सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रल्हादमणि पौड्याल हो। म कक्षा ४ मा पढ्दैछु। मलाई घरमा सबैले 'पुकु' भनेर बोलाउँछन्। अहिले मैले धेरै कामहरू सिकिरहेको छु। जस्तैः चिया पकाउने, पानी बोक्ने, फलफुल काट्ने। अहिले हामी सबैजना घरमै बसेका छौं।
लकडाउनsf बेला घरमा हजुरबुवाले दुइटा श्राद्ध गर्नुभयो। मैले श्राद्धका लागि फूल टिप्ने, गाईको दूध ल्याउने, चोखो पानी ल्याउने काम गरेँ। हजुरबुवाले मलाई चन्दन घोट्न पनि सिकाउनुभयो।
म बिहान उठेर सधैं जप, योग, ध्यान गर्छु। मैले बिदामा टेबलटेनिस, ब्याडमिन्टन, क्यारमबोर्ड आदि खेलेँ। बाबासँग नेपाली टाइप गर्न सिक्दैछु। लकडाउनमा कहिले पिज्जा, मःम, फेन्च फ्राइज, केक बनाएर खायौं। बिहान म ठूलो बुवासँग तरकारी, फलफूल लिन जान्छु। घर आएपछि साबुनपानीले मिचीमिची हात धुन्छु।
मलाई धेरै बाहिर खेल्न मनपर्छ तर लकडाउनका कारण बाहिर जान हुँदैन। त्यसैले, घरमै दिदीसँग खेल्छु। मामुलाई तरकारी केलाउन पनि सहयोग गर्छु। बाबासँग एक छिन भने पनि पढ्छु। मलाई मोबाइल, टिभी, ट्याब हेर्न मन पर्छ। तर धेरै हेर्दा आँखा दुख्छ भनेर बाबा मामुले भन्नु हुन्छ। म रामायण, साइबाबा, गणेश र कार्टुनहरू पनि हेर्छु।
मेरो मामाघरको आमाबुबा, मामामाइजूसँग फोनमा कुरा गर्छु। मलाई सानो मामा धेरै मन पर्छ। सानो मामा-माइजू अमेरिकामा हुनुहुन्छ। मामाले मलाई जे भन्यो त्यही पठाइदिनु हुन्छ। लकडाउनका समयमा म सानो मामा-माइजूसँग धेरैबेर भिडिओ कल गर्छु।
मलाई हजुरबुवाले धेरै राम्रा कुरा सिकाउनु हुन्छ। घरमा सबैले धेरै माया गर्नुहुन्छ। मेरो रिजल्ट पनि अनलाइनबाट भयो। अहिले कक्षा ४ को किताब लिएर दिदीसँग घरमा नै पढिरहेको छु। अब त मलाई लकडाउनको समय एकदमै रमाइलो लागिरहेको छ।
(प्रल्हादमणि शान्ति पाठशाला, कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)