सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
छिमेकी राष्ट्र चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वका सबै मान्छेलाई आक्रान्त पारेको छ। अन्य राष्ट्रको तुलनामा हाम्रो देशमा संक्रमणको मात्रा कम छ। सरकारले लगाएको नियमको पालना हामी सबैले गरेर घरमै बसेका छौं। घरमा बसेको आज ४२ दिन भयो। मानिसहरू काममा जान सक्ने अवस्था छैन।
सधैंजसो मानिसहरू पैसा, काम भनेर दौडिरहेका हुन्थे। उनीहरू घर परिवार भुलेर यसरी काममा व्यस्त थिए कि मान्छेको आयू दुई सय वर्ष छ। अहिले कोरोनाले मानिसहरूलाई घर परिवारको महत्व सिकाएको छ।
हुन त मेरो कुरा सबैलाई स्वीकार्य नहाेला। दैनिक ज्यालादारी गरेर खानेलाई अहिलेको अवस्थाले बिहान बेलुकाको गुजारा चलाउन, आफ्नो दिनचर्या बिताउन समस्या परेको छ। तर केही हदसम्म हाम्रो सरकारले राहतको कार्यक्रममार्फत त्यस्ता समुदायको छाक टार्ने काम गरेको पाइन्छ।
कोरोनाले मेरो जीवनमा केही परिवर्तन ल्याएको छ। म र मेरो बहिनी जुम्ल्याहा हौं। हाम्रो विद्यालयको अन्तिम परीक्षाको एउटा विषयको परीक्षा दिन बाँकी नै थियो। सरकारको निर्देशनअनुसार विद्यालय बन्द भयो। सधैं अन्तिम परीक्षापछि विद्यालय बन्द नै हुन्थ्यो। तर यसपालि अहिलेसम्म विद्यालय बन्द नै छ।
आमाबाबा दुवै जागिर खान जाने हाम्रो लागि त्यति समय निकाल्न नसक्ने अवस्था थियो। लकडाउनले गर्दा अहिले हामी सबै सँगै छौं।
म जुम्ल्याहा मध्येको जेठो हुँ। मेरो बहिनी बुढानिलकण्ठ स्कुलमा पढ्छे। उसको प्रायः दसैंमा र विद्यालयको अन्तिम परीक्षापछि अलि लामो छुट्टि हुन्थ्यो। त्यो समय कहिले घुम्न जाने, कहिले सपिङ जाने, कहिले रेस्टुरेन्टमा मीठा खानेकुरा खान जाने गर्दा नै बितिहाल्थ्यो। अहिलेको जस्तो सबै सँगै बसेर रमाइलो गर्न पाइँदैनथ्यो।
अहिले मेरो आमाबाबा बीचमा कहिलेकाहीँ अफिस गए पनि प्रायः हामी सबै समय सँगै हुन्छौं। रेस्टुरेन्टमा जस्तो मिठामिठा परिकार घरमा नै युट्युब हेरेर आमाले हामीलाई खुवाउनु हुन्छ। यति खुवाउनु हुन्छ कि हामी आमालाई जिस्काएर हाम्रो आन्द्रा नै प्वाल परिसक्यो भन्ने गर्छौं।
भन्ने गरिन्छ, 'आमाको नजिक छोरा र बाबाको नजिक छोरी हुन्छ'।
यो लकडाउनले मलाई भने बाबाको नजिक बनायो। बाबासँगै बस्ने, चेस खेल्ने, लुडो खेल्ने, क्याराम खेल्ने, कमेडी फिल्म हेर्ने सबै सँगै गर्ने हुँदा मलाई मेरो बाबा बेस्ट फ्रेन्ड लाग्यो। बहिनी र म दुवै बाबासँग एकदम नजिक छौं। हामी साथीजस्ताे महशुस गर्छौ। यो सबैको श्रेय म लकडाउनलाई दिन चाहन्छु।
यो समय विश्वमा भयावहको अवस्था हो। लकडाउन पालना गरी परिवारमा एकले अर्काको सहयोग गरी सकारात्मकताका साथ घरमै बस्ने गरौं। आफू पनि बाचौं र अरूलाई पनि बचाऔं। परिवारका सदस्यहरूबीच माया र स्नेह बढाऔँ।
कोरोनाको समस्या एक समयपछि अवश्य पनि समाधान हुन्छ नै। फेरि रमणीय, शान्त संसारको व्यवस्थापन हुन्छ। हामीबीच भएको कलह, वैमनश्यता, हिंसा, नकारात्मकता हटाएर सदाका लागि सकारात्मक उर्जाको साथ अगाडि बढौं भन्न चाहन्छु।
(सुहृद घिमिरे भ्याली भ्यू स्कुल, मध्य बानेश्वर, काठमाडाैंमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)