सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले देशभर लकडाउन छ। विद्यालयमा पढ्ने अवस्था छैन। हामी विद्यार्थी घरमा बसेर अनलाइन कक्षामा पढिरहका छौं।
अनलाइन कक्षा पढ्दा रमाइलो लागिरहेको छ। शिक्षक-शिक्षिकालाई प्रत्यक्ष भेटेर कुराकानी गरेको जस्तै लाग्छ। पढेपछि हामीले होमवर्क गर्ने र शिक्षकलाई देखाउने गर्छौं। शिक्षकहरूले पनि हामीलाई सोधेर पढाउनुहुन्छ। हाम्रो विद्यालयमा सबै शिक्षक विद्यालयभित्रै बस्नुहुन्छ।
उहाँहरूले हामीलाई ठूलो बोर्डमा देखाएर कक्षामा पढाउने जस्तैगरी पढाइरहनुभएको छ। हामी पनि ध्यान दिएर सुन्ने, पढ्ने र नबुझेका कुरा सोध्ने गर्छाैं।
सबभन्दा रमाइलो कुरा अहिले योग शिक्षकले हामीलाई बिहान बेलुका योग पनि सिकाइरहनुभएको छ। यसरी हेरिहेरि योग गर्दा खुसी लागेको छ। योगको अभ्यास गर्न थालेपछि राति समयमै निद्रा पनि लाग्छ।
हाम्रो विद्यालयका सबै विद्यार्थी होस्टलमा बस्ने हुनाले टाढाटाढाका साथीहरूसँग त्यति कुराकानी हुँदैनथ्यो। अनलाइन कक्षाले हामीलाई एकै ठाउँमा भेटाइदिएको छ। हामी शिक्षकसँग अन्तर्क्रियात्मक तरिकाले पढ्ने गर्छाैं।
विदेशका विद्यालयमा याेभन्दा अघि नै अनलाइन कक्षाबाट अध्ययन हुन्छ भन्ने सुनेको थिएँ। अहिले हामी पनि यसरी सहभागी हुन पाउँदा एकदमै खुसी लागेको छ।
बिहान कक्षा हुन्छ भनेपछि समयमै उठेर कम्प्युटरअगाडि बसेर शिक्षक र साथीहरूलाई पर्खिँदा रमाइलो लाग्छ। हामीले यसभन्दा अघि इन्टरनेटलाई रमाइलोका लागि मात्र प्रयोग गर्याैं। अहिले इन्टरनेटबाट पढ्न पाउँदा फरक अनुभव भएको छ।
अनलाइन कक्षामा पढ्न थालेपछि गृहकार्य पनि नियमित गर्ने बानी बसेको छ। त्यसैले मलाई लकडाउनमा बोर लागेको छैन। राम्ररी नियमित पढेको देख्दा घरमा आमाबाबा पनि खुसी हुनुहन्छ। मलाई पनि खुसी लागेको छ। लकडाउनमा घर बस्दा मैले धेरै कुरा सिक्ने अवसर पनि पाएको छु।
(प्रणय सिग्देल बुढानीलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)