सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर कोरोना भाइरस संक्रमण फैलिएको छ। सन् २०१९ को अन्त्यमा सबैभन्दा पहिले चीनमा कोरोना भाइरस देखिएको थियो। यति बेला भने कोरोना संक्रमण विश्वका दुई सयभन्दा बढी देशमा फैलिसकेको छ। गएको केही समययता नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको छ। कोरोना संक्रमण बढेसँगै लकडाउनको समय पनि बढ्दै जाँदा एक महिनाभन्दा लामो समयदेखि नेपाल सुनसान छ।
म अहिले कक्षा ४ मा गएँ। कक्षा ४ गएदेखि एकदिन पनि विद्यालय जान पाएको छैन। विद्यालय जान नपाए पनि अनलाइनबाट भने पढिरहेको छु। गुरूआमाहरूले अनलाइनबाटै पढाउनुहुन्छ। गृहकार्य पनि दिनुहुन्छ। मैले गृहकार्य गरेर उहाँहरूको इमेलमा पठाउँछु।
अनलाइनमा पढ्न र गृहकार्य गर्न मलाई आमाबाबाले सहयोग गर्नुहुन्छ। पढ्ने लेख्ने काम सकेपछि म वरिपरिका साथीहरूसँग खेल्छु। यहाँ मेरा धेरै साथीहरू छन्। मेरा साथीहरू ओजस, निजु, सेजु, दिव्य, युगल, समृद्धि र सद्गुण लगायतसँग खेल्छु।
लकडाउनका कारण विद्यालय बन्द भए पनि म पढ्ने, लेख्ने र साथीहरूसँग खेलेर समय बिताएको छु।
स्कुलका साथीहरूसँग भने खेल्न नपाएको धेरै भइसक्यो। घरमा बस्दा साथीहरूलाई निकै सम्झिरहेको छु। मेरो प्यारो स्कुलको ठूलो मैदानमा खेल्न पाउने समय चाँडै आओस् भनेर प्रतीक्षा गरिरहेको छु। म जस्तै मेरा साथीहरू पनि विद्यालय खुल्ने समयको प्रतीक्षामा होलान्। लकडाउनको यो झ्याउलाग्दो समय मेरो जिन्दगीमा अब फेरि फर्केर कहिल्यै नआओस्।
कोरोना महामारीबाट दिक्क हुँदा पनि हामी नेपाली बालबालिकालाई एउटा खुसीको कुरा के छ भने हामीमध्ये कसैले पनि कोरोना संक्रमणका कारण आफ्नो र आफ्ना आमाबाबा, साथीभाइ कसैको ज्यान गुमेको देख्न र सुन्नु परेको छैन। त्यसकारणले हामी भाग्यमानी पनि हौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)