सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रशन्नबाबु तिवारी हो। म काठमाडौंको रविभवनमा रहेको ज्ञानकुञ्ज स्कुलको विद्यार्थी हुँ। अहिले कक्षा ४ को अन्तिम परीक्षा दिएर बसेको छु। मामुबाबा र भान्जी दिदीसँग कलंकीमा बस्छु। यसपालि कोरोना भन्ने भाइरसले हाम्रो अन्तिम परीक्षा अगाडि सर्यो। मेरो स्कुलमा ४ कक्षासम्मको परीक्षा चैत ४ गते सकियो। पाँच कक्षाभन्दा माथिको परीक्षा चैत ५ सम्म थियो।
अन्तिम परीक्षा सकिएपछि गाउँ तनहुँको केशवटार जाने योजना थियो। त्यसपछि गैंडाकोटको अमरापुरीमा मामाघर आएर छुट्टीभरि बस्ने योजना थियो। मामुबाबाले पनि हुन्छ भन्नुभएको थियो। चैत ४ गते परीक्षा सकिए पनि हामी ५ गते केशवटार गएनौं। हामीले बाबाको जन्मदिन काठमाडौंमै मनायौं।
बाबाको जन्मदिन मनाएर चैत ६ गते हामी केशवटार गयौं। त्यहाँ मेरो हजुरआमा, फुपू दिदी, फुपाजु र फुपाजुको आमा हुनुहुन्छ। मेरो फुपूको घर र हाम्रो घर नजिकै छ। केशवटारमा रमाइलो भयो। मैले त्यहाँ मकै पिन्ने जाँतो चलाउन सिक्न खोजेँ तर गाह्रो भयो। मकै राम्रोसँग पिन्न पनि जानिनँ। केशवटारमा पुगेको भोलिपल्ट म, हजुरआमा र बाबा हाम्रो खेतमा पनि गयौं। हाम्रो खेत घरभन्दा टाढा छ। एक घण्टा जति हिँड्नुपर्ने रहेछ। म त्यहाँको खेतमा गएको पहिलो पटक हो।
हामी केशवटारमै भएका बेला चैत १० गतेबाट लकडाउन हुने समाचार थाहा पाइयो। त्यसैले केशवटारमा दुई रात बसेर ८ गते अमरापुरी आयौं। बाबाले अमरापुरी र गैंडाकोटमा गरेर दुई रात बस्ने भन्नु भएको थियो। १० गतेबाट लकडाउन हुने भएर उहाँ ९ गते नै काठमाडौं फर्किहाल्नुभयो। काठमाडौंबाट केशवटार अनि त्यहाँबाट अमरापुरी जाँदा कोरोनाको डर बढिसकेको थियो। बाबा र म दुवैले मास्क लगाएका थियौं। हामीले बाहिर खाजा पनि खाएनौं। घरबाट नै ल्याएको खाजा खायौं।
बाबा काठमाडौं फर्किनु भएपछि म अमरापुरीमा मामाघरको हजुरबुवा र हजुरआमासँग बसिरहेको छु। मलाई छुट्टिमा अमरापुरी आएर बस्न रमाइलो लाग्छ। यसपालि मैले धेरै कुरा सिकेको छु। मैले यहाँ हरियो सागसब्जी रोप्न सिकेँ। पिँडालु, आलु र अदुवा रोप्ने तरिका पनि सिक्दैछु।
यहाँको खेत भने घर नजिकै छ। म हजुरआमा र हजुरबुवासँग बाख्रा चराउन खेतसम्म पनि जान्छु। मैले यहाँ जौ माड्न पनि सिकेको छु। जौ कुटेर पिठो बनाउने तरिका पनि सिक्दैछु। मलाई यस्ता काम सिक्न खुब रमाइलो लाग्छ। यहाँ साइकल चलाएर र टेलिभिजन हेरेर पनि रमाइलो गर्छु। मेरो हजुरबुवाले रेडियो बजाएर समाचार सुन्नुहुन्छ। म पनि रेडियोको समाचार सुन्छु।
यहाँ बस्दा धेरै नपढे पनि मामुबाबाले भन्नु भएअनुसार हरेक दिन नेपाली र अंग्रेजीको एक पेज हस्तलेखन गर्छु। अंग्रेजीमा म दिनभरिको डायरी बेलुका ७ बजे अगाडि नै लेखेर सक्ने कोशिस गर्छु। नेपालीको भने कहिले किताबबाट सार्ने गर्छु त कहिले कुन काम कसरी गरिन्छ भनेर लेख्छु। जस्तै, कहिले तरकारी कसरी पकाउने भनेर लेख्छु त कहिले खाना पकाउने तरिकाको बारेमा लेख्छु। कहिलेकहिले कथा पनि लेख्छु।
वैशाख २ गते मेरो जन्मदिन हो। यसपालि हामीले घरमै दूधको कुराउनीको केक बनायौं। कोरोनाको डरले बाहिरबाट केक ल्याएनौं। लकडाउन भएका कारण मलाई मेरो जन्मदिन पहिलाजस्तो रमाइलो भने लागेन। यहाँ बस्दा हजुरआमा र मैले दुई पटक पानीपुरी बनाएर खायौं। हजुरबुवाको दाँतमा समस्या भएकाले उहाँले खान पाउनुभएन। मैले पनि पानीपुरी बनाउने तरिका सिक्ने कोशिस गरेँ।
हामीले यहाँ चटपटे पनि बनाएर खायौं। त्यो पनि हजुरबुवाले दाँतकै समस्याले गर्दा खान पाउनुभएन। घर बाहिरको चटपटे र पानीपुरी सफा नहुने हुनाले खानु हुँदैन तर घरमै बनाएर कहिलेकाहीँ खान मिठै हुन्छ। मलाई गाजरको हलुवा खान मन लागेको थियो। त्यो पनि हजुरआमाले पकाइदिनुभयो। मलाई मीठो लाग्यो।
हाम्रो मामाघरमा धेरै किसिमका जनावर छन्। एउटा कुकुर छ। त्यसको नाम डल्ले हो। डल्लेले नमस्ते, ह्यान्डसेक र दर्शन गर्न पनि जानेको छ। धेरैजसो यसलाई बाँधेर राखिने हुनाले खुल्ला छोड्दिने बित्तिकै हामीसँग जिस्कन आउँछ। कहिले कहिले त चिथोर्छ पनि। मलाई त डल्ले देखेर अलिअलि डर पनि लाग्छ।
यहाँ दुइटा बिराला पनि छन्। एउटा ढाडे हो भने अर्को होइन। मेरो हजुरआमाले ढाडेको नाम राख्नुभएको छैन तर अर्कोको नाम भने बिल्ली राख्नुभएको छ। बिल्लीले नयाँ वर्षकै दिन ३ वटा बच्चा पाएको थियो। अहिले त ती तिनवटै बच्चाका आँखा खुलिसकेका छन्।
यहाँ चैत २२ गते शनिबार बाख्राले पनि एउटा पाठो र अर्को पाठी पाएको थियो। खुलै छोड्ने हुनाले ती पाठापाठी आजकाल जतिखेर पनि दगुरेको दगुर्यै गर्छन्। अरू बाख्रालाई चराउन खेततिर लिएर जाँदा तिनीहरू पनि पछिपछि जान खोज्छन्। तर खेतमा कहिलेकाहीँ स्याल र वन बिरालो पनि आउने हुनाले हामीले ती पाठापाठीलाई चराउन लैजान्नौं।
म यहाँ आएपछि हजुरबुवाले एउटा बाख्रा बेच्नुभयो। यहाँ हजुरबुवा र हजुरआमाले गाई, बाच्छी, भैंसी र पाडी पनि पाल्नुहुन्छ। हजुरआमाले पाडीको नाम पनि राखिदिनुभएको छ-लुरी। यहाँ पालिएका जनावरमध्ये भैंसी र भर्खर ब्याएको बाख्राले हान्न खोज्छन्। अरूचाहिँ ज्ञानी छन्। त्यसरी हान्न खोज्दैनन्।
अब अलिकति कोरोनाका बारेमा पनि बताउन चाहन्छु। यी कुरा मैले मामुबाबा, हजुरआमा र हजुरबुवाले भनेको सुनेर थाहा पाएको हो। रेडियो र टेलिभिजनको समाचारबाट पनि केही कुरा थाहा पाएको छु। कोरोना एउटा भाइरस हो। यसले खतरनाक रोग लगाउँछ। यो रोग चीनमा चमेरोबाट सरेको भन्छन्। यो रोग अहिले सबैभन्दा बढी अमेरिकामा फैलिएको छ। नेपालमा पनि अहिले ५० जना भन्दा धेरै मान्छेलाई यो रोग लागेको छ। केही मान्छे त निको भएर अस्पतालबाट घर फर्किसकेका छन्।
यो भाइरस लागेपछि दुई हप्तासम्म लक्षण देखिन्छ भनेर समाचारमा भनिएको थियो। रोग लाग्दा धेरै ज्वरो आउने, सुख्खा रूघाखोकी लाग्ने, टाउको र छाति दुख्ने अनि थकाइ लाग्ने हुन्छ। यस्तो लक्षण देखियो भने हामीले तुरून्त अस्पतालमा सम्पर्क गर्नुपर्छ। यसबाट बच्न हामीले समय समयमा साबुनपानीले मिचिमिची हात धुनुपर्छ। बेलाबेला स्यानिटाइजरले हात सफा पनि गर्नुपर्छ। अति आवश्यक काम पर्दाबाहेक घर बाहिर जानु हुन्न। आवश्यक कामका लागि घर बाहिर जाँदा मास्कको प्रयोग गर्नुपर्छ। अरू मान्छेलाई मान्छेलाई छुनु हुँदैन।
(प्रशन्नबाबु तिवारी ज्ञानकुञ्ज स्कुल रविभवनका विद्यार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)