सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
लगभग सारा विश्व नै लकडाउनमा छ। कोरोना भाइरसका कारण सबैतिर डर, त्रास सिर्जना भएको छ। मानिसको दैनिकी विगतभन्दा फरक भएको छ। भविष्यप्रति चिन्ता थपिएको छ। कोरोना भाइरसका कारण करिब दुई लाख मानिसको ज्यान गएको छ। विश्व नै जोखिममा छ। मानिसका चहाना खुसी र हाँसोहरू पनि लकडाउनमा परेका छन्।
कोरोनाको कारण कतिपय बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्। कतिपयलाई त आफ्ना बाबाआमा मरेको पनि थाहा छैन होला। थाहा पनि कसरी हुनु, उपचार गरेको स्थानबाटै शवहरू सरकार आफैंले लिएर सामूहिक चिहानमा गाडेको छ।
मरेको लाशसमेत परिवारका सदस्यले देख्न पाएका छैनन् होला। कति बालबालिका त आफ्ना अभिभावक अस्पातालबाट सन्चो भएर घर फर्कने आशामा बसेका होलान। बाबाआमालाई देख्न पाउने आशामा कुरेका होलान। आफ्ना बाबाआमाको तस्वीर कापीको पानामा सिसाकलम र रङहरूले स्केच गर्दै बसेका होलान्। भगवानसँग स्वास्थ्य लाभको कामना गर्दै होलान्।
कठै! कति निष्ठुरी समय। कोरोनाले बालबालिकाका खुसीका रङ उडाएर लियो। आफ्ना अभिभावक खोसेर लियो। न्यानो काख लुटेर लियो। कापी कलम किनिदिने बाबाआमा लिएर गयो। बाबाआमासँग घुम्ने सपना लिएर गयो। टुहुरा बनाएर गयो। ती बालबालिकाको भोलिको भविष्य अन्धकारमा धकलेर गयो।
धनीभन्दा गरिब देशका बालबालिका थप बढी पीडामा छन् होला। धनि देशमा त स्वास्थ्य शिक्षा सबै निःशुल्क हुन्छ रे। गरिब देशका बालबालिकालाई नराम्रो हुन्छ होला। स्वास्थ्य, शिक्षा त के खाना नै समस्या हुन्छ। हजारौं बालबालिकाले अभिभावक गुमाउँदा उनीहरूको जिम्मा कसले लिन सक्ला? तत्काल त्यो पीडामा मलम कसले लगाउने होला?
पूरै परिवार नै गुमाएका बालबालिका पनि त होलान् है। ती बालबालिकाको स्याहारसुसार कसले गरेको होला? के विगतजस्तै खुसी हुँदै ती बालबालिका फेरि नियमित विद्यालय जान पाउलान् त? अभिभावक हुँदाको जस्तो ओठमा हाँसो र मनभरी खुसी कसले भरिदिन्छ होला?
भविष्यमा म यस्तो बन्छु, उस्तो गर्छु भनेर देखेको सपना कसरी पूरा गर्न सक्लान्? सफलताको शिखरमा चढ्न समाज र देशले सहयोग गर्ला कि? अभिभावक गुमाएर गरिबीमा रहेका ती बालबालिकाको नियमित खाना, नाना र छानाको व्यवस्था होला त? कोरोना भाइरसका कारण कति बालबालिकाले अझै अभिभावक गुमाउन पुग्ने हुन्। त्यो अनुमान गर्न सकिँदैन। थप त्यो अवस्था नआओस् भनेर कामना मात्र गर्न सकिन्छ।
एकातिर विद्यालय जान नपाउँदा बालबालिकाको आफ्नो सिर्जना हराएको छ। सिकाइको काममा बाधा पुगेको छ। किताबहरू पुराना भएका छन्। साथीहरूसँगको रमाइलो टाढा भएको छ। सायद कक्षा कोठाका बालचित्रहरूमा किरा लाग्यो होला। किताब बोक्ने झोला हराएकोजस्तै भएको छ।
सबै गुरूबा र गुरूआमाहरूको आवाज नसुनेको धेरै भएको छ। विद्यालयको चौरमा कमिलाहरू दौडिएका होलान्। कक्षाकोठाभरी अँध्यारो भएको होला। बगैंचामा फुलेका फूलहरू जमिनमा खसेका होलान्। लाइब्रेरीमा रहेका पुस्तकमा धुलो लागेको छ होला।
विश्वका कतिपय देशमा यति बेला बालबालिकाले टिफिनबक्समा खाजा राखिदिने प्यारी आमा गुमाएका छन्। स्कुल ड्रेस लगाइदिने हजुरमा गुमाएका छन्। हात समाएर स्कुल बस चढाउने हजुरबुवा गुमाएका छन्। होमवर्क गर्न सघाउने बाबा गुमाएका छन्। बिरामी हुँदा आफ्नै घरमा चेकजाँच गर्ने र औषधि दिने नर्स आन्टी गुमाएका छन्।
त्योभन्दा बढी हरेक पाइलापाइलामा साथ दिने अभिभावक गुमाएका छन्। आशाको लठ्ठी भाँचिएको छ। भगवान् जस्ता अभिभावक गुमाएका छन्। दिनभरी पसिना बगाउँदै आफ्ना बाबुनानीको खुसीका लागि दुःख सहन सक्ने असल मान्छे गुमाएका छन्। अभिभावक गुमाएका गरिब साना बालबालिकाले कसरी काम गरेर आफूलाई पाल्न सक्लान्? बालुवामा खेल्न त सक्लान् तर बालुवा चालेर बाँच्न कति गाह्रो होला। ती अभिभावक गुमाएका बालबालिका साह्रै दुःख मा छन् होला।
यो पीडा दिने कथाबाट आजसम्म मेरो देश जोगिएको छ। तर पनि विदेशमा केही नेपालीहरू कोरोना भाइरसले मरेको सुनिएको छ। सायद यही कारणले मेरो देशका घर परिवारमा पीडाको कथा सुरू भइसक्यो होला। देशमा कोरोनाको कारण कोही नमरोस्। देशबाहिर रहेका नेपाली कसैलाई पनि केही नहोस्। हुन त विश्वमा कसैको मृत्यु नभए हुन्थ्यो जस्तो लाग्छ।
कोरोना विरूद्ध हाम्रो देशले जितोस्। भारतसँगको खुला सिमानाको कारण हामीलाई कोरोना सर्न नपाओस्। अहिलेको लकडाउनको दुःख, पीडा र स्कुलको विछोड त सहन सक्छौं होला तर देशभरिका मानिस रोएको कसरी सहनु?
हाम्रो देशले कोरोनाको कारण कोही गुमाउनु नपरोस्। ठूलो घटनाबिना लकडाउन सकियोस्। कोरानालाई जितेपछि विद्यालयको चौरमा देशको झण्डा हल्लाँउदै 'सयौ थुँगा फूलका हामी' खुसीका साथ गाउन पाइयोस्। जहाँ कोरोनाको कारण कसैले अभिभावक गुमाउनु नपरोस्। हिजोजस्तै मेरा गुरूबा, गुरूआमा र साथीहरूमा खुसी र हाँसो देख्न पाइयोस्। मेरो विद्यालय हाताभित्र रहेको रमाइलो जंगलमा चराहरूको चिरविर आवाजमा फेरि घुम्न पाइयोस्। विद्यालयको बगैंचामा फूलेका फूलहरूको वरिपरि फेरि लुकामारी खेल्न पाइयोस्।
खुसीको कथा कक्षा कोठाको भित्तामा चित्र बनाएर राख्न पाइयोस्। सरकार कोरोना विरुद्धको लडाइँको पहिलो र अन्तिम अभिभावक तपाईं हो। हामी बालबालिकाको खुसी र हाँसो सरकारको हातमा छ। हाम्रो हातमा सरकारको आदेशको पालना हो। कोरोना विरुद्ध सरकार कडा बनोस्। जसको सफलताको कारण फेरि पनि हामी बालबालिका उफ्रीउफ्री नाच्न, हाँस्न र खेल्न सक्नेछौं।
(सनम के.सी श्री बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)