सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आहाना गौतम हो। मेरो घर बबरमहलमा छ। ममीबाबा र सानो भाइसँग बस्छु। भाइ भर्खर तीन महिनाको हुँदैछ।
मेरो पहाडको घर लम्जुङ हो। पहाड घरमा मेरी बुढी मुमा, हजुरबुवा र हजुरआमा हुनुहुन्छ। हरेक दसैंमा ममीबाबासँग पहाड जान्छु। पहाडको घरमा गाई, भैंसी, बाख्रा र कुखुराहरू छन्। त्यही भएर पहाड घर गएको बेला धेरै दुध, दही, मोही, घ्यु, मासु खान पाइन्छ।
मेरो स्कुलको नाम रिभरडेल एडुकेसन फाउनडेसन हो। स्कुल नयाँ बानेश्वरमा छ। म कक्षा तीनको परिक्षा सकेर ममी र भाइसँग मामाघर आएको छु। ममीले स्कुलमा पढाउनु हुन्छ। बाबाले क्याम्पसमा पढाउनु हुन्छ। ममीले मलाई होमवर्क गर्न धेरै सहयोग गर्नुहुन्छ। म पनि नजानेको कुरा ममीलाई सोधेर बुझ्छु।
मलाई पढाइको साथसाथै चित्र बनाउन, नाच्न, गाउन र भिडिओ बनाउन मनपर्छ। ममीको मोबाइलमा भिडिओ बनाउँछु। मैले रेडियो टिभीमा देखेका र आफूभन्दा ठूलो मान्छेहरूले भन्नु भएका ज्ञानगुनका कुरा सुनेर त्यसलाई आफ्नै तरिकाले बोलेर भिडिओ बनाउने गरेकी छु। ममीले राम्रो लागेको भिडिओहरू आफ्नो फेसबुकमा पोस्ट गरिदिनुहुन्छ।
भिडिओमा बोलेका कुराहरू हेरेर मलाई 'राम्रो छ' भनेर बुवाआमा, काकाकाकी, ठुलो बुवाआमाहरूले हौसला दिनुहुन्छ। उहाँहरूले भन्नु भएको कुरा सुनेर मलाई एकदमै खुसी लाग्छ। अझै धेरै नयाँ कुरा जान्न अनि बुझ्न मन लग्छ।
मैले अहिलेको समयमा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भनेर नेपाली र हिन्दीमा पनि जानकारीमूलक कुराहरू बोलेर भिडिओ बनाएकी छु्। मलाई मिठोमिठो खाने कुरा खान पनि एकदमै मनपर्छ। ममीले खानेकुरा पकाउँदै गर्दा म पनि छेउमै बसेर कुरा गर्दै कसरी पकाउने रहेछ भनेर हेर्छु।
मेरो मामाघर भरतपुर, चितवनमा हो। अहिले सानीमा बहिनीलाई लिएर मामाघर आउनुभएको छ। मामाघर नजिकै मेरो फुपू दिदीको पनि घर छ। यो बिदामा मामाघर आएको बेला ममी, फुपू, मामाहरू अनि मामाघरको बुवाआमा र सानीमासँग हेटौंडा पार्क, सौराहा घुम्ने अनि रक क्लाइम्बिङ गर्ने सोचेकी थिएँ। कोरोनाले गर्दा यो पटक इच्छा पूरा भएन। अब सबै कुरा ठीक भएपछि ममीलाई घुम्न जान भन्छु।
मैले यो महामारीमा घरमै सफासुग्घर भएर बस्नु पर्छ भन्ने कुरा राम्रोसँग बुझेँ। त्यही भएर आफू सफा बसेर बहिनीलाई पनि सफा बस्ने तरिका सिकाउँछु। भाइ सानो छ। ऊ बहिनी र मसँग खेल्न सक्ने भएको छैन।
ममीलाई भाइ खेलाएर, उसका सानातिना काम गरिदिएर सहयोग गर्छु। लकडाउनले गर्दा धेरै समय मामाघर बस्न पाएको छु। भाइसँग पनि धेरै खेल्न पाउँदा खुसी छु। बहिनीलाई नयाँनयाँ कथा सुनाएर उसलाई हसाउँने कोशिस गर्छु्। बहिनी पनि मैले भनेका कथा राम्रो मानेर सुन्दै हाँस्छे।
लकडाउन खुलेपछि मात्र म, ममी र भाइ घर फर्कनेछौं। तपाईंहरू पनि अहिलेको समयमा जहाँ जसरी हुनुहुन्छ सुरक्षित भएर बस्नु है।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)