सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले कोरोना भाइरसले देश लकडाउन छ। हामी (म, भाइ, मामु, हजुरआमा, हजुरबुवा) चितवन जिल्ला रत्ननगरमा छौं। काेराेना भाइरसका कारण हाम्रो विद्यालयको चैत ५ गते परीक्षा सकियो।
सुरूमा त एक महिना मात्र बिदा हुन्छ होलाजस्ताे लागेको थियो। तर चैत ११ गतेबाट लकडाउन भयो। यही बीच मेरो विद्यालयले त रिजल्ट प्रकाशित गरिसकेको छ। बिदा पछि मलाई घुम्न जाने इच्छा थियो तर लकडाउनले घुम्ने इच्छा पूरा भएको पनि छैन। यस्तो अवस्थामा त घुम्न जाने कुरा सोच्न पनि सकिँदैन। कहिले विश्व सामान्य होला र हामी खुला वातावरणमा घुम्न पाउनेछौं थाहा छैन।
बिदा भएको बेला चैत्र ८ गते मामाकाे छाेराछाेरी आशिक र आशिका आएका थिए। १५ दिनसम्म त उनीहरूसँग खेल्दै, काम गर्दै बितेको थियो। उनीहरू गइसकेपछि म र भाइ खेल्ने, मोबाइल टिभी हेर्ने दैनिकी बनेको छ। त्यसबाहेक म खाना-खाजा बनाउँछु। घरको अरू सबै काम गरेको हुन्छु। मामुलाई सहयोग गरिरहेकी छु।
विद्यालय खुलेको छैन। साथीहरू भेट्न पनि पाएको छैन। साथीहरूसँग रमाइलो गर्न पनि पाएको छैन। विद्यालय कहिले खुल्छ थाहा छैन। विद्यालय जानु नपरेको कारण म त ढिलासम्म ओछ्यानमै हुन्छु। विद्यालय जानुपर्ने भएको भए चाँडै उठेर तयार हुनुपर्थ्यो नि।
लकडाउन भएपछि म घरबाट कतै गएकी छैन। घर वरिपरि मात्र हुन्छु। हाम्रो विद्यालयले वैशाख १४ बाट अनलाइन पढाइ सुरू गरेको छ। आजभोलि त्यही पढ्ने, होमवर्क गर्ने गरेकी छु। नयाँ तरिकाले पढ्न पाउँदा खुसी लागेको छ। सबै साथीहरू अनलाइन क्लासमा हुनुहुन्न। हामी मिल्ने साथी बिनी, युनिशा, कृत्रिमा, आश्मि, प्रतिक्षा भने सबै छौं। अनलाइनमा नै गफ गर्छौं।
मलाई किताब पढ्न धेरै मन पर्छ। बाबाले मेरो लागि बिदामा पढ्न किनिदिनु भएको किताबचाहिँ पढ्न पाएकी छैन। मेरो बाबा लकडाउनले काठमाडौंबाट आउन पाउनु भएको छैन। त्यसबाहेक म विभिन्न देशमा बनेको फिल्म हेर्छु। धेरै हेरिसकेँ, रमाइलो लाग्यो।
मलाई लेख्न पनि मन पर्छ। कथा, निबन्ध लेखेकी छु। तर ती सबै अंग्रेजीमा छन्। मलाई नेपालीमा भन्दा अंग्रेजीमा लेख्न-पढ्न सजिलो लाग्छ।
लकडाउनले हामी घरमै बन्दी भएको जस्तो लागेको छ। अब त कहिले खुल्छ होला यो लकडाउन? अनि कहिले हामी कोरोना भाइरसबाट मुक्त हुन्छौं? के हाम्रो विद्यालय पहिले जसरी नै सञ्चालन हुन्छन् कि हुँदैनन्?
(समस्ति पाण्डे सैनिक आवासिय महाविद्यालय, चैनपुर, चितवनमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)