सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'छोरी...कति फोहोर गरेको? जाउ पढ।'
'सानो, तिमी पनि कति राेएको यो चाहियो, उ चाहियो भनेर? तिमीलाई कतिपटक भन्ने बाहिर जान पाइन्न, बजार बन्द छ भनेर?'
'छोरीको बाबा, तपाईं पनि कति मोबाइलमै घोत्लिराएको? केही सिर्जनशील काम गरेको होइन।'
म यस्तै आवाज सुनिरहन्छु आजकाल। अनि भान्साबाट भाँडाका आवाज पनि ठूलो आउँछ।
हामी बच्चालाई पनि सधैं आफू मात्रै रमाउन मन पर्छ। खेल्न मन पर्छ। ममीको मन दुखाउँछौं। ममीलाई खाना पकाउने, सफा गर्ने, कपडा धुने, भाँडा सफा गर्ने, सबै गरिरहनुपर्छ नि त। लकडाउनले ममीको काममा लकडाउन गरेको छैन।
त्यसमा पनि हामी बच्चालाई स्कुल जानु परेको छैन। केही पढ्नु नै परेको छैन। खेल्नु नै मात्र छ। यता फोहोर गर्यो, पुतलीहरू फ्याँक्याे। दिनभरी दिदीबहिनी हल्ला गरेका छन्।
मेरो ममी प्रेसरको दबाइ खानुहुन्छ। ६ वर्ष भइसक्यो। मलाई बाबाले भन्नुभएको प्रेसरको बिरामीलाई सानै कुराले पनि तनाव धेरै हुन्छ रे। झन् अहिले त मेरो अभिभावकलाई पर्नुसम्मको तनाव परेको छ।
ममी भात पकाउन अल्छी लाग्यो त भन्नुहुन्छ। तर के गर्ने भात त खानुपर्यो, खुवाउन पर्यो हामीलाई।
ममी बाबासँग खासखुस गर्दै हुनुहुन्थ्यो, 'अहिलेसम्म त खाइरहेका छौं, बसिरहेका छौं, खेलिरहेका छौं। बचत गरेको पैसाले महंगाे तरकारी, दूध, अन्डा किनिरहेका छौं। अब अगाडि के गर्ने होला पसल खोल्न पाइएको छैन। अफिसको काम गर्न पाइएको छैन। बच्चालाई खुवाउन पनि सकिएन भने त?'
यति मात्रै हो र? ममीलाई अझ कति धेरै डर छ। यो लकडाउनमा बाबा तरकारी किन्न जाँदा कतै कोरोना लिएर घर आउने पो हो कि? दूध नै नपाउने पो हो कि बजारमा? बजारमा किन्न पर्ने कुरो नै नपाइने पो हो कि? कतै बच्चालाई अरू नै कुनै वा कोरोनाको बिमार हुने हो कि? सबैतिर बन्द छ।
बचत गरेकाे पैसा हुन्जेल त ममीबाबाले कसैगरी पनि किनेर खुवाउनुहुन्छ। तर ममीलाई डर छ अब धेरै समय लकडाउन लम्बियो र बचत सकियो भने के होला? ममीलाई यो कुरासँग पनि डर छ कि यत्तिका सास्ती सँग लकडाउनकाे पालना गर्दा गर्दै पनि देशमा महामारी फैलियो भने? अनि खोइ नेपालको सरकार? प्रधानमन्त्री?
यस्तो बेला नेताहरू के भएको भनेर देशको चिन्ता पनि गरेको सुन्छु। ममीबाबा मिलेर हामीलाई सँगै खेलाउनुहुन्छ। केही सिकाउनुहुन्छ। उहाँको मनभित्रको डर मलाई देखाउनुहुन्न। सप्पै ठीक हुन्छ भन्नुहुन्छ। हाम्रो स्वास्थ्यको विशेष ध्यान राख्नुहुन्छ। बाबाको र आफ्नो पनि उत्तिकै ख्याल गर्नुहुन्छ।
म अनलाइन क्लास पढ्न थालिसकेकी छु। नबुझेको कुरा ममी र बाबालाई सोध्छु। अर्की बहिनी स्केच गर्छिन्। सानी बहिनी पनि अहिले दुई पेज लेख्न थालेकी छे। हामी नकराइकन शान्त भएर खेल्छौं। पढ्न पनि रूटिन बनाएका छौं।
बाबाले कथा र सानो बेलाका कुराहरू सुनाउहुन्छ। रमाइला जाेक पनि सुनाउहुन्छ। कमेडी गर्नुहुन्छ। रमाइलो गर्नुहुन्छ। 'मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन,' एक्लै हुँदाचाहिँ बाबाले यही गीत गुनगुनाएकाे सुनिन्छ।
म बुढानिलकण्ठमा कक्षा ६ मा पढ्ने विद्यार्थी आभाश्री रिमालले आफ्नो ममीको अवस्था र अहिलेको परिस्थितिमा आपनाउनु पर्ने विशेष कामकारबाहीमा आफूलाई व्यस्त राखिरहेकी छु। सबैले आफूलाई कोरोना भाइरस विरूद्ध लडाइँ गरिरहनुभएका हाम्रा ममीहरूलाई सहयाेग गराैं। किनकी हामी ममीहरूलाई माया गर्छाैं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)