सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मामाघर जान असाध्यै रहर लाग्थ्यो। रहर लागेर पनि टाढा भएका कारण जान सहजै पाउने अवस्था थिएन। मेरो घर रामेछाप भए पनि हामी स-परिवार काठमाडौं बस्छौं। काठमाडौंको नरदेवीस्थित जलजला इंग्लिस स्कुलमा पढ्छु। मेरो मामाघरचाहिँ उदयपुरको बेलका हो।
काठमाडौंमा बसोबास गर्ने कान्छो मामा रोयल आचार्यलाई म मामाघर लैजान स्कुल बिदा भएका बेला आग्रह गर्छु। कोरोनाको त्रास फैलनुअघि मेरो मामा पूर्व जानुभयो। मैले पनि मामालाई सँगै लैजान आग्रह गरे। मामा अफिसियल टोलीमा रहेको भन्दै सँगै लैजानु भएन।
लकडाउन सुरू भएको कुरा चारैतिर फैलियो। मेरो जीवनमा लकडाउन नयाँ अनुभव थियो। यो शब्द मैले यसअघि सायदै सुनेको थिए। कक्षा ६ को परीक्षा सकिएको थियो। बाहिर पूरै बन्द भएका कारण कोठामै बस्नुपर्ने अवस्था आयो। लकडाउन सुरू भएको केही दिनसम्म त खासै वास्ता भएन।
दिनभर टिभी र पब्जीमै व्यस्त भइन्थ्यो। घरमा बाबा, ममी र दादा पनि हुनुहुन्थ्यो। पब्जीका अलवा घरीघरी टिकटक पनि हेर्थेँ। केही दिन बितेपछि साह्रै बोर भयो। मैले मामालाई फोन गरेर मामाघर पठाइदिन आग्रह गरेँ। मामाले मिल्दैन भन्नुभयो। मैले ममीबाबासँग मामाघर जानका लागि हारगहुार गरेँ।
बाबाले पास भयो भने जान पाइन्छ भन्नुभयो। त्यसपछि मामासँग सल्लाह गरेर पास लिनका लागि म सिडिओ कार्यालय गएँ। मलाई सिडिओ कार्यालय भनेको पनि त्यही दिन मात्रै थाहा भएको हो। बाटामा ममी र मलाई प्रहरीले कहाँ हिँडेको भनेर ३ ठाउँमा रोकर गाली गरे। पास लिन हिँडेको भनेपछि जान दिए।
सिडिओ कार्यालयमा हामी दिनभर लाइन लागेर पास लियौं। एक साताका लागि पास थियो। लकडाउन सुरू भएको ३ दिन मात्रै बितेको थियो। पास भएपछि बाबाममी र म भोलिपल्ट बिहानै उदयपुरतिर लाग्यौं। बाटामा प्रहरीहरूको सामना गर्दै पास देखाउँदै हामी दिउँसै उदयपुरको बेलका नगरपालिका पुग्यौं।
मामाघरमा मामामाइजूहरू, हजुरबुवा-आमा पनि हुनुहुन्छ। सानीमाको घर पनि नजिकै छ। मामा तथा सानीमाको छोराछोरीसँग पनि भेट भयो। यसपालि मामाघर लामै समय बस्न पाइयो भनेर म ज्यादै खुसी भएँ।
चैत १८ गते लकडाउन खुल्छ भन्ने आश थियो। म दाजुभाइहरूसँग मामाघरमा निकै रमाएँ, खेलेँ। सानीमाको घरमा ठूलो माछा पोखरी छ। कुखुरा फार्म छ। भैंसी पालिएको छ। खेतहरू प्रशस्तै छन्। घुम्न-हेर्नका लागि रमाइलो छ। खेल्नका लागि काठमाडौंमा जस्तो छत वा गल्ली होइन ठूला चौरहरू छन्। म निकै रमाएँ।
चैत १८ गते फर्कने हाम्रो योजना थियो। तर १८ गते पनि लकडाउन खुलेन। बाबाले अब जानुपर्छ भनेर पासका लागि उदयपुरमै प्रयास गर्नुभयो। मिलेनछ। त्यसपछि हामी चैत २५ मा लकडाउन खुल्छ भन्ने आशमा बस्यौं। तर खुलेन।
आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै एक महिना बितिसकेको छ। मामाघरमा धेरै बसेकाले अहिले 'बोर' भइसक्यो। कहिले लकडाउन खुल्छ ठेगान छैन। म अहिले पनि मामाघरमै 'लक' भएर बसेको छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)