनपानीले मिचीमिची हात धुनुपर्छ। भिडमा जानु हुँदैन। सरसफाइमा धेरै ध्यान दिनुपर्छ। मैले त्यसै गर्ने गरेकी छु। तर यसले मेरो दैनिक काममा केही राम्रा कुरा पनि भएका छन्। म बिहानै ६ बजे उठ्छु। यो हाम्रो परिवारको नियम हो। उठेर मामु र बाबासँगै योग र व्यायाम गर्छु। अरू बेलामा मामु र बाबा काममा हुँदा त्यति रमाइलो हुँदैनथ्यो। तर अहिले दिनैभरी मामुबाबा र मामासँगै खेल्न र जिस्कन पाएकी छु।
मामालाई पनि अफिस जानु पर्दैन। अफिसको काम घरबाटै कम्प्युटरमा गर्नुहुन्छ। मामाले कथा, कविता लेख्न, चित्र बनाउन सिकाउनु हुन्छ। मामाले नयाँ नयाँ कुराहरू पनि सिकाउनु हुन्छ। हामी घरमा बसेर सामान्य ज्ञानका कुरामा पनि छलफल गर्छौ। बाबा, मामु र मामाले मलाई सोध्नुभएको सबैजसो प्रश्नहरू म मिलाउँछु र ‘गुड गर्ल’ पाउँछु।
मामाले मलाई कम्प्युटर चलाउन पनि सिकाउनु हुन्छ। युट्युबमा बालकथा हेरेर बस्न निकै मन पर्छ। लकडाउनको सदुपयोग गरेर कम्प्युटरमा चित्र बनाउन, गेम खेल्न सिकेकी छु। युट्युब र गुगलमा आफैं कार्टुन, बालकथाहरू खोजेर हेर्न आउँछ। हेरेर मात्र भयो र? ल्यापटप चार्ज गर्न, अन अफ गर्न अनि चार्ज छुटाउन पनि जान्नु पर्ने रहेछ। त्यो पनि सिकेकी छु।
बाबाले खाली समयमा चित्र बनाउन र त्यसमा रङ भर्न सिकाउनुहुन्छ। मैले जिराफ, बगैंचा, पुतली, बार्बी डलको चित्र बनाएर रङ भरेकी छु। मलाई बाबाले स्कुलमा पढेका कुराहरू नबिर्सिनका लागि रिभिजन पनि गराउनु हुन्छ। हरेक दिनजसो थोरै थोरै गरेर पढाउनु हुन्छ। बाबाले रिभिजन गराउँदा गणित, नेपाली, विज्ञान, अंग्रेजीको रिभिजन गराउनुहुन्छ। मलाई अब लकडाउन खुलेपछि पढाई सुरू हुँदा पनि गाह्रो हुँदैन होला।
यो बिदामा मामुले पनि धेरै कुरा सिकाउनुभयो। मामुले अहिलेको सुन्दर वातावरणको बारेमा मलाई सुनाउनु हुन्छ र बाहिर हेर्न लगाउनु हुन्छ। वसन्त ऋतु भएकाले हिजोआजको मौसम अति नै सुन्दर देखिन्छ। आजभोलि मामुले खाना बनाउँदा मैले हेर्ने र केही कुरा सिक्ने मौका पाएकी छु। म रोटी बेल्न, कालो चिया बनाउन, सलाद काट्न र सजाउन जान्दछु। आजभोलि त मैले आफ्नो साना कपडा धुने, कोठा सफा गर्ने, आफू सुतेको ओछ्यान मिलाउने काम पनि आफैं गर्छु।
मेरा साथीहरू पनि घरैमा होलान्। उनीहरूलाई मिस गरिरहेकी छु। कहिलेकाहीँ बाहिर जान मन लागे पनि म कोरोनाबाट बच्न घर भित्रै बस्छु। बाहिर निस्किन्न। तपाईंहरू पनि घरबाट बाहिर नजानु होला।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)