सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस चीनको वुहान सहरबाट फैलिएको थियो। विश्वका प्रायः देशमा फैलिइसकेको छ। कोरोना महामारीका कारणले विश्वभरमा साढे दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। थुप्रै वैज्ञानिकहरूले प्रयास गरिसके तर आजसम्म यसको उपचार भेटिएको छैन। हाम्रो देशमा पनि धेरै संक्रमित भइसके। केही निको भएर घर पनि फर्किसकेका छन्।
अहिलेसम्म विश्वको सबैभन्दा धेरै संक्रमित भएको र मृत्यु भएको देश अमेरिका हाे। खुसीको कुरा नेपालमा हालसम्म एकजनाको पनि मृत्यु भएको छैन। कोरोना महामारीका कारण विश्वका प्रायः देश लकडाउनमा छन्। अहिले विश्वमै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द भएको छ।
नेपाल सरकारले पनि लकडाउनका बारेमा थुप्रै पटक बैठक बसेर निर्णय गरिरहेको छ। कोरोना भाइरसको महामारीका कारण सुरू भएको लकडाउनले सबै विद्यालयहरू बन्द भएका छन्।
२०७६ चैत ११ गते देखि सुरू लकडाउन २०७७ वैशाख २५ गतेसम्म कायम गरिएको छ। त्यो पनि अझै कति लम्बिन्छ थाहा छैन।
लकडाउनमा मैले थुप्रै कुरा सिकिसकेको छु। मैले घरमै खानाको परिकारहरू बनाउन सिकेँ। मजदुरहरू काठमाडाैंबाट सुनसरी, विराटनगर, नेपालगञ्जसम्म पैदल हिँडेर गएको पनि समाचारबाट देखेँ। ती मजदुर काम गर्न र पैसा कमाउन काठमाडाैं आएका थिए।
कोरोनाको महामारीले लकडाउन भएपछि काम पनि बन्द भएपछि पैसा कमाउन नपाएर उनीहरू ३-४ सय किलोमिटर हिँडेर आ-आफ्नो घर गएका हुन्। उनीहरू चिउरा खाँदै नांगो खुट्टा हिँडदै आफ्नो मूल घर गएका थिए। यस्तो लकडाउनमा पनि कोरोनालाई नसम्झिकन आफ्नो मूल घरमा परिवारसँग बस्न र आफ्नै गाउँमा केही गर्न भनेर गएका होलान्।
अहिले विद्यार्थी शिक्षकहरू पनि लकडाउनमा परेकाले अनलाइन कक्षाहरू सञ्चालन भएका छन्। विद्यार्थीहरूका लागि अनलाइन कक्षा धेरै महत्वपूर्ण भएको छ। मेरो विद्यालय बुढानिलकण्ठ स्कुलले पनि अनलाइन कक्षा सुरू गरेको छ। वैशाख महिनाको दोश्रो साताबाट सुरू भएको हो।
यसमा सहभागी हुन आफ्नो मोबाइल, ल्यापटप र कम्प्युटरबाट माइक्रोसफ्ट टिम्स डाउनलोड गर्नुपर्छ। माइक्रोसफ्ट टिम्समा सहभागी हुन होस्टलको हाउस अफ हेड (होस्टलको भवन प्रमुख) सरले हामीलाई युजर आइडी र पासवर्ड पठाउनुभएको थियो। मैले दिदीहरूको सहयोगबाट सफ्टवेयर डाउनलोड गरेर अनलाइन कक्षामा सहभागी भएँ।
कक्षाको रूटिन र होमवर्कहरू कम्प्युटर, ल्यापटपबाटै हेर्न र गर्न सकिन्छ। यी कक्षा शनिबारबाहेक अरू दिनमा बिहान ७ बजेदेखि १२ बजेसम्म हुन्छ। बिहान ७ बजेदेखि ७ः४५ बजेसम्म योग प्राणायाम हुन्छ। ८ बजे देखि १२ बजेसम्म अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञान, संगीत, व्यवसायिक विषयहरू अनलाइनमार्फत पढाइ भइरहेको छ।
साँझको समयमा ६ः४५ देखि ७ः१५ सम्म शारीरिक अभ्यासको कक्षा सञ्चालन भइरहेको छ। सरहरूले पनि कम्प्युटर, ल्यापटपका माध्यमबाट पढाउनु हुन्छ। बोर्डमा लेखेर वा प्रस्तुतिकरणहरूबाट पनि पढाउनु हुन्छ। सर र म्यामहरूले पढाएको बेला हामीले ल्यापटपको साउन्ड बन्द गर्नुपर्छ। केही सोध्नु वा भन्नुपर्यो भने साउन्ड 'अनम्युट' गरेर भन्नुपर्छ। यो तरिका धेरै नै सजिलो छ।
विद्यार्थीहरू घरमै बसेर र सरम्यामले स्कुल वा घरमै बसेर पढाउन र पढ्न सकिन्छ। होमवर्क पनि ल्यापटपमै गर्न सकिन्छ। कापीमा गरेर फोटो खिचेर अपलोड पनि गर्न सकिन्छ। घरमा बसेर पढ्दा होस्टलमै बसेर पढेको जस्तो भएको छ। आ-आफ्नै घरमा बसेर सबै साथीहरूसँग पनि बीचबीचमा कुरा गर्न सकिएको छ।
अनलाइन पढाइले घरमै विद्यालय भएको जस्तो छ। म एकदमै खुसी भएको छु किनभने घरमै बसेर स्कुलको जस्तै गरेर पढ्न पाएको छु। मलाई सँगसँगै दुःख पनि लागिरहेको छ। लकडाउन हुने खबरका कारण गाँउमा भएका मेरा साथीहरूले यसमा सहभागी हुन पाएका छैनन।
हाम्रो प्रधानाध्यापक सरले उनीहरूका लागि पनि नेपाल टेलिकममार्फत वा टेलिभिजनबाट भए पनि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिरहनु भएको छ भन्ने सुन्दा फेरि पनि खुसी भएको छु। बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक, सबै गुरू, गुरूआमाहरूलाई धेरै धन्यवाद दिन चाहन्छु।
साथै कोरोनाको महामारी विश्वबाटै हटेर जाओस् र लकडाउन पनि चाँडै खुलोस्। हामी सबै विद्यार्थीहरू स्कुलमा गएर पढ्न पाउँ भन्ने कामना एवम् प्रार्थना भगवानसँग गर्छु।
(सुर्याम्स भण्डारी कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)