सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम पृथक आर्चाय हो। म १० वर्षको भएँ। मेरो घर कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा पर्छ। घरमा हजुरबुवा, हजुरआमा, बाबाआमा, काका र काकी हुनुहुन्छ। मेरो तीन वर्षकी बहिनी पनि छिन्।
म ह्वाइट हेवेन एकेडमी, काठमाडाैंमा पढ्छु। मैले कक्षा ४ को परीक्षा दिएर बसेको छु। म सधैं चैतको परीक्षा सकिएपछि कपिलवस्तु आउँछु। अरू बेला १५ दिन बस्न पाउथेँ। यसपालि भने धेरै बस्न पाएँ। लकडाउन भएकाले मामाघर जान पाएको छैन। मेरो मामाघर घोराही हो। हजुरबुवासँग गाउँ घुम्न नि जान पाएको छैन।
बिहान ७ बजे उठ्छु। मह–पानी खान्छु। त्यसपछि काकासँग योग सिक्छु। सुरूमा गाह्रो हुन्थ्यो। विस्तारै बानी पर्दैछ। १० बजेतिर खाना खान्छु। दिउँसो गर्मी हुन्छ। घरभित्रै बस्छु। कहिले चित्र बनाउँछु। कहिले टिभी हेर्छु। बहिनीसँग पनि खेल्छु। खाजा घरमा बनको नै खान्छु। कहिले रोटी। कहिले मकै त कहिले चिउरा।
साँझ पख फूलमा पानी हाल्छु। बगैंचा डुल्छु। मेरो घरमा आँप, लिची, कटहर र अम्बा फलेका छन्। हुरी चलेको बेला फल खस्छ। त्यो देख्दा मलाई नरमाइलो लाग्छ। आमाबुवा बारीमा काम गर्नुहुन्छ। म र बहिनी हेर्छौं। रमाउँछौ।
बेलुका खाना पकाउने बेला आमालाई सहयोग गर्छु। खाना खाएपछि छतमा जान्छौं। आकाशमा जुन–तारा देखिन्छ। कहिले कालो बादल मात्र हुन्छ। यो देखेर बहिनी र म खुसी हुन्छौं। बाबाले कथा सुनाउनु हुन्छ। कथा सुन्दै सुत्छु।
सबै परिवार सँगै बस्न पाएका छौं। नयाँ कुरा सिक्दैछु। प्रकृतिसँग रमाउदैँछु। म निकै खुसी छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)