सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा ५ को वार्षिक परीक्षा सकिएपछि अर्को शैक्षिक सत्र सुरू नहुँदासम्म विभिन्न ठाउँ घुमफिर गरेर खुसीका साथ समय बिताउन तयार पारिएका मेरा सुनौला योजना लकडाउनका कारण घरभित्रै सीमित हुन पुगे।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण देखिएका कारण रोगलाई फैलिन नदिन यस्तो गरिएको भन्ने मैले बुझेकी छु। घरभित्रै बस्नुपर्ने हुँदा यो समयको सदुपयोग गर्न मैले दैनिक नयाँ नयाँ कामहरू गरिरहेकी छु।
हरेक बिहान सबेरै झ्यालबाट नियाल्दा काठमाडौं उपत्यका स्वच्छ र सफा भएको देखेकी छु। घर नजिकैको बिरूवामा पलाएका पातहरू चिल्ला र हरियो भएको एवं जुगल र गौरीशंकर हिमालहरू मुस्कुराइरहेको देख्छु। मानिसका क्रियाकलापले विश्राम पाउँदा प्रकृतिले पनि मुस्कुराउने अवसर पाउँदो रहेछ भन्ने भएको छ।
कहिलेकाहीँ आमाबाबाले विगतमा गरेका संघर्षका कथा सुनाउनुहुन्छ। गाउँमा जन्मिएर त्यही विद्यालय तहको पढाइ पूरा गर्नुभएको उहाँहरूका अनुभव मेरा लागि नयाँ र प्रेरणादायी हुन्छन्। त्याे समयमा बिहान एक डोको घाँस काटेर ल्याएपछि खाना खाई दुई घन्टा हिँडेर विद्यालय पढेको बारेमा बाबाले बताइरहँदा पहिलाको समय र हालको समयको मूल्यांकन गर्छु।
दुई घन्टाको बाटो हिँडेर स्कुल जानेक्रममा बिहान पोको पारेर लगेको खाजा बाटोमा लुकाई राख्ने र बेलुका घर फर्कदा खाएका क्षणहरू सुन्दा सुख दुःख बीचको अन्तरलाई केलाउने प्रयास गर्छु। दुःखका दिनमा आमाबाबाले भोगेका कुराहरूले मलाई भविष्यमा अझ मिहेनत गर्नुपर्छ भन्ने कुराको बोध गराइरहेको छ।
यस समयमा मैले आमासँग खाना बनाउन सिकिरहेकी छु। नियमित रूपमा घरमा खाने खानाका अतिरिक्त युट्युबमा हेरेर नयाँ नयाँ परिकार बनाउने काममा आमालाई सहयोग गर्छु। मिठो मिठो परिकार खान म सौखिन भएकाले यस काममा उत्साहित भई आमालाई सहयोग गरिरहेकी छु।
यसैगरी, भान्सामा आमालाई तरकारी काट्ने, पखाल्ने, फोहोर सफा गर्ने लगायतका काममा सघाउँछु। यस काममा आमाले मायाका साथ सरल तरिकाले सिकाइरहनुभएको छ। जसले मलाई प्रेरणा दिइरहेको छ।
कहिलेकाहीँ कविता, कथा, निबन्ध लेख्छु र बाबाआमालाई सुनाउँछु। विश्वका महान व्यक्तिका बारेमा लेखिएका लेखहरू अध्ययन गरिरहेकी छु। यसले मलाई पढाई प्रति रूचि जगाउने काम गरेको छ। अत्यास लाग्दा केही समय टेलिभिजन हेर्छु।
दिनदिनै आइरहने समाचारबारे आमाबाबासँग बसेर छलफल गर्छु। जसबाट थप सतर्कताका साथ बस्नुपर्ने कुरा बुझेकी छु। यस दुःखको समयमा कसैलाई केही नहोस् भनि प्रार्थना गरिरहेकी छु। साथै, देशविदेशमा रहेका आफन्तसँग मोबाइलमार्फत संवाद गरिरहेकी हुन्छु।
साँच्चैभन्दा यो लकडाउनले मेरा लागि धेरै कुरा सिक्ने, बुझ्ने अवसर प्रदान गरेको छ। यसका अतिरिक्त संकटको घडीमा अपनाउनु पर्ने सावधानीको बोध गराइरहेको छ।
अहिलेको विशम् परिस्थितिमा आफ्नो मनलाई दह्रो बनाउँदै सफलताको लागि आवश्यक पर्ने दुई विषय उच्च मनोबल र नियमपूर्वक गरिने अभ्यासलाई निरन्तरता दिइरहेकी छु।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल स्वयम्भू, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)