सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म मनिषा वली, १४ वर्षकी भएँ। बर्दिया जिल्लाको बाँसगढीमा बस्छु। म बागेश्वरी एकेडेमीमा कक्षा सातमा अध्ययन गर्छु। परीक्षा सक्किएपछि गाँउको घरमा गए जहाँ हजुरबुवा, हजुरआमा लगायत २१ जनाको संयुक्त परिवार छ। धेरै जना भएकाले घरमा रमाइलो हुन्छ।
कहिलेकाहीँ बेलुका किताब बोकेर बाख्रा चराउन जान्छु। गाउँमा कोहीलाई पनि कोरोना नलागेकाले सबै आफ्नो काम गरिरहेका छन्। लकडाउनको खासै मतलब हुँदैन। बुबा आर्मी भएकाले घरबाट टाढा हुनुहुन्छ। कोरोनाको समयमा उहाँको झनै याद आउँछ।
आजकल लकडाउनको कारण सबै जना घरमै बस्छन्। कोरोनाले गर्दा नेपालमा लकडाउनको नियम लागू गरिएको छ। याे भाइरस चीनबाट उत्पन्न भए पनि धेरै देशमा फैलिसकेको छ। जसको कारण विद्यार्थीहरू विद्यालय जान सकिरहेका छैनन्। हाम्रो रिजल्ट पनि आएको छैन।
यस्तो फुर्सदको समयमा विद्यार्थीहरूले आफ्नो रूचिको काम गरेर सदुपयोग गर्नुपर्छ। खेर फाल्नु हुँदैन। यो आफ्नो अभिभावकबाट राम्रा कुरा सिक्ने मौका पनि हो। पहिले आमाबुवा आफ्नो काममा व्यस्त भएकाले सन्तानलाई समय दिन सक्नु हुन्नथ्यो।
लकडाउनमा दिदीको लाइब्रेरीबाट 'शिरीषको फूल, समरलभ र प्रिय सुफी' नामक उपन्यास पढेँ। समरलभ र प्रिय सुफी सुबिन भट्टराईका हुन् भने शिरीषको फूल पारिजातको, जसले मदन पुरस्कार पाएको थियो। शिरीषको फूल पढे पनि मैले खासै केही बुझिनँ। समरलभ प्रेम सम्बन्धी उपन्यास रहेछ जसबाट त्यति राम्रो केही शिक्षा पाइनँ।
प्रिय सुफी चाहिँ मनपर्यो, जसबाट हामी जस्तोसुकै समस्या आए पनि हार मान्नु हुँदैन, आत्मबल बलियो बनाउनु पर्छ। आफूलाई कमजोर ठान्नु हुँदैन। सकारात्मक सोच्नुपर्छ भन्ने शिक्षा पाएँ। साथै, दिदीबाट बालअधिकार, बालदुर्व्यबहार, लैंगिक भेदभाव आदिबारे पनि मजाले बुझ्न पाए। फुर्सदको समयमा फेसबुक चलाउँछु। लुडो खेल्छु र दैनिक एक पेज ह्यान्डराइटिङ लेख्छु।
अन्तिममा भन्न चाहन्छु, लकडाउनको पालना गरौं। मास्क अनि स्यानिटाइजरको प्रयोग गरी आफू बचौं र अरूलाई पनि बचाउँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)