सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाभ इभाना बराल हो। म काठमाडौं सानोभर्याङस्थित निक एकेडेमीमा अध्ययनरत छु। हाल कक्षा ४ को अन्तिम परीक्षा दिएर बसेको छु।
मेरो स्थायी घर सिन्धुली कमलामाई नगरपालिका वडा नं ४ मा हो। अहिले मामुबाबासँग बालाजु हाइट काठमाडौंमा बस्छु। मेरो बाबा मिर्गौला उपचार केन्द्रमा काम गर्नुहुन्छ भने मामु म जस्तै बच्चाहरूको स्वास्थ्य सम्बन्धी नर्स हुनुहुन्छ। सातदोबाटोको नर्सिङ कलेजमा दिदीहरूलाई पढाउनु हुन्छ।
हाम्रो अन्तिम परीक्षा हुँदै गर्दा कोरोना भाइरसबारे म्यामहरूले बताउनुभएको थियो। ममीले पनि स्कुल जाँदा मास्क प्रयोग गर्न र साबुनपानीले हात धुन भन्नुहुन्थ्यो। परीक्षा सकिएपछि यो रोगबारे टिभी र बाबाबाट धेरै कुरा थाहा पाएँ। सरकारले लकडाउन गरेपछि सुरूको दुईचार दिन म घरमै टिकटक बनाएर बसेँ।
त्यसपछि मामुसँग स्कुटीमा पञ्जा र मास्क लगाएर स्वेता सानुमामुको घर बलम्बु गएँ। त्यहाँ म जस्तै पाँच कक्षाको परीक्षा दिएर बस्नुभएको रोज्वल दादा हुनुहुन्छ। दादाको पाँच कक्षाको किताबबाट अलिअलि विज्ञान र गणित किताबको कार्यहरू गरेँ। एक हप्ताको बसाइपछि फेरि नजिकै सतुंगलमा रहेको मामाघरमा गएँ।
मेरो मामा अस्ट्रेलियामा हुनुहुन्छ। मामाघरमा हुजुरबाबाले नयाँ घर बनाउँदै हुनुहुन्छ। त्यहाँ मलाई माया गर्ने रोजिना सानुममी पनि हुनुहुन्छ। उहाँहरू सबै यही महिनाभित्र याे घरमा सर्नुभएकाे छ। हजुरआमाचाहिँ कपिलवस्तुमा बस्नुहुन्छ। हजुरआमा पनि हामीजस्तै बालबालिकालाई कपिलवस्तुको सरकारी स्कुलमा पढाउने गुरूआमा हुनुहुन्छ। सतुंगलको मामाघरमा एक हप्ता बसेर मामु र म आफ्नो घर फर्कियाैं।
मामुले त्यसपछि हप्ताभरि गर्ने क्रियाकलाप र खाजा खाने तालिका बनाइदिनुभएको छ। बिहान अरूबेला स्कुल जाने समय जस्तैमा उठ्छु। फेरि अल्छी गरेर सुतिरह्यो भने पछि स्कुल जाने समयमा गाह्रो होला भनेर। घरमै मामुको सहायतामा कोठा मिलाउँछु। कालो चिया कसरी बनाउने पनि सिकेँ। लसुन छोडाउन, आफूले खाएको थाल, चम्चा पनि आफैं माझ्छु। घरमा बस्दा पानी प्रशस्त खान्छु। यसले गर्दा मेरो मिर्गौला स्वस्थ हुन्छ।
कहिले विभिन्न लुगा लगाएर टिकटक बनाउँछु। घर अगाडि खाली चौरमा बाबा र उहाँको साथी अंकलहरूले व्याडमिन्टन कोर्ट बनाउनु भएको छ। त्यही गएर छिमेकी साथीहरू सँग खेल्छु।
जंकफुडले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन भन्ने थाहा छ। त्यसैले घरमै ममीले बनाएको खानेकुरा सकेसम्म खाने बानी गरेको छु। विगत दस दिनदेखि ममीले पनि आफ्नाे नर्सिङ दिदीहरूलाई घरमै बसेर अनलाइनमा ल्यापटपबाट कक्षा लिइरहनुभएको छ। बाबा अस्पतालमा काम गर्ने हुनाले सधैंझै अफिस जानुहुन्छ।
मैले पनि मामुको ल्यापटपबाट अनलाइन कक्षामा भाग लिएँ। फेसबुकमा भिडिओ कल र टिकटक चलाइरहने हुँदा अनलाइन कक्षा लिदा खासै अप्ठ्यारो परेन। धेरै साथीहरू भेट्दा रमाइलो लाग्यो। दिक्षा म्यामले अंग्रेजी विषय पढाउनु भयो। कक्षाका सबै साथी भाग लिएका थिएनन्। करिब आधाजस्तो साथीहरू मात्र थिए। कक्षामा लाइभ पढेको जस्तो त हुँदो रहेनछ। तै पनि केही नयाँ कुरा सिक्न सकिने रहेछ। हामेवर्कहरू दिनुभएको छ।
म त राजधानी काठमाडौंमा कम्प्युटर र इन्टरनेटको पहुँचमा छु। म जस्तै देशभर रहेका कति साथीहरू यो सुविधाबाट बन्चित छन्। त्यसैले सबैतिर अनलाइन कक्षा संचालन गर्न गाह्रो परिरहेको होला। अनलाइन कक्षामा भाग लिन नपाए पनि घरमै कोठामा बसेर आफूभन्दा ठूला दिदीदाई वा ममीबाबासँग पढ्न सकिन्छ। नाचगान गर्ने घरभित्रै वरिपरि व्यायाम गर्न सकिन्छ। जंकफुड (जस्तै लेज, कुरकुरे, चाउचाउ) धेरै खानु हुँदैन है साथीहरू। फेरि मोटाइन्छ र पछि चिनीको रोग र अन्य विभिन्न रोग लाग्न सक्छ।
अन्तमा, अहिलेको समय भनेको कोरोनाबाट जोगिने हो।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)